बिवेकशिलहरु अविवेकी बने पछी समाज रुपान्तरण कसरी हुन्छ?

  • Get News Alerts

प्रवासमा जब नेपालीहरुको कुनै कार्यक्रममा जमघट हुन्छ तब नेपालीपन झल्काउने नाच गान र संगीतमा भेला हल नेपालमय हुन्छ। अझ अगाडी बढेर हामी ठाटले भन्छौ -गौतम बुद्दको शान्ति प्रिय देश, झुक्तै न झुक्ने हामी नेपाली,  पृथ्वी नारायण शाहले आर्जेको देश, हामी विस्वको सर्बोच्च शिखर हिमाल सगरमाथाका नेपाली, पुर्खाका ऐतिहासिक गाथामा गर्व गर्ने हामी नेपाली, हिमाल देखी पहाड सम्मका गीत गाएर एकताको सन्देश दिने हामी नेपाली, आदी। 

प्राकृतिक सुन्दरता र जलश्रोतको अपार धनी भन्दै शिर ठाडो पारेर गर्वले हामी भन्छौ हामी नेपाली। यो फुर्ती आपसी भेटघाटमा मात्र सिमित रहन्छ, भोली बिहान देखी फेरी सेलाएर जान्छ। चाहे स्वदेशमा होस वा प्रवासमा, तर पनि नेपाली भएर बाच्ने वा नेपाललाई बनाउने र बचाउने ब्यबाहारिक जागर कसैको देखिदैन।

किन?

जव सम्म हामी नैतिक र ब्यबहारीक रुपले आफु नै ठीक हुँदैनौ तब सम्म हामीले आफ्नो घर परिवार, समाज र देशको लागी नै गर्दैछौ भनेर फुर्ती लगाउनु बेक्कार नै हुन्छ। हामी सामाजिक प्राणी हौ, समाजमा बसे पछी सामाजिक निती नियमको परिधीको ख्याल सबैले गर्नु जरुरी छ। समाज निर्माणमा नैतिक शिक्षाको ठुलो भूमिका रहन्छ जुन कुरा आजकाल हाम्रो समाजले बिर्सदै गएको छ।

ब्याचलर र मास्टर्स गरेका हामी धेरै छौ समाजमा, तर पनि समाजमा स्थापित भएको बोली बचन र ब्यबहारका कारण आफ्नै घर लाई प्रदुषित गर्न किन तयार हुँदै छौ हामी? के स्कुल कलेजमा नैतिक आचारणको शिक्षामा कुनै कमी थियो र अझै छ?

देशमा दुई बर्ष अघी महाभूकम्प गयो। झण्डै नौ हजार जती मारिए, हजारै घरबार बिहिन भए, देशमा ठुलो धनजनको क्षति भयो। विश्व नै एक भयो, नेपाल र नेपाली प्रती माया र सदभावको बर्षा नै भयो। आर्थीक तथा भौतिक सहयोग प्रसस्तै प्राप्त भए, तर अझै पनि भुकम्प पिडितहरु पाल मुनी नै बस्न बाध्य हुनु अत्यन्त दुख र खेदजनक अवस्था हो। कृतिम अभाव, महंगी, भ्रस्टाचार, कालोबजारीले गाजेको यस मूलुकका वीर गोर्खालीका सन्तान भनेर गर्व गर्ने हामी नेपालीहरुको अनुहार आज छोप्न लायक भएको छ।

दशकौंदेखि यस्ता बिकराल समस्याहरु हामीले भोग्दै र सहदै आएका छौ। जब जब चुनाव आउछ फेरी हामी ती पिडाहरुलाई बिर्सन्छौ र ती नै नेताहरुलाई भोट दिएर आफ्नो प्रतिनिधी बनाउदछौ। यसरि नै समस्याहरुको चाङ थुप्रेर सगरमाथा झै अग्लो भएको हामीले बुझ्न सक्नु पर्दछ। त्यसैले अब पालो आएको छ आफ्नो बिबेक प्रयोग गर्ने- देश रहे आफु चिनिन्छ, देश नरहे आफ्नो पहिचान रहन्न।

समाजको रुपान्तरणकालागी हाल दुई राजनितिक दलहरु - साझा पार्टी र विवेलशिल अगाडी सरेका छन। दुबै दलहरुले आश लाग्दो बिचारहरु प्रस्तुत गरेका छन। यी दुबै दलहरुको बिचारधारामा एकरुपता नै पाईन्छ। दुबै दलहरुले यूवा जमातको नेतृत्व गरेका छन र नेपाल र यस मुलूकको सामाजिक र राजनितिक प्रदुर्षणलाई समाप्त गर्दै नयाँ नेपालको सपना देखेका छन। यी दुबै दलमा स्वच्छ र ईमान्दार ब्यक्तित्वहरुले नेतृत्व गरेका छन, तापनी यी अलग अलग छन। जव बिचार एक छ भने आखिर किन दुई वटा दल बनाईयो? यो प्रश्नको उत्तरमा भनिएला की जती धेरै परिवर्तनशिल दलहरु खुल्छन त्यती नै देशलाई फायदा पुग्ने हो।

