फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव कसरी जित्यो?

  • Get News Alerts

७ मे २०१७ मा सम्पन्न फ्रान्सको राष्ट्रपतिको दोस्रो चरणको चुनावमा एक वर्ष अगाडि स्थापना भएको नयाँ राजनीतिक शक्तिका प्रमुख इम्यानुअल मेक्रोन ले  ६५.९ प्रतिशत मत ल्याएर विजय भए।

अर्थात ३९ वर्षको उमेरमा  इम्यानुअल मेक्रोन फ्रान्सको २५ औं रास्ट्रपति बनेका छन्। उनकी प्रतिद्वन्दी फ्रान्सको एक अति दक्षिणपन्थी पार्टी ( FN ) की प्रमुख MARINE LE PEN ले ३४.१ प्रतिशत मत पाइन्। सत्तारुढ दल समाजवादी पार्टी ( PS ) का उम्मेदवारले जम्मा ६.३६ प्रतिशत र प्रमुख प्रतिपक्षी दल तथा स्थानिय निकायमा सबैभन्दा राम्रो पकड भएको पार्टीले रिपब्लिका ( LR ) का उम्मेदवारले जम्मा २०.०१ % मत ल्याई पहिलो चरणबाट नै बाहिरिएका थिए।

फलस्वरूप एक वर्ष अगाडि मात्र स्थापना भएको तथा प्रतिनिधिसभा वा स्थानिय निकायमा कहीँ कतै कुनै प्रतिनिधित्व नगरिसकेको नयाँ राजनीतिक शक्ति र प्रतिनिधि सभामा जम्मा २ सिट मात्र जितेको अति दक्षिणपन्थी तथा राष्ट्रवादी पार्टीले प्रथम र दोस्रो स्थान हासिल गर्नुले फ्रान्सका जनताहरू पुरानो राजनीतिक समूहको ठाउँमा नयाँ राजनीतिक समूह वा शक्तिलाई अवसर दिन चाहेको कुरा स्पष्ट देखियो।

यस लेखमा पचासौ बर्षदेखि स्थानीय निकायदेखि राष्ट्रिय राजनीतिसम्म निर्वाचनको माध्यमले कब्जा जमाएका ठूला र मध्यम राजनीतिक दललाई पछि पार्दै नयाँ शक्तिका प्रमुखले कुन कुन कारणले र कसरी फ्रान्सजस्तो शक्तिशाली र प्रजातान्त्रिक देशको राष्ट्रपतिको निर्वाचन जित्न सफल भए भन्ने कुराको बिश्लेषण गर्न खोजिएको छ। इम्यानुअल मेक्रोन ले चुनाव जित्नुका १० मुख्य कारणहरु छन् :

