उमेर पुग्यो तर भोट हाल्ने अवसर कहिल्यै आएन

  • Get News Alerts

गाउँमा एकाएक नयाँनयाँ अनुहारका मान्छे देखा परे। 'भोट केमा ...' 'रुखले सितल दिन्छ, सुर्यले पोल्छ.....' भन्दै ठुलो ठुलो स्वरले नारा लाउन थाले। घरका भित्ता, चौतारी, रुख विरुवा जताजतै चुन र रातो माटोले रुख, सुर्य, गाईलगायतका चित्र बनाउन थाले। पर्चापम्पलेटमा पनि उनैका चित्र। त्यत्ति धेरै जानकारी नभएपनि एघार बाह्र वर्षको उमेरमा यी सबै कुराले मलाई फरकखाले अनुभूति भने दिएको थियो।

आज भन्दा उन्नाइस वर्ष अगाडिको त्यो फरक माहोल स्थानीय निकायको चुनावको थियो। घर नजिकको परपिपलको चौतारीमा जनतासँग भोट माग्ने कार्यक्रम थियो। जहाँ काँग्रेसका तत्कालिन सशक्त नेता खुमबहादुर खड्का मुख्य आकर्षक थिए।

घरसम्म बजेको माइकले मलाई नि छोयो, मिड्डी समात्दै पुगे। गाउँका बुवा, हजुरबुवा दाई, आमा, दिदीलगायत धेरैले भाषण गरे। धेरैले गाउँका समस्या सुनाए। पानीको व्यवस्था नभएको, विजुली नभएको, बाटोघाटोको सुविधा नभएको, स्वास्थ्य सेवा नपुगेकोलगायत धेरै धेरै।

सभामा मेरी सानीआमा पनि रुदै आफुले गाउँमा बस्दा भोगेका सारा समस्या नेता खड्काका अगाडि पोखिन्। पानी भर्नका लागि पालो कुर्दा कुर्दै स्कुल छुटेको सुनाईन्। विजुली नभएकोले रातीसम्म बसेर पढ्न नसकेको बताईन्। उनी रुदै भाषण गरेको नेताले कति सुने त्यो त उनी जानुन तर  मेरो मन भने छोयो। मनमा लागि रह्यो, भोट हाल्ने उमेर पुगेपछि जस्ले मेरो सानीआमाका समस्यालाई सम्बोधन गर्छ उस्लाई भोट हाल्छ’।

हो, मेरो उमेर पुग्यो तर भोट हाल्ने अवसर कहिल्यै आएन्। वल्ल वल्ल जनताले भोट हाल्ने अघिकार पाए तर गाउँमा त्यस्तो माहोल फेरि कहिल्यै दोहोरिएन। स्थानीय निकायमा जितेर गएकाहरुको पदावधि सकियो तर अर्को निर्वाचन कहिल्यै भएन्। मेरो गाउँमा झनझन उथलपुथल पो भयो त। मेरो गाँउमा बन्दुक चल्न थाले। सुन्दर र शान्त गाउँ सेनाको परेड खेल्ने इलाका बन्न पो थाल्यो। खेतका गह्राहरु माओवादीका अखडा बन्न थाले।

तिनै  तत्कालिन माओवादी र सेना (सरकार)बीचको लडाईले हुनुपर्ने स्थानीय चुनाव त भएन भएन भएका  भौतिक संरचनाहरुमा बम पड्काईयो, आगो लगाइयो, साईनबोर्ड टुक्राटुक्रा पारियो, सबैसबै ध्वस्त बनाईयो। कतिपय प्रतिनिधी, कर्मचारीलार्ई शारिरीक तथा मानसिक यातना दिएर हत्या समेत गरियो। गाउँ विकास समितिहरु आफ्नो अस्तित्व बोकेर गाउँमा रहन सकेनन्। सुरक्षित ठाउँको खोजि गर्दै शहर परे। स्थानीय निकायका कर्मचारी ज्यान जोगाउन भन्दै  भएका र बचेका कागजपत्रहरु कपडामा पोको पारेर शहर पसे।  उनीहरु शहर पसेको पस्यै भए।

