बुद्धको जन्मभूमिमा विस्तारवादी आँखा

  • Get News Alerts

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एञ्जलिस (यु.सि.एल.ए.) विश्वविद्यालयमा ‘हिस्ट्री अफ इण्डियन सिभिलाइजेसन’ विषय पढाइन्छ। २६ वटा लेक्चरको उक्त विषयमा एउटा लेक्चर बुद्धको जिवनीमा समर्पित गरिएको छ।

करिब एक घण्टा लामो उक्त लेक्चरमा बुद्धको जन्मस्थल ‘लुम्बिनी’ का बारेमा केवल एउटा वाक्य बोलिएको छ – “Buddha was born in a place called Lumbini which is now in present day Nepal. Of course, the political boundaries were not like that in those days”। सो लेक्चरमा बुद्ध धर्मको जन्मथलो भारत हो भनेर पढाइन्छ भने बुद्धको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको लुम्बिनी, कपिलवस्तु र तिलौराकोटको उल्लेख नगरिनु मलाई हाँस्यास्पद लाग्छ।

साथै यो लेक्चर सुन्ने हरकोहीले पनि बुद्ध र बुद्ध धर्मसँग नेपालको केही पनि सम्बन्ध छैन भन्ने कुरा सहज रूपमा बुझ्न सक्छन्। बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने तथ्यलाई पनि ‘कन्टेस्टेड’ तथ्य भनेर भनिन्छ।

युट्युबमा समेत राखिएको सो लेक्चर सन् २०१२ मा दिइएको थियो। भारतीय सभ्यताको इतिहास शीर्षक भएकाले भारतसँग मात्र जोडिएको कुराहरू उल्लेख गरिएको होला जस्तो म ठान्छु तर बुद्ध धर्मको उद्गम स्थल नै भारत भएको दावी गरिएपछि इतिहास त केवल शक्तिशालीको हातमा रहन्छ भन्ने कुराको पुष्टि भएको महसुस गर्दछु।

युसिएलएको लेक्चरजस्तै अनेक डकुमेन्ट्रीहरू युट्युबमा भेटिन्छन् जहाँ बुद्ध धर्मको उद्गम स्थल भारत त भनिन्छ नै बुद्धलाई पनि ‘भारतीय मुनी’ भनिन्छ भने बुद्ध जन्मेदेखि ३० वर्षसम्म बिताएको कपिलवस्तुको दरबार भारतको उत्तरप्रदेशमा पर्दछ भनेर देखाइएका छन्। यस्ता वृत्तचित्रहरू संसारभरका धेरैभन्दा धेरै मानिसहरूले हेरेर प्रष्टसँग बुद्ध र बुद्धको भूमि नेपाल होइन केवल भारत रहेछ भन्ने बुझ्छन् र यही कुरा संसारभर फैलिएर भ्रम श्रृजना भएको पाइन्छ।

एउटा उदेकलाग्दो विषय के पनि हो भने धेरै मान्छेले गलतलाई पनि सही हो भनेर वकालत गरे भने त्यही नै सही ठहरिन्छ किनकि प्रजातन्त्रमा धेरै कुराहरू सही र गलतभन्दा पनि संख्याका आधारमा निर्णय गरिन्छ चाहे त्यो गलत होस् वा सही।

समस्याको मूल कारण

यी सबै कुराको मूल कारण बुद्धको जन्मस्थलका बारेमा भ्रम सिर्जना गरेर फैलाइनुलाई मान्न सकिन्छ। वेलायती औपनिवेशिक कालमा केही विद्वान्हरूले बुद्धको जन्मस्थल भारतको उत्तरी भेगमा भएको उल्लेख गरेर भ्रम सिर्जना गरेका थिए।

यही कुरालाई अन्य मुलुकहरूमा फैलाइनु तथा पाठ्यपुस्तकहरूमा समेत समावेश गरिनुले यो भ्रमलाई फैलिन मद्दत पुगेको धेरैको अनुमान रहेको पाइन्छ भने भारतले यसैलाई आधार बनाएर फाइदा लिन खोजेको देखिन्छ।

उत्खनन् र अनुसन्धानबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको पुष्टि भैसके पनि उचित प्रचारप्रसारको अभावमा यो भ्रम फैलिन मद्दत पुगेको छ। त्यसैकारण पनि धेरैभन्दा विदेशीहरूलाई लुम्बिनीका बारेमा कम जानकारी भएको वा बुद्धको जन्मस्थल अन्तै रहेको भ्रम रहेको प्रष्ट हुन्छ।

तथ्यलाई घुमाएर वा बंगाएर भए पनि बुद्धलाई भारतमै जन्मिएको र बुद्धको जीवनसँग सम्बन्धित कुनै पनि स्थानलाई भारतमै रहेको देखाउने दाउपेच भारतको लागि सांस्कृतिक, पर्यटकीय र आर्थिक फाइदाको विषय हुने भएकोले भारतले यस्तो प्रचारप्रसार गर्दै आइरहेको छ।