  • दशकौंदेखि फ्रान्समा दुई प्रमुख राजनितिक दलहरू समाजवादी पार्टी ( PS) र ले रिपब्लिका ( LR ) पालैपालो शासन गर्दै आएका छन। करिब बीस वर्षदेखि लगातार फ्रान्सको आर्थिक तथा सामाजिक स्थिति दिनप्रतिदिन बिग्रदै गइरहेको छ। सरकारी खर्चमा वृद्धि भइ बजेट घाटा बढ्दो छ, आर्थिक वृद्धि शून्यको नजिक छ। बेरोजगारी, सामाजिक सुरक्षा ब्यवस्थाको दुरुपयोग, असुरक्षा, नियन्त्रित आप्रवासीहरूको प्रवेश, गरिबि, जनताको क्रयशक्तिमा गिरावट आदि समस्याबाट पीडित फ्रेन्चहरु यी समस्याको समाधान गर्नसक्ने नेतृत्वको पर्खाइमा थिए। २००७ मा ले रिपब्लिका पार्टी (तत्कालिन UMP) को राष्ट्रपति लाई जिताएका फ्रेन्च नागरिकहरुले २०१२ मा समाजवादी पार्टी ( PS) का उम्मेद्‍वारलाई जिताएका थिए। यी दुई पार्टीबाट समस्याको समाधान हुन सक्दैन भन्ने चर्चा जनमानसमा चलिरहेकै बेला मोर्गेनले मध्यमार्गि कार्यक्रमसहित आफ्नो उम्मेदवारी घोषणा गरे। एक नयाँ ब्यक्तिलाई जिताएर हेरौ भन्ने मतदाताहरुलाई लाग्यो। परिणाम स्वरुप उनको पक्षमा माहोल सृजना भयो।
  • केहि वर्ष यतादेखि समाजवादी पार्टी भित्र स्पष्ट दुई खेमा देखा पर्‍यो। एउटा खेमाको नेतृत्व पंक्तिमा Benoît Hamon र Arnaud Montebourg थिए। उनीहरूका अनुसार आफ्नो पार्टीले शासन गरिरहेको बेला समाजवादी विचारधारालाई कडाइका साथ लागू गर्नुपर्छ भन्ने थियो। अर्को खेमाको नेतृत्व पंक्तिमा निवर्तमान राष्ट्रपति François Hollande र उनका प्रधानमन्त्री Mannuel Valls थिए। उनीहरुका अनुसार समाजवादी विचारधारालाई समय र परिस्थिति अनुसार व्याख्या र लागू गर्नुपर्छ भन्ने थियो। यी दुई विचार विचको द्वन्द्वकै कारण Benoît Hamon र Arnaud Montebourg ले आफ्नै पार्टीका राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डलबाट राजीनामा दिए र आफ्नै पार्टीको सरकार तथा राष्ट्रपतिका कार्यक्रम विरूद्ध आफ्ना विचारहरू दिन थाले। समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनोटका लागि भएको चुनावमा संस्थापन पक्षले हार बेहोर्नु पर्‍यो। समाजवादी पार्टीको तर्फबाट Benoît Hamon उम्मेदवार छनोट भए तर सत्तारुढ पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उनको स्थान सर्वेक्षणहरुमा निकै कमजोर (चौथो/पाँचौ) देखिनुका साथै दिनप्रतिदिन कमजोर हुँदै गयो। दोस्रो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी पार्टी र ले रेपुब्लिकाँ पार्टीबीच प्रतिष्पर्धा हुने र चरम दक्षिणपन्थी पार्टीले जित्न सक्ने कुरा मत सर्वेक्षणहरुले देखाऊन थाल्यो। चरम दक्षिणपन्थी पार्टीलाई जसरी पनि सत्तामा जान रोक्नुपर्ने मानसिकताबाट ग्रसित समाजवादी पार्टीका पूर्वप्रधानमन्त्री लगायत केन्द्रीय तथा स्थानीयस्तरका धेरै नेताहरुले पहिलो चरणमा नै आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई मत दिनुको सट्टा मेक्रोनलाई मत दिने सार्वजनिक घोषणा गरे। यसको प्रभाव उक्त पार्टीका सबै तहका कार्यकर्तामा पर्न गइ समाजवादी पार्टीका मानिएका भोटहरु मेक्रोनले प्राप्त गरि प्रथमचरणको राष्ट्रपतीय चुनावमा उनी २४.१ % मत सहित प्रथम स्थान हासिल गरे।
  • फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टींका राष्ट्रपतिका उम्मेदवार François Fillon लाई चुनाव प्रचार प्रसार चलिरहेकै बेला दुई आरोप लागे : पहिलो- आफ्नी पत्नीलाई आफ्नो पीए  नियुक्ति गरि संसदले पाउने आर्थिक एकमुष्ट रकमबाट दशकौंदेखि तलब दिलाएको तर उनी नियुक्त भएको भनिएको पदमा रहँदा गर्नुपर्ने काम गरेको नदेखिएको। दोस्रो- आफ्नो एक जना साथीबाट महंगो मूल्यका दुई वटा सुटहरू उपहार स्वरुप लिएको। यी दुई आरोप लागेपछि François Fillon ले एकातिर अदालतमा हाजिर भइ पटक पटक जवाफ दिनुपर्ने भयो। त्यो भन्दा बढी संचारमाध्यमहरुका प्रश्नहरुको सामना गर्नुपर्यो। मिडिया र सामाजिक सञ्जालहरूमा यस विषयले यति प्राथमिकता पायो कि उनी र उनको परिवार मानसिक रूपमानै प्रताडित हुनु पर्यो। पार्टीका केही जिम्मेवार नेताहरू उनको प्रचार प्रसार गर्न छोडे। उनको प्रचार प्रसारमा हिँडेका कार्यकर्ताहरुले सर्वसाधारणबाट अपमान सहनु पर्यो। यी सबै गतिविधिहरुले François Fillon को प्रचार प्रसारमा कमी आयो। हरेक दिन टिभीहरुमा उनका मुद्दाका बारेमा छलफल र टिकाटिप्पणी सुनेका उनका केही मतदाताहरुले अर्को विकल्प खोज्न थाले। फलस्वरूप मध्यमार्गी कार्यक्रम लिएर चुनाव लडेका मेक्रोनले ती कार्यकर्ताहरुका मत लिन सफल भइ पहिलो चरणको चुनावमा प्रथम स्थान लिन सफल भए।
  • फ्रान्सको चरम दक्षिणपन्थी पार्टीले यसअघिका स्थानीय तथा संसदीय चुनावहरुमा पहिलेभन्दा धेरै स्थानमा हासिल गर्‍यो। मतदान सर्वेक्षणले यो पार्टी राष्ट्रपतीय चुनावमा पहिलो चरणमा प्रथम स्थान हासिल गरि दोस्रो चरणमा प्रवेश गर्छ भन्ने तथ्यांक देखिरहेको थियो। यो विषय ठूला ब्यापारिक तथा बित्तिय संस्था, अन्य यूरोपियन देश, आप्रवासीहरु, आप्रावासीका लागि काम गर्ने संस्था, केही धार्मिक समुहहरू आदिको चुनौतिको रुपमा देखापर्‍यो। सामाजवादी पार्टीको कमजोर उम्मेदवार र रेपुब्लीकाँ पार्टीको विवादित उम्मेद्वारबाट FN लाई टक्कर दिन नसक्ने देखिएपछि FN बाट प्रत्यक्ष प्रभावित हुने मानिएका समूहहरुले मेक्रोनको पक्षमा माहोल खडा गरे। फलस्वरुप मेक्रोनले दोस्रो चरणमा प्रतिष्पर्धा गर्ने अवसर पाए।
  • दशकौंदेखि मध्यमार्गीको पहिचान बनाएको पार्टी मोडेमका प्रमुख तथा विगतमा तीन पटक राष्ट्रपतिको उम्मेद्वार भइ सम्मानजनक मत प्राप्त गरेका François Bayrou ले यो चुनावमा उम्मेदवारी दिएनन्। पहिलो चरणको निर्वाचन हुनुभन्दा धेरै पहिलानै मेक्रोनलाई चुनावमा सघाउने सार्वजनिक घोषणा गरे जसबाट उनका समर्थकमा मेक्रोनलाई मत दिनुपर्ने नैतिक दवाब सिर्जना भयो। एउटा प्रभावशाली पार्टीका प्रमुखबाट निशर्त समर्थन पाउँदा मेक्रोनको राजनैतिक उचाई बढ्न गयो।
  • फ्रान्समा एउटा ठूलो समूह युरोपियन युनियन अधिकार सम्पन्न र शक्तिशाली हुनुपर्छ भन्ने धारणा राख्छ। युरोपियन युनियनको एउटा सैनिक हेडक्वाटर, युरोपियन युनियनको एउटा बजेट, एउटा अर्थमन्त्री जस्ता नयाँ संरचनाको कल्पना गरेका मेक्रोन युरोपियन युनियनलाई एउटा शक्तिशाली क्षत्रिय संगठन बनाउनुपर्छ भन्ने प्रमुख उम्मेदवार हुन्। जसको कारण दोस्रो चरणको निर्बाचनमा यो समूहका मतदाताहरुले मेक्रोनलाई मत दिनुको विकल्प थिएन।
  • मेक्रोनका बिरोधीको भनाइलाई पत्याइदिने हो भने मेक्रोन ठूला व्यापारिक तथा बित्तिय समूहको प्रतिनिधित्व गरेर उनीहरुकै आर्थिक सहयोगमा चुनाव लड्दै छन्। यदि यो कुरा सत्य भए यस्ता समूहको प्रभाव राष्ट्रपतिय चुनावमा नपर्ने कुरा भएन।
  • मेक्रोनले आफ्नो घोषणापत्रमा अन्य सबै उम्मेदवारहरुका घोषणापत्रका राम्रा पक्षहरुलाई समेटेको देखिन्छ http://eunepal.com/?p=840। जसको कारण कुनै पनि समूहसँग आस्था राख्ने मतदाताहरुले उनलाई मत दिन हिच्किचाउनु पर्ने देखिदैन थियो। उनी ब्यक्ति नयाँ भए पनि उनको कार्यक्रम पुरानै पार्टीका कार्यक्रमको सुधारिएको रुप हो। यसैको कारण पहिलो चरणबाट बाहिरीएका ९ मध्ये ५ उम्मेदवारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेक्रोनलाई जिताउनुपर्ने विचार राखे। यसले दोस्रो चरणमा उनको जित सुनिश्चित गरे।
