फेसबूकसँग 'एक साँझ'

  • Get News Alerts

'मलाई लाइक नगर्ने ओ नालाइक!' भोज खाँदै गर्दा लर्बरिएको स्वरमा कसैले मलाई हप्कायो। हेरें – जलन रहेछ हातमा जोशबर्धक द्रव्यका साथ उभिएको। उसको रौद्रमुद्रा देखेर सन्तुलित शब्दको खोजीमा एकछिन गमें, वास्तवमा मैले बुझेकै थिइन उसको रिसको सन्दर्भ वा कारण।

जलन उसको फेसबुके नाम, स्वास्नी फेसबुकबाटै पोइल गएकीले उसको पुरुषत्वलाई औधि जलन भयो रे, र त्यहि पीडामा 'जलन' भनेर उसले फेरि आफ्नो न्वारन गरेको रे। जुन दिन उसले पनि फेसबुकबाटै अरुकी स्वास्नी उडाउँछ, त्यहि फलप्राप्तिको असीम खुसीयालीमा आफ्नो नाम फेरेर उसले फलन राख्ने अरे -उसको वास्तविक नाम चाहि सीतानन्दन रघुपतिनाथ अग्रहरि हो भन्छन् उसलाई नजीकबाट चिन्नेहरु।

आफूचाहिं पाखुरे-दूरीकै मात्र साथी भएकोले त्यो सब थाहा भएन। एकछिन गमे पछि फेसबूकीय क्रियाकलापकै कारण ऊ रिसाएको हुनुपर्छ भनेर निर्क्यौल निकाल्न गाह्रो भएन, तर उसैले रहस्योद्घाटन गरिहाल्यो – 'मेरी फुपुकी देउरानी मर्दा अंग्रेजीका तीन अक्षर रिप लेख्ता तिमी झिरिप हुन्थ्यौ र, कस्तो चिप? कमसे कम एउटा लाइक त दिन सक्थ्यौ! गोदान गर्न नसक्नेले गाई भएको पाँच पैसा दान गरेजस्तै! कस्ता कस्ता मक्खिचूस हुन्छन् यार फेसबुकमा पनि!' उसले एकैचोटी यस्तरी भन्यो कि उसले पिएको द्रव्य मलाई लागेजस्तो भो- दिमाग झंझनायो।

सन्तुलन, फंतुलन जे सुकै होस् भनेर मैले पनि ह्वात्तै जवाफ दिएँ- 'फेसबुकमा लेख्तैमा हुनेभए त पूरा गरुड पुराण नै लेखिदिन्थें नि तिम्रो कुन्निकस्लाई वैतरणी तार्न। बाँकी रह्यो त्यो लाइकको कुरा- 'तिम्री कुन्निको मरेको मन पर्यो भन्दा त्यसै त तिमी जलन्, रिसको आगोमा सल्किएर फेरि बलन् त हुने हैनौ?'

अनुहार हेरें अलिक मत्थर भए जस्तो लाग्यो, यहि मौकामा शकुनीको कुटनीतिक पासा फ्याकिहालें। 'हेर जलन, तिमी कवि हौ, कम्तिमा पनि सिंगा र टुक्रे गरेर पौने पाँच वटा जति तिम्रा कविता फेसबूकमा मैले पढेको छु, केही अर्थ जोड्न नसकिने बेजोड लागे। यस्तरी नै गोडादसेक कविता लेख्यौ भने तिमी हजार आयामेली कवि हुनसक्छौ, अनि गीतामा बयान गरिएको कृष्णजीको विश्वरूप हेर्न यो कलियुगमा मान्छेहरु तिमीकहाँ आउँनेछन् र तिम्रो जलन-सहस्रनाम लेखिनेछ।'

यो सुनेर उ पग्लियो, बचे खुचेको द्रव्य घुट्कायो, एउटा कुनामा लिएर गयो र भन्यो, 'तिमी साँचिकै मेरो हितैषी रहेछौ, मेरी पूर्वपत्नी भन्दा बढि तिमीले मलाई चिनेका रहेछौ।

