सपना संगको त्यो अन्तिम रात

  • Get News Alerts

मस्तिष्क खुलिसकेको हुन्छ। आँखा खोल्न र ओछ्यान छोडन प्रत्येक दिन संघर्ष गर्नु पर्छ। अरुलाई शुभदिनको जतिसुकै कामना गरे पनि आफ्नो संघर्ष ओच्छ्यान बाटै शुरु हुने गर्दछ। आँखा मिच्दै सिरानी मुनि बाट मोबाइल झिकेर यसो स्क्रिन अन गर्ने बित्तिकै सपनाको फोटो सहितको स्टाटस देखियो। ‘बाइ बाइ कोरिया, हेल्लो काठमाडौं।’ झल्ल्यास हुँदै निद्राका आँखालाइ अझ चनाखो बनाउदै नियाले। लोकेशन सहित कोरियाको इन्छन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा ६ घन्टा अगाडि फोटो सहित स्टेटस पोस्ट गरेको पक्का भयो। म्यासेन्जर हेरें ‘एक्टिभ फोर आवर अगो’ भनेर देखायो। म्यासेन्जर एक्टिभ फोर आवर अगो संगै सपनाले नेपालको यात्रा आधा दुरि पार गरिसकी भन्ने फेरि पक्का भयो।

ठुलो गगल्स, कालो लङ कोट संगै गुलाबी गलबन्दी घाटिमा बेरेकी सपनाले आफ्नो लगेज र ह्यान्ड क्यारी ट्रलिमा राखेर अपलोड गरेको फोटो लाई धेरैले लाइक र शुभ यात्राको कामना सहितका कमेन्ट हरु गरिसकेका थिए। मैले पनि केही नसोची कमेन्टमा शुभयात्राको कामना ठोकिदिए। तर अझै बिश्वास नै लागेको छैन। अनेक कुराले मनमा डेरा जमाउदै गए। एक्कासी छाती ढक्क  फुल्यो। मानौ मेरो मुटुका सबै पेचकसहरु फुकालिदै छन्।

हामिले एक अर्कालाइ साक्षी राख्दै अनेकौ उधारो तमसुकमा दोहोरो हस्ताक्षर गरेका थियौ। त्यसमध्ये केही दिन पछि कोरियाको राजधानी सोलमा हुने किराँतीहरुको महान पर्व साकेला नाच्ने पनि एक थियो। मिति,पर्व र बिदा अनुसारका अन्य बाचाका फेहरिस्त लामा छन। दैनिक हरेक कुरा शेयर गर्ने सपनाले कोरिया छोड्दा म संग किन एक पटक पनि सल्लाह गरिन....?

मनमा एक्कासि सयौ फिट अग्ला ज्वारभाटाहरु उठे। बिजयको उत्सब मनाउदै गरेका मनभित्र पराजयका अथाह सन्ताप हरु म्याराथनमा प्रतिस्पर्धा गरे जस्तै दौडिदै आए। सोच्दा सोच्दै हजारौ प्रश्नहरुको लर्को ‘ग्रेट वाल’ भन्दा लामो बन्यो। मगज भित्र एकै छिनमा आबेगको ठुलो कारखाना खोले जस्तै भयो। हुन त उसका पछिल्ला व्यवहार, झर्कोफर्को, र बोलिमा असाबधानी जस्ता गतिबिधीहरु बढ्दै जादा केही अप्रिय घटना हुने संकेतको छनक त पहिल्यै मिलेकै थियो।

यो अप्रिय घटना हो अथबा मैले सोचे भन्दा अन्य केहि फरक पो हो कि...

मानिसलाइ जतिखेर जे पनि त पर्न सक्छ नि! मन बुझाउने थोरै खाली ठाउको सुर्को राखे। सोच्दा सोच्चै ड्युटी जाने बेला भैसकेछ। कार्टुनबाट एउटा कुकिज झिकेर टोक्दै लागे काम तिर। मनभरी अनेकन बृतचित्रहरुलाई घुमाउदै शनिबारको ड्युटी पनि सकियो। शनिबार बेलुका काम सकेर हातका पन्जा खोले पछि आफुलाइ दोश्रो विश्व युद्द जितेको सिपाही जस्तै लाग्छ। किनकी भोलि आइतबार हो। तर आइतबार बाहेक पनि कोरियाका प्रत्येक सार्बजनिक बिदाहरु कण्ठस्थ छन्। मानौ कोरियाको पञ्चाङग पात्रो म आफैले बनाइदिएको हो।

