के अब आश तपस्वीको मात्र गर्ने बेला भयाे त?

  • Get News Alerts

चाणक्यले राज्य संचालन अस्तव्यस्त भएमा शिक्षीत युवा, बुद्दिजिवी र तपस्वीले वाटो देखाउनु पर्छ भनेका छन्। नेपालको सन्र्दभमा राज्य संचालनको अबस्था अस्तव्यस्त छ तर त्यसलाई सहि मार्गमा ल्याउनको लागि चाणक्यले भने जस्तो वाटो देखाउने कोहि भेटीएको छैन। खाली योजनाका कुरा भए। राज्य संचालनको ठेक्कापट्टा नाफा हुने गरि संचालन गर्ने दलको परिपाटीका कारण जनताहरु निराश मात्र होइन दिक्क भइसके। समाज उहि पुरानो ढब्वावाट संचालित छ। नयां सोच नयां विचारले स्थान पाउन सकेको छैन।

प्रसंग स्थानिय निर्वाचनको। देश निर्वाचनमय भएको छ। गाँउ-गाँउ, टोल-टोलमा पार्टीका झण्डा लिएर नेता सहित कार्यकर्ताहरु भोट माग्न गएका छन्। विकासका ठुला ठुला नारा सहितको पर्चा पम्ल्पेटहरु वाटोभरी छरपस्ट फालिएका छन्।

कहिलै गाँउ नगएका नेताहरु वीस वर्ष पछि गाँउ गएका छन्। विकासका फोस्रा नाराहरु लिएर। गाँउमा वाटो छैन, भएको वाटोमा ग्रेगर नहालेको बर्षाै वित्यो। स्कुलको टहराहरु भत्किएका छन्। असिना पानी छेक्ने टिन छैन। पढ्न गएका वालवालिकाहरुसंग किताव छैन। अविभावकहरु संग आम्दानी छैन। विहान वेलुकीको जोहो टार्न धौ धौ छ।

स्कुल जानकोलागि एकसरो कपडा छैन। दुर्गमको पीडा। तीनै जनताहरुको घर घरमा भोट माग्न गएका नेताहरुसंग विकासको खोक्रो नाराले भरिएका रंगीन कागजमा भरि भराउ नाराहरु छन्। थाहा छैन कहिले पुरा हुन्छ। तीनै रंगीन कागजनमा भरिएका नाराहरुको पछि लाग्दै हिडेका आजको शिक्षीत युवा जमात। पार्टीको झण्डा वोक्दै मोटरसाईकलमा पेट्रोल हालेको भरमा दौडिरहेका छन्। मदिराको भरमा नारा धोकिरहेका छन्।

अझ विरक्त लाग्छ विगतमा टोले गुण्डाको छवी बनाएकाहरु अहिले पार्टीले टिकट दियो भन्दै नमस्कार गरेको फोटो कागजमा प्रिन्ट गरि शहर बजारका भित्ता भित्ता रंगाएको देख्दा। दुई दशक पहिला पनि ठ्रयाक्कै यहि परपाटी थियो आज पनि त्यहि छ। मात्र उम्मेदवार परिवर्तन भए तर सोच परिवर्तन भएन।

अनलाईन पत्रिका सेतोपाटीले गरेको एक सर्वेक्षणमा अधिकाशं मतदाताहरुको भनाई वाजे वराजेको पाला देखि हाल्दै आएको चुनाव चिन्हमा भोट हाल्ने हो भन्ने रहेछ। समय परिवर्तन भयो तर विचार परिवर्तन भएन। पार्टीको झण्डा वोकेर हिड्ने युवाहरुले त एक पल्ट सोध्नु पर्ने हो नी मेट्रो रेल बनाउने स्रोत के हो?

कसैले सोधेनन् र सोध्न पनि चाहेनन्। नेपालमा ३० प्रतिशत मानीसहरु अझै पनि पुर्णरुपमा गरिवीको रेखामुनी छन्। विहान वेलुकीको छाक जोहो गर्न उनिहरुलाई मुश्किल छ। उनिहरुको छाक जोहो गर्ने वारे कोही बोल्दैन। हुम्ला जुम्लामा रेलको सपना देखाईन्छ। दाउरा नपाएर चुलो वाल्न धौ धौ पर्ने जनतालाई पाइपलाइनको ग्यासको सपनाले के गर्ने?