फेसबुकको लाइक नै मेरो जिन्दगीको सबभन्दा ठूलो कमजोरी भयो, तिमीलाई के ढाँटु यार, बरु म रक्सी छोड्न सक्छु, स्वास्नी छोडें, तर यो लाइक छोड्न सक्दिन।' यति भन्दै उसले गोजीबाट पट्याएको कागज निकाल्यो र भन्यो, 'हेर, मेरो मित्रताको मासिक मापदण्ड र मेरा फेसबुके साथीहरुको लब्धांक पत्र। एक महिनामा ३० भन्दा कम लाइक गर्नेहरु अनुत्तीर्ण, ३०-६० गर्ने तेस्रो दर्जाका साथी, ६१-८० दोस्रो दर्जा र ८० भन्दा माथि चाहिँ मेरा कलेजे साथी अर्थात् जिग्री दोस्त। त्यसमा पनि थप नियमित टिप्पणी गर्नेहरुचाहिं मुटू, कलेजो, फोक्सो लगायतका सबै अन्तरिक अंगका साथीहरु। अनुत्तीर्णहरुलाई एक महिनाको ग्रेस पिरियड दिन्छु, सुध्रेनन् भने गलहत्याएर निकाल्छु एक क्लिकमा| तिमी पनि अहिले त्यहि ग्रेस पिरियडमा छौ, तर हाम्रो नयाँ समझदारीको सम्मानमा तिम्रो उत्तीर्णाङ्क १५ मा झार्न तयार छु।'

उसले यस्तरी भन्यो कि मानौ उ कुनै स्कूलको प्रधानाध्यापक हो, म कक्षाबाट भागेर हिडेको सजायको निम्ति ल्याइएको एउटा उज्जंड केटो हुँ र उसले ममाथि बिशेष दया गर्दैछ। नाना पाटेकरको हिन्दी फिल्मको डाइलग् कपि गरेर भनौ कि जस्तो लाग्यो – 'साला, एक लाइक आदमीको हिजडा बना देता है।' तर भैगो अर्थको अनर्थ लाग्न पुग्ला भनेर चुप लागें।

सोंचे आत्मा हुदैन भन्नेलाई यो भन्दा ठूलो चुनौती के होला –रति भन्दा प्रिय भएको यो फेसबूके आत्मरति। त्यसैले होला पाँचअक्षर देखि पाँच पन्ना सम्मका भगवानका भजन र स्तुतिहरु लेखिएका| हालैको अनुसन्धान अनुसार सतीदेवी पनि अग्निकुण्डमा होमिनु अगाडि आफ्नो फेसबुकमा 'आगोमा छिर्दै, हेरौं के हुन्छ' स्टाटस् अपडेट गरेको र त्यसपछि महादेवले शोकमा आफ्नो अकाउन्ट तीन महिनालाई बन्द गरेको तथ्य खुलेको छ।

भगवान त आत्मरतिबाट मुक्त छैनन् भने जाबो मानिसको के कुरा। फेरि बिचरो जलन मात्रै हो र यसमा लट्ठिएको? कसैलाई चर्मको र कसैलाई धर्मको, कसैलाई भोजको र कसैलाई मोजको, सबैलाई आफुसंग भएको प्रदर्शन गर्नु नै छ।

नहुनेहरु पनि शेयररूपी आयात निर्यात गर्दै लाईकको मुनाफा कमाउनमा व्यस्त नै देखिन्छन्, घाटाको बिज्नेस थोडै हो र यो भन्दै। आज एउटा साथीले बिहाको भोजमा तीन दिनलाई पुग्ने एकै पल्ट खान पाएछ।

बेलुका घरमा आएर मलाई फोन गरेर भन्यो- 'खाना-पिना तगडा थियो, मैले शेयर गरेको छ है तिमीसँग।'

'धन्य साथी, अहिले सम्म केही नपाकेको यो बेला तिमीले मलाई सम्झेर खाना शेयर गर्ने विचार गर्यौ, यो भन्दा उपयुक्त अरु के होला र?' मैले यति नभन्दै उ भन्छ, 'हैन, मैले फेसबुकमा फोटो शेयर गरेको भनेको, हेर त कस्तो भव्य आएको छ मैले खाएको।'