जब गिदि उम्लेर टुप्पीबाट प्रेसर कुकरको सिट्टी लाग्छ। तब दुइवटा ब्यक्ति घरको चौकिदार जस्तै लौरो लिएर मेरो दिमागमा उपस्थित हुन्छन। सेकेन्ड सेकेन्डमा हाँस्न सक्ने युबा दार्शनिक डा.योगि बिकाशानन्द र खप्तड बाबा। गिदि उम्लिदा यी दुइलाइ नसम्झिने हो भने उत्तर कोरियाले बनाएको हाइड्रोजन बम भन्दा सयौ गुणा खतरनाक मेरो टाउको बन्ने थियो होला। खप्तड बाबाको बिचार बिज्ञान पुस्तक र योगि बिकाशानन्दका भनाइहरु हाइड्रोजन बमका प्रतिरक्षा प्रणाली जस्तै भएका छन। यी दुइलाइ सम्झदै जुरुक्क खाट बाट उठे। अह ! सजिलै भुल्न यो मनले मानेन। मनभरी अनेकौ बृतचित्र हरु घुमिरहे। कसलाइ सोधौ कता बुझौ जस्तो लाग्यो। पुन खाटमा पल्टिए।

सपना संग पहिलो भेट थेगुमा उसकै कम्पनिमा भएको थियो। केही समय अगाडी मात्र सउलको तोङ्देमुन बजारमा भेटेका थियौ। उ मलाइ भेट्न ५ घण्टा लामो बाटो पार गएर आएकी थिइ। मैले पनि ४ घन्टाकै लामो दुरि तय गरेर त्यहाँ पुगेको थिए। यद्दपी सपना संग न मैले कुनै फाइदा लिनु छ, न उसले म सग नै। तथापि उसको संघर्षशल जिबनलाइ केही समय फलो गर्न भने अबश्य मन थियो। सपनालाइ सम्झिरहे।
तोङ्देमुनको दोश्रो भेट्मा सपना निकै फरक देखिएकी थिइ। सपनाको जीवन कहानी कुनै चलचित्रको मार्मिक कथा भन्दा कम छैन ।ठमेलको मसाजदेखी कोरियाको च्याउ खेती सम्म अध्यन गर्ने हो भने २ घन्टा लामो उत्कृष्ट चलचित्र नै बन्छ।

दिउँसो सम्म उखरमाउलो गर्मी थियो। आकाशमा डढेलो लागे जस्तै। साँझ शितल बन्दै गएको छ। हल्का टिशर्ट र कट्टुमा सजिएकि सपना मुस्कुराउदै मेरो छेउमा आइपुगी। हैट ! धेरै पछि देखेर हो कि क्याहो सपना त नाम्चे बजार भन्दा पनि सुन्दर भैछौ त। देख्ने बित्तिकै बोल्नलाइ सहज बाताबरण बनाउनको लागि मुख खोले। यो सपना कोहिलाइ नाम्चे जस्तो, लाग्ने कोहिलाइ जोमसोम जस्तो लाग्ने, कोहिलाइ भने कुनै ग्रहबाट झरेको एलिएन जस्तो लाग्ने। सपनाले हास्दै मेरो उत्तर फर्काइ।

यो भन्दा बढी उसको बर्णन गर्न तिर लागिन। के छ झोलामा? गर्हौ देखिन्छ त? हातमा झुन्ड्याएको प्लास्टिक तर्फ हेर्दै सोधे। छोरी मान्छेको ब्यागमा के के हुन्छ हुन्छ नि। उत्तर फर्काइ। लामो यात्रा देखि आको। थाकेको होला मैले सहयोग गर्नु पर्छ कि भनेर पो सोधेको। छोरी मान्छेले ब्यागमा के के बोक्छौ भनेर सोधेको हो र मैले थपे। भो पर्दैन यति बोक्न सक्छु। १० बजि सक्यो खाना खान जाउ। थकाइ पनि लागेको छ। सपनाले भनी।

कोरियाको तोङ्देमुन शहरलाई मिनि नेपाल भन्ने गरिन्छ। साथिभाइ आफन्त भेट्ने देखि नेपाली रेस्टुरेन्टमा खाना खान आउने सम्मका नेपालीहरु यहाँ छरपस्ट भेटिन्छन। अझ लामो सार्बजनिक बिदाका दिनहरुमा त यहाँको सडक पेटिनै नेपालीले जाम गरेर बस्दा धेरै पटक कोरियन पैदल यात्रुहरुको गाली म आफैले खाएको छु। सुनेको छु। हामी नजिकैको एभरेस्ट रेस्टुरेन्टमा पस्यौ। जहिले सुकुटिको कुरा गर्ने सपनालाइ मैले शुरुमै एक प्लेट सुकुटी अडर गरे।