यो केहि हद सम्म सही बिचार हुन सक्ला जब देशमा सबै कुरा ठिक ठाक हुन्छ। समाजमा क्यान्सर झै जरो फैलिएको बिद्यामान राजनितिक परिपाटीलाई जरै सहित फ्याल्न मैदानमा आएका यी आश लाग्दा दुई दलहरु समेतमा परम्पराबादीहरु झै मानसिक बिचलन त भएको हैन?

कुर्शीको नशा मदिरा भन्दा नराम्रो हुन्छ रे। मदिराको नशा भोली बिहान उत्रन्छ तर कुर्शीको नशा बाचुन्जेल लागी रहन्छ। कुर्शी पाउनका लागी नै प्रचार शैलीलाई आफ्नो अनुकुल बनाउन आफ्नो दलको आचारण र उदेस्य बिपरित प्रचार वा भाषण गरिनु गलत हुन्छ जसका कारण समाजलाई समेत गलत सन्देश जाने कुरा दलहरुले बुझ्न आवश्यक छ। अस्ती भर्खरै मात्र सर्वच्च अदालत कि प्राधान न्यायाधिस शुशिला कार्कीलाई महाअभियोग लागे पश्चात उनको समर्थनमा बोल्दै विवेकशील नेपाली दलबाट काठमाण्डौ महानगरको मेयरमा उमेद्वार रञ्जु दर्शनाको माईतिघरको एउटा भाषण सुन्दा उनी पनी त्यही पुरानो आलमा फर्कने पो हुन की भन्ने कुराले मन खिन्न भयो।

उनले आफ्नो भषणमा ब्यक्त गरेका शब्दहरु अनुसाशित छन? के समाजका लागी उपयोगी छन? के हाम्रा सन्ततीले त्यहि सिको गरुन? जब बिवेकशिल नै अविवेकी बने पछी समाज रुपान्तरण कसरी सम्भव हुन्छ? हुन त उमेरले २१ टेकेकी यूवाले आफ्नो जोश र जागर पोखेकी हुन तर उनले भविष्यमा धेरै बिचार गरेर, अनुभव बटुलेर अघि बढदा उनका लागी,समाजका लागी तथा विबेकशिलका लागी समेत उपयोगी हुनेछ।

राजनितीमा भाषण कला राम्रो हुनु आवस्यक छ तर परिवर्तनका लागी त्यसमा पनि समाज रुपान्तरणका लागी अघी सरेका नयाँ तथा आशा र भरोसा बोकेका दलहरुले आफुले प्रयोग गर्ने शब्दहरु कती अनुसाशित छन भन्ने कुरा  सोच्नु पर्ने हो। समाजमा आफु प्रस्तुत हुँदा आवेसमा आएर बोलेका कुराहरु र हाम्रा उत्तेजित भनाईहरुले केहि दिन चर्चा पाउलान तर त्यस्ता कुराहरु दिर्घकालामा प्रत्युपादक हुन जाने हामीले पुराना दलहरुबाट अनुभव संगालेका छौ। यस्तै किसिमका  स-साना प्रयासहरुबाट नै समाजलाई एउटा नैतिक शिक्षा प्रदान गर्न सकिन्छ र यी प्रयासहरुबाट समाज रुपान्तरणको प्रकृया शुरु हुन्छ। अत अनुभवले धेरै कुरा सिकाउदछ र यस्ता कुराहरुमा सदा सचेत हुनु पर्दछ।

समाज निर्माण र रुपान्तरण अवस्य पनि बच्चाको खेल हैन। विशाल चुनौतीहरुका बिच भिमकाया पहाड छिचोल्नका लागी यसमा जोस, जागर, परीपक्कता र अनुभवको मिश्रण आवश्यक हुन्छ। परिवर्तनशिल दलहरु फुटेर हैन जुटेर एक हुनु पर्ने अवस्था आजको छ। देश र बिदेशमा समेत परिवर्तनशिल नेपालीहरु दुबै दल बिचको एकतामा जोड दिन्छन अनि मात्र यसरि क्यान्सर झै जरो गाडेर बसेको बिद्यामान ब्यबस्था लाई एउटा असल बाटो दिन सकिने तर्क राख्दछन।

प्रतिकृया दिनुहोस