पार्टीको पछाडीलागेर होइन। व्यक्तिगत रुपमा समाजलाई सहि दिशा देखाउने नेता छान्ने वेला भएको छ। अव ढिला गर्नु हुदैन। हामीले धेरै सुनीसक्यौ भाषणहरु , धेरै सुन्यौ आश्वासन, अनि धेरै पढ्यौ भित्तामा लेखिएका विकासे नाराहरु तर खै त जनताले न्याय पाएका? खै त सरकारको अनुभुती भएको? भुकम्प गएको दुई वर्ष भयो। तीन वटा सरकार फेरियो, दर्जनौ मन्त्री भए। फेरियो त केवल सरकार, चिल्ला गाडी, आसेपासेहरु तर फेरीएन भुकप्प पीडितको दुख। जावो भुकम्प पीडितहरुलाई राहतदिनको लागि प्रोसेस लामो छ, न आत्तिनु भनि जवाफ दिने दलका नेताहरुवाट के आशा गर्ने? धेरै आर्दश, सिन्दान्तका कुरा नगरौ सामान्य भन्दा सामान्य विकास र राहतका कुराहरु मा सरकार पटक पटक चुकेको छ। कसैले टेर पुच्चर लगाउदैन।  

निर्वाचको वेला उधारो तमसुक होइन, अव कार्यन्वयन कसरी गर्ने भन्ने प्रश्न सोध्नुहोस। हिजो उसले के गरयो भन्ने इतिहास सम्झनुस्। समाजमा उसको योगदान कस्तो छ? त्यो हेर्नुस। पार्टीको आडमा भष्ट्रचार त गरेको छैन? त्यो जिज्ञासा राख्नुस। खाली योजनाका मात्र कुरा भए। कार्यन्वयन भएनन्। आर्थीक विकासको जग बस्नै सकेन। राजनीतिक र आर्थीक पाटो बलियो र स्थिर भएन भने समाजको समुन्नत विकास संभव छैन। तर हामी कहां भयो त केवल योजना मात्र। अनि त्यसमा भागीदार बन्यौ तपाई हामी। जसले जे भन्छ त्यहि कुरा पत्याउने वाबु वाजे त फलानो चिन्हमा भोट हालेका थिए भन्दै हामी पनि त्यहि चिन्ह खोज्दै हिड्या।ै तर खोजी भएन विकासको हिमायती को मान्छे हो भनेर।

लावालश्कर मोटर साइकलमा झण्डा वोकेर हिड्ने, टिर्सटमा पार्टीको लोगो सहितको चित्र बनाउने ती युवाहरु जो बुझेर पनि बुचपचाई रहेको छ। स्थानीय तहमा राम्रो व्यक्ति चयन हुन सकेन भने विकास असम्भब छ। त्यसैले पार्टीको पछाडी होइन, व्यक्तिको पछाडीको जमात बढाउ। खुलेर झण्डा वोकेरै हिड्नु पर्छ भन्ने छैन सहि व्यक्तिको छनौट गरौ।

एउटा मननीय कुरा के छ भने राजनिती समाज भन्दा माथी हुनै सक्दैन। समाजको दायरा भित्र राजनिती अटाउनु पर्छ।  संचालित हुनु पर्छ। राजनीतीको आर्दश हुन्छ। सिद्दान्त हुन्छ। हामी त्यो छाडिदेउ समाजको अवस्था के छ र समाज अनुसार कसरी राजनिती संचालन हुन्छ? त्यसमा ध्यान देउ। चाणक्यले भने जस्तै यदी हामी शिक्षीत युवा, बुद्दिजीविहरुले गलत व्यक्तिहरुलाई राज्य संचालनको जिम्मा दिने ठेकेदारी तरिकाले भागबण्डा गर्ने हो भने अब आशा तपस्वीको मात्र हुने भो।

प्रतिकृया दिनुहोस