गाउँका जनता थप अभाव र समस्यामा बाँच्न थाले। सन्तान जन्मियो भने जन्म दर्ता गराउन दिनभरीको बाटो लाएर शहर पस्न सकेनन् नत गाविस सचिवको घरमा पुग्न नै सके। नागरिकहरु नागरिकता विहिन, जन्मदर्ता, विवाह दर्ता जस्ता सुविधाविहिन रहन पुगे। सरकार भएर पनि नभएको जस्तो अनुभुति गरिरहे।

सरकार र तत्कालिन माओवादीबीचको १० वर्षे लामो हिंसात्मक लडाईले विश्राम लियो। दशक अघि अर्थात २०६४ चैत २८ गते संविधानसभाको चुनाव भयो। मुलुकमा नयाँ संविधान निर्माण गर्नका लागि दलहरु राजी भएर। फलस्वरुप अहिले मुलुकमा नयाँ संविधान जारी भएको अवस्था छ।

यसरी सर्सती हेर्दा देशमा धेरै नै उथलपुथल भएको छ। अहिलेको परिस्थिति ठ्याक्कै फेरिएको छ, ती दिनहरु अब छैनन्। हिजोका दिन कसैलाई संझिन समेत मन छैन अब। तर हिजो यसरी छिन्नभिन्न भएको स्थानीय निकायलाई व्यवस्थित गराई जनतालाई सेवा सुविधा दिने वातावरण पहिला नै बनाईनुपर्थ्यो।

ढिलै भएपनि अहिले मुलुकमा त्यो माहोल बन्दै छ । सरकारले दुई चरणमा स्थानीय निकायको चुनावको घोषणा गरेको छ। यसपटक पनि मैले उक्त निर्वाचनमा मेरो अधिकार प्रयोग गर्न पाउने त छैन्, भन्दैमा, मेरो गाउँको मुहार फेर्न अर्थ राख्ने यो निर्वाचन मेरो लागि पनि उत्तिकै चाँसोको विषय भने बनेको छ।

अहिले हाम्रो समाज फलाकिलो छ, शिक्षित र परिवर्तित छ। हाम्रो समाजले खोजेको अहिलेको नेतृत्व फराकिलो दृष्टिकोण राख्ने प्रतिनिधी हो। अहिले निर्वाचनको लहरमा उभिने उम्मेदवार स्वयम्मा थुप्रै ठुलो चुनौतिहरु छन्। 

यति लामो समयपछि हुन लागेको स्थानीय निकायको निर्वाचनबाट निर्वाचित हुनेहरुलाई यो बीचको खाडल पुर्न र यो कालखण्डमा आएका उचारचढावलाई सम्म पार्न सक्नु प्रमुख चुनौति हो। यद्यपी उनीहरुका काम कर्तव्य र अधिकारको अर्को पाटो त छदैं छ।

भविष्यको चुनौतिलाई समाधन गर्न भनि चुनावी मैदानामा उत्रिएका प्रतिस्पर्धीहरुलाई सहि बाटोमा लैजानका लागि सर्वसाधारण नागरिक उठ्नु पर्छ। उठनु यसमानेमा कि आफ्नो सहि जनप्रतिनिधि छान्नका लागि हो। अहिले हरेक मान्छे ठुलो मासमा बोल्न सक्छन्। मिठामिठा भाषण छाट्न सक्छन्, राम्रा राम्रा सपना बाड्न सक्छन, भन्दैमा, हामीले उनीहरुलाई विश्वास गरेर आफ्नो अमुल्य भोट खेर फाल्न’ भने  हुदैन्। हरेक मान्छे कुनै न कुनै हिसावले क्षमतावान नै छन्। समाज विकाससँगै मानिसमा शिक्षा र चेनताको स्तरपनि विकसित छ।