बुद्धको जीवनमा जति लुम्बिनीको महत्व रहेको छ, त्यति नै महत्व कपिलवस्तुको पनि छ। साथै जति महत्व बोधगयाको छ त्यति नै महत्व र औचित्य सारनाथ र कुशीनगरको पनि छ। यी स्थानहरू सम्पूर्ण बौद्धमार्गीका लागि मात्र नभएर शान्तिको बाटोमा अविछिन्न रूपमा अगाडि बढ्ने हरेक नागरिकको लागि महत्वपूर्ण स्थान मात्र होइनन् कि पवित्र तीर्थस्थलको रूपमा रहेका छन्। त्यसैले गर्दा यी सम्पूर्ण स्थानहरूको उचित संरक्षण र सम्बद्र्धन गर्नु आजका शान्तिप्रेमी विश्व नागरिकको कर्तव्य पनि हो।

कैयौं मानिसका लागि बुद्धभन्दा पनि बुद्धका उपदेशले बढी महत्व राख्न सक्लान् वा उनीहरूलाई बुद्धको जन्म कुन स्थानमा भयो भन्ने विषय त्यति महत्वको नहुन सक्ला तर जति पनि बौद्धमार्गीहरू जो बुद्धका ऐतिहासिक महत्वका स्थानहरूको पवित्र तीर्थस्थलका रूपमा भ्रमण गर्न र बुझन तत्पर रहन्छन्, उनीहरूलाई समेत यस भ्रमले गर्दा प्रत्यक्ष रूपमा असर पारेको देखिन्छ।

मूकदर्शक सरकार

सांस्कृतिक, पर्यटकीय तथा धार्मिक महत्वको स्थान लुम्बिनी र कपिलवस्तुको उचित प्रचारप्रसार गर्नका लागि नेपाल सरकारले खासै गहकिला कार्यक्रमहरू अगाडि सारिएको देखिदैन।

युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षणमा मात्र होइन कि यसलाई उचित प्रचारप्रसार र विश्वका विभिन्न मुलुकमा रहेका पाठ्यपुस्तकमा गरिएको गल्तीलाई सच्याउनका लागि नेपाल सरकार जुन पहल तदारुकताका साथ देखाउनु पर्ने हो, त्यो त्यति प्रभावकारी भएको महसुस गर्न सकिएको छैन।

केही गैर सरकारी संस्थाहरूले थोरै श्रोत र साधनका वावाजुज जुन अभियान अगाडि बढाएर बुद्धको जन्मस्थलका बारेमा रहेको भ्रम सच्याउनका लागि विभिन्न कार्यक्रम गरेर विश्वका विभिन्न देशका पाठ्यपुस्तक सच्याउनका निमित्त जुन पहल गरेका छन् त्यो अत्यन्त प्रशंसनीय छ।

भारतीय दोहोरो नीति

तथ्यलाई बंगाएर वा बिगारेर बुद्धलाई भारतमा जन्मिएको देखाउन सकिए भारत बुद्ध भूमि हुने र विश्वभरका बौद्धमार्गी पर्यटकहरूलाई भारतकै विभिन्न ठाउँको भ्रमण गराएर आर्थिक र सांस्कृतिक फाइदा लुट्ने नीति भारतले अवलम्बन गर्न खोजिरहेको छ। यसैको परिणामस्वरूप मोदीका विभिन्नखाले दुइजिब्रे भाषण पनि वेलावेलामा सुनिएकै छ।

जे होस् नेपालाई बुद्धको पाइलाबाट टाढा राख्न सकिएको खण्डमा भारत नै बुद्धभूमि बनाएर विश्वसामु पेश गर्न सकिए भारतलाई फाइदा पुग्ने उद्देश्यका साथ यस्तो भ्रमपूर्ण प्रचारप्रसार गर्न ऊ तत्पर रहेको छ।

सत्यलाई दबाउन सकिन्न

तथ्यलाई जति नै बंगाएर वा बिगारेर प्रस्तुत गरिए पनि सत्य आखिर सत्य नै हुन्छ। बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर विभिन्न उत्खनन्बाट प्रमाणित भैसके पनि भारतीय पक्षले छरेको भ्रमले गदा सही सूचना विश्वका कुनाकुनामा पुग्न सकेको छैन।

सही सूचना पुर्याएर विश्वलाई भ्रमित हुनबाट बचाउनुपर्ने आजको खाँचो पनि हो। त्यसैले सरकारले यससम्बन्धी प्रभावकारी कार्यक्रम वा कार्यनीति बनाएर नेपाल र नेपालीका शान सिद्धार्थ गौतम बुद्ध हाम्रा एक अमूल्य निधि हुन् भन्ने तथ्यलाई विश्वसामु पुर्याउनुपर्ने टड्कारो खाँचो छ।

प्रतिकृया दिनुहोस