यसरी त बाबुपछि छोरा विदेशिनु पर्छ!

  • Get News Alerts

अहिले करिब ४५ लाखभन्दा बढी नेपाली विदेशमा छन्। उनीहरुले कमाएर पठाएको पैसा विप्रेषण आय (रेमिटेन्स) ले देश चलेको छ।

नेपालीहरु बाहिर गएर काम नगरेको भए अहिले नेपालसँग विदेशबाट किन्नै पर्ने समानहरुको लागि तिर्ने विदेशी मुद्रा उपलब्ध हुने थिएन। वर्तमान समयमा नेपालको कुल निर्यातबाट प्राप्त रकमले केवल पेट्रोलियम पदार्थको आयातलाई पनि तिर्न पुग्दैन। एउटा घर चलाउन र साथै पुरै देश चलाउनको लागि आज धेरै नेपाली आफ्नो घर परिवार छोडेर विदेशिनु परेको छ।

देशको नेतृत्व गर्नेहरुले पनि एक आत्मनिर्भर-स्वाभिमानी राष्ट्र बनाउन देश भित्रै उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यातयोग्य वस्तु उत्पादनमा प्रोत्साहन गर्नतिर नलागेर नेपाली जनतालाई नै निर्यात गरेर हाईसन्चै बसे जस्तो देखिन्छ। तर, आज यो लेखको विषयवस्तु नेपालीहरु विदेश गएर कमाएको केही पैसाकै भरमा जन्मथलो छोडी शहरतिर बसाई सर्दाको असरको बारेमा केन्द्रित रहनेछ।

आजभोलि गाउँघर खाली बन्दैछ। गाउँहरु युवा विहिन हुँदैछन्।  गाउँमा काम गर्ने मान्छे छैनन्। पैसा खर्चिएर पनि काम गर्ने मान्छे नपाउने भएको छ गाउँ। हिजो पुस्तौंदेखि खेती गर्दै आएको खेतबारी अहिले बाँझै रहन थालेको छ । गाउँका काम गर्ने उमेरका प्राय: सबै नेपाली विदेश लागेका छन् कि त शहर झरेका छन् । विदेशमा कमाएको पैसाको भरमा हिमाल पहाडमा रहेको जग्गा-जमिन-घर बेचबिखन विना नै बालबच्चा पढाउने र सुखी जीवन जिउने रहरमा शहर झर्ने क्रम तीब्र छ ।

बहुदल आएपछि जब नेपाल सरकारले राहदानी सबैका लागि सहज बनायो तब परिवारको मुख्य व्यक्ति बाबु कामका लागि विदेशिने र छोराछोरी, श्रीमती शहर झर्ने क्रम तीव्र भएको हो। बुढाबुढी भएका आमाबुबा मात्र आजभोलि आफूले कमाई खाएको जग्गा जमिन, घर र ठाउँको मायाले हिमाल-पहाडका गाउँ-ठाउँमा भेटिन्छन्। यी बुढेसकाल लागेका बाबुआमाहरू पनि हिड्डुल गर्न सक्ने र आफ्नो लागि खाना आफैं बनाउन सक्ने अवस्थासम्म मात्र गाउँमा रहने छन्।

अझ अहिले गाउँघरमा काम गर्ने मान्छे पाउनै छाडेपछि उनीहरु पनि बाध्य भएर अमिलो मन गरि हिडडुल गर्न सक्ने उमेरमै आफ्नो थाकथलो त्यत्ति कै छोडेर छोराछोरी नाति-नातिना जता छन् उतै जानुपर्ने बाध्यात्मक अवस्थामा परेका छन्।

अब हामी विदेश हिँडेका नेपालीले पनि केही वर्ष मात्र विदेश बस्ने र सकेसम्म आफ्ना सन्तानलाई पनि संलग्न हुन सक्ने उद्यमको सिर्जना गर्न ढिला गर्नु हुँदैन। विदेश बसाईको आफ्नो पुरा कमाई घर-घडेरी जोड्न मात्र लगाउँदा स्वंय आफ्नै लागि पनि देश फर्केर क्रियाशील हुने ठाउँ सृजना हुँदैन। त्यसैले हामी विदेशमा रहनेहरुले सानो ठूलो समूह बनाई कृषि, पर्यटन, ऊर्जा, स्वास्थ्य र सेवा क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ।

करिब ६७ प्रतिशत जनता आश्रित रहेको र अर्थतन्त्रमा ३३ प्रतिशत हिस्सा राख्ने कृषिजन्य उत्पादन अहिले निराशाजनक अवस्थामा छ। हिजोको खाद्यान्न निर्यात गर्ने नेपाल आज उच्च खाद्यान्न आयात गर्ने देशमा परिणत भएको छ। चालु आर्थिक वर्षको आठ महिनामा ६२८ अर्ब ५६ रुपैयाँको आयात भएको छ भने निर्यात ४८ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र छ । यो चालु आर्थिक वर्षको आठ महिनामा  कुल व्यापार घाटा ५८० अर्ब ३४ करोड पुगेको छ।