त्यसैले, अहिले भोटकर्तालाई पनि कस्लाई भोट दिने भनेर प्रतिनिधी छान्न एकदमै चुनौति छ। मान्छे भन्दा मन सफा कुरा भन्दा काम राम्रो गर्न सक्ने प्रतिनिधीलाई छान्न सक्नु पर्छ। कुन उम्मेदवार कस्तो छ? कस्ले कति जनताका अधिकारलाई संवोधन गरी लागु गर्न सक्छ? भनेर उनीहरुमा भएको क्षमतालाई हामीले छुट्याउन सक्नुपर्छ। पार्टी भन्दा व्यक्तिलाई, आफ्ना भन्दा राम्रालाई चुन्ने बेला हो यो। व्यक्तिलाई भन्दा उस्को क्षमतालाई स्थान दिन सक्नुपर्छ अब।

राजनीति भनेको विश’द्ध समाजसेवा हो, नकि कमाई खाने भाडो। राजनीतिलाई समाजसेवाका रुपमा विकास गराउनमा आम नागरिकको सक्रिय सहभागिता हुन जरुरी छ। र यो सहभागिता यतिबेला देखाउन सकिएन् भने हाम्रो फेरिएको समाजमा प्रवृति फेरिन सक्दैन्।

मेरो विचारसँग सबैको विचार मिल्नुपर्छ भन्ने छैन्। मलाई लाग्छ, जुन राजनीतिक पार्टीले अर्को पार्टीको खोईरो खनेर आफु चोखिन खोज्छ त्यो पार्टी जनताको पक्षमा रहन सक्दैन्। जुन व्यक्तिले अर्को व्यक्तिलाई दोष देखाएर आफु बलियो प्रतिस्पर्धि बन्न खोज्छ ऊ समाजको योग्य जनप्रतिधि बन्न सक्दैन्।

अरु सबै खराब आफु मात्र सहि छु भन्ने प्रवृतिलाई जनतामा भोट माग्ने आधार बनाउँने उम्मेदवारले समाजको भन्दा व्यक्ति र पार्टीको हितमा काम गर्नेछन् भनेर निधक्क भन्न सकिन्छ। त्यसैले हामी त्यस्तो प्रवृतिसँग होसियार हुनैपर्छ। पैसा र शक्तिमा भोट किन्ने जमात  नबल्ला भन्न सकिन्न्। त्यो कुनैपनि चुनावको  अशुद्ध प्रतिस्पर्धा हो।

राजनीतिमार्फत समाजसेवामा लागेका तर पैसा र शक्तिका कारण आफ्नो क्षमता प्रस्तुत गर्न नसकेका व्यक्तिहरुलाई छुट्याउन सक्ने बेला पनि हो यो। चिल्ला र चिप्ला भाषण र कार्यपत्रमा भुलाएर भोट माग्नेहरुप्रति भोटकर्ताले आफ्नो बृद्धि प्रयोग गर्नुपर्छ। हामी ठुलो सानो दल नहेरौं। सानो दलका उम्मेदवारले पनि जनताका दिनचर्यालाई सम्बोधन गरी कार्यान्वयन गर्न सक्छन्। उम्मेदवार यस्तो होस् जस्को सोच र काम गर्ने तरिका फरक होस्। जनमुखी होस।

अहिलेको नयाँ पुस्ता परम्परागत दंगले काम गर्ने संस्कारलाई स्विकार्य गर्न सक्दैन्। सर्वसाधारण सानो कामका लागि घंटौं कुर्नुपर्ने अव्यवहारिक संस्कारबाट आजात छन्। यस्तो प्रतिनिधी रोजौं जस्ले आफ्ना घोषणापत्रलाई सहजै कार्यान्वयन गरोस्। जनप्रतिनिधीले यस्तो प्रणालीको विकास गरोस् जहाँ स्थानीय निकाय सर्वधारण जनताको गुनासोरहित बन्न सकोस्। पार्टी भन्दा मान्छे चुनौं अनि मान्छे भन्दा क्षमता रोजौं। हाम्रा भन्दा राम्रा रोजौं। जस्ले, गाउँ गाउँमा सरकारको अनुभुति गर्न सकिने वातावरण बनाउन सकुन् ताकि विदेशमा रहेका लाखौं नेपालसमते आफ्नो फेरिएको गाउँको मुहार हेर्न हतार गरुन्।

 

 

 

 

 

 

             

प्रतिकृया दिनुहोस