भोकको झोकमा 'भव्य खाएपछि तिम्रो दिसा पनि त भव्य निस्क्यो होला नि त्यसको पनि राख न फोटो' भन्न मन लाग्दालाग्दै श्लीलता नाघिने डरले संयम राख्दै भने 'हुन्छ नि, एउटा लाइक मबाट कन्फर्म छ।' उसले भन्यो, 'मलाई तिमीबाट यस्तै अपेक्षा थियो।'

त्यसपछि टक्क फोन राख्यो जसरी भोट पाउने निश्चित भएपछि उम्मेदवार फरक्क फर्केर जान्छ हेर्दै नहेरिकन। एकछिन पछि फेसबूकमा हेर्छु – रिकापीभरि खानाको बीचमा पुड़ीजस्तै गोलो गोलो उसको प्रफुल्ल अनुहार देख्छु। तल लेखेको हुन्छ- 'मजाले खाइयो, अझै खाइँदैछ।' कसैको तल कमेन्ट छ-'गुड् जब, स्वास्थ्य सुध्रिने भो।' मुफ्फतमा तीन थाल खाएर ङिच्च हाँस्दैछ, त्यस्तोलाई 'राम्रो काम?' हुन त खानुनै पुरुषार्थ भइसकेको यो बेलामा त्यो भन्दा अरु राम्रो काम उसले के नै गरोस् र?

उसले त खाने कुरा नै खाएको हो। बर्षौंदेखि सिङ्गै देश खाएर अझै नअघाएका नेताहरुको अगाडि उ बिचरो के नै हो र? स्वास्थ्य सुध्रिने कुरामा चाहिँ यहि गतिमा उसले खान भेट्टाउने हो भने बर्षदिन भित्रमा मधुमेह लागेर 'मजाले खाइयो, अझ खिइँदैछ' भन्ने तस्बिर नबाँड्ला भन्न सकिन्न। त्यो बेलामा चाहि मेरो एउटा लाइक उसले फोन नगरिकनै सित्तैमा!

यस्तै सोचिरहेको बेला जलनको बोलीले म झस्किएँ, 'के हो गुरू, दार्शनिक जस्तै कता हराएको, सानुतिनो दार्शनिक त म पनि हो नि, सुन्छौ मेरो अप्लोड़ नगरेको तात्तातो कविता-दर्शन?' मैले केहि भन्न नपाउंदै उसले शुरु गरिहाल्यो –

'भावनाले पग्लाउने, चिन्तनले जमाउने

म अचेल आफ्नै दूधको दही भएको छु'

मेरो वाह वाह सुन्नासाथ उसले हौसिएर भन्यो फेसबुकको प्राइवेसी (गोपनीयता) माथिको यो टुक्रा सुन्छौ?

'टाढैबाट नमस्कार गर्छन् अनि जान्छन् पराइहरु,

खोज्छन्, रोज्छन् अनि चिथोर्छन् तिम्रै हुँ भन्ने आफ्नाहरू'

यो चाहिँ मलाई साँचै मन पर्यो र भनिदिए –'जलन, तिमीमा प्रतिभा छ। आत्मरति र प्रशंसाको खोजीमा बौलाएनौ भने तिमीले नेपाली साहित्यलाई केहि दिनसक्छौ|” उसको गम्भीरता देखेपछि वातावरणलाई हल्का पार्ने उद्देश्यले भने –'यी नयाँ दुई सुके कविता सुनेपछि तिम्रो कविताको कूल संख्या सवा पाँच भएको मेरो फेहरिस्तमा मैले हिसाब राखें है।'

यसपछि उ खिस्स हाँस्यो र थप द्रव्यको खोजीमा बारतिर लम्कियो। म पनि 'मेरो पुस्ताका सबै भन्दा तगडा दिमागहरू बौलट्ठिले ध्वस्त भएको मैले देखें' भन्ने गिन्सबर्गीय चित्कारका साथ भोजबाट बाहिरिएँ।

प्रतिकृया दिनुहोस