आज धेरै गर्मी छ है भन्दै सपनाले २ बोत्तल बियर मगाइ। म छ्क्क परे। म आज अल्कोहल पिउदिन। केही दिनलाइ औषधि छ। बियर एउटा मात्र मगाउ। तपाइको लागि हैन दुईटै मेरो लागि हो। तपाईं खाना खानुस न भन्दै सपनाले बियर घुट्काउन थाली। सामान्य र लजालु देखिने सपना बियर पिउदै जादा फाइटर बिमानको महिला चालक जस्तो बन्दै गैरहेकी थिइ।

दुखै दुखको पहाड झेलेर आएकी सपनाले किन एक्कासी यस्तो गर्दै छे। मनभरी दुबिधाको क्यानाभास कोरिन थाल्यो। मरुभुमिमा फुल्न लागेको क्याक्टसलाइ सपनाले फेरि उखेल्न लागेकि हो त? सपनाको संगतबाट आफैलाइ बर्खास्त गर्ने सोच  बनाउन थाले। आफैले सृष्टि चलाउनु परे जस्तै के सोचेको राजु? मेरो चिन्ता नलिनुस है, म अरुकोलागि बाचेको हैन। मेरो जिबनको मालिक म आफै हो। मैले कसैको चिन्ता गर्दिन। चिन्ता गर्ने फुर्सद पनि छैन म संग। छिटो खानुस रेस्टुरेन्ट बन्द गर्ने बेला भो। निद पनि लाग्यो। सपनालाइ बाहिर निकाल्ने सोच बनाएं।

तिन वटा वसन्त कटाए कोरियामा। यो २४ घन्टा जाग्ने शहर हो राजु। चिन्ता नलिनुस। आजको हाम्रो यो भेट अर्थपूर्ण हुनेछ। हत्तेरी! जेब्राक्रस गर्दै गर्दा बिचमा पुगे पछि रातो बत्ती बले जस्तै भयो। रातको १२ बजिसकेको छ। बल्ल बल्ल सपनालाइ रेस्टुरेन्टबाट निकाले र होटेलमा पुर्याए। मेरो जीवन एउटा प्रयोगशाला जस्तै भएको छ। मेरो रुवाइमा साथ दिने मेरो आँखाको नानी बाहेक को छ र! मनमा भुइचालो जाँदा सबैले ओठेभक्ति देखाए तर त्यसको चोट यायाबर जस्तै भड्किरहेछ। किन मैले एक मुठी विष पिउन सकिन राजु?

मसंग ठुला सपना छैनन। जुनको जस्तो उज्यालो नभएतापनी टुकि जस्तै सिमित परिधिको अँध्यारोलाइ चिर्न सक्ने सोचाइ छ। सुरुङ भित्रको अँध्यारो यात्रालाई छिचोल्न लाग्दै छु। आँसु झार्दै नशाको तालमा सपना बोल्दै गइ। म सुनिरहे। दुखका कुरा र ठमेलको मसाजका कुराहरु बेतालले बताउदै सपना निदाइ।

कोठाको भुइमा सिरकलाइ दशगजा बनाएर झन्डै २ घन्टा जति दुबै निदाएछौ। ब्युझदा सुर्यको किरण छिप्प्पिएर बैशालु बनिसकेको रहेछ। सरि राजु। रिसमा पुरोहितले बेद पढ्दैन भने जस्तै के के भयो के के भने माफ पाउ है। इट्स ओके त्यस्तो केही भनेको छैनौ। मैले भने। मैदानमा मैले जति मिलाएर बलिङ गरे पनि तपाइले कहिल्यै छक्का हान्न सक्नु भएन है राजु भनेर लामो हासो निकाल्दै साकेलामा भेट्ने बाचा गर्दै सपना म सग बिदा भएकि थिइ।

सपनासंगको दोश्रो भेटलाइ एकै चोटि सम्झिए। यति सोच्दै थिएं म्यासेन्जरमा सपनाको म्यासेज आयो। खुशी हुँदै खोलेर हेर्दा ‘सरि राजु हतारमा कोरिया सधैकोलागि छोडे।’ ‘आजै हाम्रो इनगेजमेन्ट पनि भयो’ भन्दै दुबैजनाको फोटो पठाइ। सुखद दाम्पत्य जिबनकोलागि शुभकामना सपना भनेर उत्तर दिए। यो कथा सकिएको हुदा खुशी पनि भए।

प्रतिकृया दिनुहोस