  • फिलोसोफी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मेक्रोनले सन् २००२ - २००४ मा फ्रान्सका नेता तथा अति उच्च स्तरका सरकारी कर्मचारी उत्पादन गर्ने स्कुल L'ENA मा अध्यन गर्ने अवसर पाए। त्यस स्कुलबाट पाएको योग्यता उनको CV को सबैभन्दा महत्वपूर्ण पक्ष बन्यो। यही योग्यताको कारण उनी वित्तिय समूहको अति उच्च स्तरको सरकारी सेवामा २००४ देखि २००८ सम्म काम गर्ने अवसर पाए। ४ वर्षको अवधिमा नै दुई वटा पदमा बढुवा हुन सफल उनी २००८ मा सरकारी सेवामा आवश्यक परेको बेलामा उपस्थित हुने शर्तमा फ्रान्सको अति प्रतिष्ठित व्यापारिक बैंकमा काम सुरू गरे। त्यहाँ पनि २००८ देखि २०१२ सम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी समाले। माथि उल्लेखित गरिएका उनका शैक्षिक उपलब्धि, अनुभव, ब्यक्तिगत सम्पर्क र उनको चातुर्यताले उनलाई २०१२ सालमा राष्ट्रपतिको आर्थिक सल्लाहाकार बनायो। त्यसको दुई वर्षपछि २०१४ मा उनी फ्रान्सको अर्थमन्त्री नियुक्त भए। छोटो समयमा नै उनले पार गर्न सकेको लामो र कठिन यात्राले जनताहरुमा उनलाई एक प्रतिभावान व्यक्तिका रुपमा चिनायो। परिणामस्वरुप बिपक्षीहरुबाट अपरिपक्क, अनुभवबिहिन र गैरराजनीतिक ब्यक्तिको आरोप लाग्दा पनि जनताहरु उनलाई मतदान गर्न हिच्किचाएनन्। अत मेक्रोनको जितको एउटा कारण उनको CV पनि हो।
  • मेक्रोनले दोस्रो चरणको चुनाब जित्नुको एउटा महत्वपूर्ण कारण हो चरम दक्षिणपन्थी पार्टी दोस्रो चरणमा प्रवेश गर्नु http://global.setopati.com/anya/3124/| दोस्रो चरणमा प्रवेश गरेका यी दुई उम्मेदवारहरुका कार्यक्रम बिल्कुल बिपरित थिए। सबैजसो प्रमुख पार्टीहरु चरम दक्षिणपन्थी पार्टीलाई सत्तामा जान दिनु हुन्न भन्ने कुरामा दृढ थिए। FN का आर्थिक कार्यक्रमहरु वामपन्थी पार्टीका कार्यक्रम सँग मिल्दाजुल्दा थिए भने मेक्रोनका आर्थिक कार्यक्रमहरु उदारवादी अर्थतन्त्र सँग मिल्दा थिए। युरोपियन युनियन, युरो, आप्रवासी नीति, नाटो, वैदेशिक नीति, सामाजिक सुरक्षा ब्यवस्था, उत्पादन र बितरणको मोडेल आदि जस्ता महत्वपूर्ण मुद्दामा यी दुई उम्मेदवार बिल्कुल बिपरित ध्रुबमा थिए। स्पष्ट दुई बिपरित विचारबिचको लडाई भएकै कारण आफ्नो विचार मिल्ने उम्मेद्‍वार छान्न धेरै सोचिरहनु परेन। फलस्वरूप पहिलो चरणको चुनावको नतिजा प्रकाशित हुँदासाथ पहिलो चरणको चुनावबाट बाहिरिएका उम्मेदवारहरुले आफ्नो र आफ्नो समूहको विचार मिल्ने उम्मेदवारलाई मतदिने दिलाउने कुराको घोषणा गरे। जसअनुसार समाजवादी पार्टी र रेपुब्लिकाँ पार्टीका पराजित उम्मेदवारले मेक्रोनलाई मत दिने घोषणा गरे। मेक्रोनको आर्थिक कार्यक्रमसँग असहमत तिन वामपन्थी पार्टीले कसैलाई पनि मत नदिने वा अनुपस्थित रहनुपर्ने खालको आशय ब्यक्त गरे। करिब ५ प्रतिशत मत प्राप्त गरेको एउटा मात्र पराजित उम्मेदवारले Marine Le Pen लाई मत दिनुपर्ने सल्लाह आफ्ना कार्यकर्तालाई दिए। यसरि पहिलो चरणको चुनावमा तेस्रो र पाँचौ स्थान हासिल गरेका उम्मेदवारहरु मेक्रोनको पक्षमा उभिनु र वामपन्थी उम्मेदवारहरु मेक्रोनलाई मत दिन आफ्ना कार्यकर्तालाई प्रेरित नगरे पनि Marine Le Pen लाइ सहयोग नगर्नुले मेक्रोनको जित सुनिश्चित भयो।

(यो मेरो नितान्त व्यक्तिगत विचार हो यसमा कुनै कमेन्ट गर्नु परेमा: [email protected])

प्रतिकृया दिनुहोस