यही आठ महिनाको अवधिमा रेमिटेन्सबाट ४५० अर्ब रुपैयाँ प्राप्त भएको छ ।  माथिको तथ्याङ्कबाट प्रष्ट हुन्छ कि कुल व्यापार घाटाको परिपूर्ति  करिब करिब रेमिटेन्सले पुरा गरेको छ । त्यसै गरि यो अवधिमा १२८ अर्ब रुपैयाँ बराबरको मात्र कृषि उत्पादन नेपालले आयात गरेको छ । यस आर्थिक वर्षको आठ महिनामा चामल १४ अर्ब, तरकारी ५ अर्ब र खानेतेल  १८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

जीवन निर्वाहमुखी नेपाली कृषि क्षेत्रलाई व्यावसायिक बनाउनलाई सरकारको सम्बन्धित संयन्त्रको तदारुकताको साथै स्वयं नेपाली जनताको पनि गम्भीर चासो आवश्यक देखिन्छ । देश भित्र सहजै उत्पादन गर्ने सक्ने फलफुल, तरकारी र मासुजन्य वस्तुको पनि परिपूर्ति पुरा गर्न सकिएको छैन ।

अहिलेकै अवस्थामा पनि जनता गम्भीर भएर लागि परेमा भारत र चीनबाट आयात गर्ने मूल्यमा फलफुल, तरकारी उत्पादन गर्न सक्ने अवस्था छ। बाख्रा, कुखुरा,भैंसी पालनबाट मासुको माग देशभित्रबाट पुरा गर्न सक्ने अवस्था छ ।

गाई भैंसी पालनबाट दुध दही र दुधजन्य पदार्थको परिपूर्ति गरी आयात प्रतिस्थापन गर्न सक्छौं । देश भित्र व्यावसायीक कृषिको लागि केहि कठिनाई नभएका होइनन्, छन् । वैदेशिक रोजगारी पनि त्यति सजिलो छैन । तर हामी देशभित्रको ती बाधा व्यावधानसँग जुध्नुभन्दा ऋणधन गरि वैदेशिक रोजगारीमा जान नै आकर्षित भए जस्तो देखिन्छौं र हाम्रो समाजले पनि वैदेशिक रोजगारीमा गएकालाई नै सामाजिक ईज्जत प्रतिष्ठा दिएको छ ।

नेपाल हिमाल-पहाड-तराई मिलेरे बनेको भौगोलिक विविधतायुक्त देश हो । तर अहिले हिमाल र पहाडमा बसाई झन् पातलिदै गएको छ। हिमाल र पहाडमा रहेको भुमिको उपयोग झन् कम हुदै गएको छ । आज संसार रसायन र विषादी युक्त खाद्यान्नबाट पीडित हुँदैछ । अहिले मानिसहरु बरु केहि महँगो होस् तर जैविक खाद्यान्न उपयोग गर्नु पर्छ भन्ने तिर आकर्षित हुँदैछन्।

 यही अवसरमा हामी हाम्रो हिमाल पहाड र तराईमा रहेको जमिनमा विषादीमुक्त फलफुल, तरकारी, खाद्यान्न र पशुपालन गर्न सक्छौं । त्यसका लागि विदेश देखी-भोगीसकेकादेखि विदेश जाने सोच बनाएकालाई आधुनिक तर प्राकृतिक कृषि तर्फ आकर्षित गर्नसके नेपालको गाउँबस्ती हराभरा र बसौं बसौं लाग्ने बन्ने थियो।

त्यसका लागि सरकार र सहकारी संस्थाहरुको पहल आवश्यक छ । आज विदेशी भूमिमा पसिना बगाईरहेका नेपालीले पनि नेपालमा रहेका व्यक्तिहरुसँग मिलेर सानो-ठूलो समूह बनाई व्यावसायिक जैविक कृषि उत्पादनमा लाग्नु देश विकासको लागि सहयोगी साथै उनीहरुको लागि मनग्ये नाफामुलक व्यवसायी पनि हुनेछ ।

विदेशमा बसेर कमाएको धन सम्पति  घर-घडेरी जोड्नमा मात्र खर्चिनुको सट्टा व्यावसायिक कृषि र पर्यटन व्यवसाय लगायतका अन्य व्यावसायिक कार्यमा लगाउन सके देश फर्केर क्रियाशील हुने ठाउँ पनि प्राप्त हुने, विदेश गएपछि मात्र ठीक सँग आर्थोपार्जन हुन्छ भन्ने सोचमा पनि परिवर्तन गर्न सकिने थियो।

त्यस तर्फ सरकारले मात्र होइन नागरिक स्वयं आफैंले पनि अहिलेकै अवस्थामा पनि क्रियाशील हुन सक्ने अवस्था प्रशस्त छन् ।  यस तर्फ हामी सबै नेपाली लाग्नु जरुरी छ।

प्रतिकृया दिनुहोस