तिम्रो अमूल्य सहयोगको लागि धन्यवाद!

  • Get News Alerts

'तिम्रो अमूल्य सहयोगको लागि धेरै धेरै धन्यवाद!' रमेशले गत हप्ता प्रसन्न भएर मलाई भन्यो ! उ कोठा सर्दै थियो र सामान सार्न उसले मलाई बोलाएको थियो।  म शारीरिक हिसाबले दह्रो वा बलिष्ठ हात पाखुरा भएको मानिस त हैन, तर पनि सहयोग मागेपछि नजानु भनेको दिएपछि नखानु भने जस्तो हेला होला भन्ने ठानेर गइयो।

चानचुन २ घण्टा जति पोका पुन्तुरा सार्नमा लगाइयो। मैले गरेको सहयोग यत्ति हो। व्यावसायिक श्रमदारले १ घण्टामा २० डलर जति लिएर सजिलै गरिदिने काम हो त्यो! जाबो २० डलर जतिको कामलाई उसले किन अमूल्य भनेर बढाइ चढाइ गर्यो? घरमा आएर एकछिन चिन्तन गरि टोपलेँ।

झल्याँस्स सम्झें – मेरो थोत्रो गाडी बिग्रंदा एक महिना जति अगाडि मैले बिनोदलाई गुहारेको थिएँ अस्पताल पुर्याइदिन, त्यसपछि मैले पनि त भनेको थिएँ नि उसलाई– 'तिम्रो यो अमूल्य सहयोग कहिल्यै बिर्सन सक्दिन!'

के साँचै अमूल्य थियो त त्यो सहयोग? ट्याक्सीले २०/२५ डलर मा पुर्याउने ठाउँ थियो त्यो। ट्याक्सी खर्च जोगाउन मैले उसलाई गुहारेको थिएँ। सोचिहेरें –सहयोग गरे बापत मैले उसलाई २५ डलर हातमा उसलाई थमाइदिएको भए के उ रिसाउँदैन थियो र? उसले पक्कै भन्ने थियो – 'के म ट्याक्सी ड्राइभर हो? पैसा नै दिनु थियो भने आफै ट्याक्सी लिएको भए भैहाल्थ्यो नि!' हो त नि। त्यसो भए पैसाको सट्टामा उसले के पायो?

यु.जी. कृष्णमूर्ति भन्थे- 'सम्पूर्ण मानवीय सम्बन्धहरु पारस्परिक परितोषणमा आधारित हुन्छन्। अर्थशास्त्रमा त एउटा भनाइ नै छ – 'सित्तैको भोज भन्ने चाहि केहि हुँदैन है!' तत्काल पैसा नलिए पनि बिनोदले मलाई डेबिट र आफूले गरेको सहयोगलाई क्रेडिट भनेर आफ्नो मानसिक लेखामा हिसाब किताब राखिसकेको हुनै पर्छ।

नभन्दै अघिल्लो हप्ता उसले मलाई फोन गर्यो र भन्यो – 'हेर न, हामी श्रीमान/श्रीमती विवाहको बार्षिकोत्सव मनाउन होटेलमा खान जान लागेको, फुच्चेलाई हेरिदिने कोहि भएन, तिम्रोमा १/२ घण्टा छोडिदिउँ कि भनेको!' उसले भर्खरै गरेको सहयोग झल्झली आउँदा आउँदै म कसरी हुँदैन भनूँला र? मैले भद्र सहमति जनाएपछि उसले फोनबाटै भन्यो- 'तिम्रो यो अमूल्य सहयोग हामी दुवै पति-पत्नी कम्तिमा पनि हाम्रो विवाहको दिन आजीवन सम्झिरहने छौं।'

यस्ता अमूल्य सहयोगहरुको भने एउटा गजबको बिशेषता हुने रहेछ- स्मृति प्रगाढता। बिना पैसा गरिएका यस्ता अमूल्य सहयोगहरु सहयोग गर्ने मान्छेले हत्पति बिर्संदो रहेनछ।

सम्बन्धमा अलिकति चिसोपना आउने बित्तिकै उसले दशौं बर्ष अगाडि गरेको सहयोगलाई हाइ-डेफिनिसन् टिभीमा हेरे जसरी छर्लंग ब्याख्या गर्दछ -मानौ उ अहिले कुनै खेलको जीवन्त प्रसारण हेरिरहेको छ, मानौ उ साक्षात संजय हो र उसैले धृतराष्ट्रलाई महाभारत देखाएको थियो। त्यसपछि सुदर्शन-चक्रबृद्धि ब्याज जोडेर उसले आफ्नो अमूल्य सहयोगलाई भीमकाय मूल्यमा परिणत गर्दछ र धावा बोल्दछ- 'के सक्छौ तिमी अहिले यसको मूल्य चुकाउन?' समूल्य गरिएका कारोबारहरू भने सबै स्मृतिहीन हुने रहेछन्, त्यसैले हामीलाई सम्झना हुँदैन - दाल/चामल, खाजा/ट्याक्सीमा हामीले गरेका खर्चहरु। लेन बराबर सधैं देन, लेखाको जरूरी नै नपर्ने।

त्यसो भए अमूल्य भनेको साँचै के हो त? घोत्लिन मन लाग्यो। घोत्लिंदै गर्दा बुबाको सम्झना आयो, पिताजी नेपाली विषयको शिक्षक हुनुहुन्थ्यो र मेरो स्कूलमा वहाँले नै मलाई नेपाली पढाउनु भएको थियो।

एकपल्ट परीक्षामा मैले अमूल्यको अर्थ मूल्य नभएको अर्थात् सित्तैमा पाइने वा बेकामे भनेर लेखेको थिएँ, बुबाले त्यसलाई गलत ठहर्याउनु भो र भन्नु भो – अमूल्यको अर्थ मूल्य तोक्न नसकिने (यस अर्थमा कि कुनै निश्चित मूल्य नभएको तर सित्तैमा पाइँने निर्मूल्य भन्ने चाहि हैन) । पछि गणित पढ्दा शून्यता, अनिर्णेयता, र असिमितता जस्ता धारणाहरुलाई प्रष्टसँग बुझ्ने मौका पाइयो तर तिनीहरुलाई 'अमूल्य' को गाँठो फुकाउने प्रयासमा प्रयोग गरिएन। प्रयास गरेकै भए पनि केही नसुल्झिने रहेछ भन्ने अहिले लाग्दैछ किनभने अमूल्य मूल्यसँग सम्बन्धित छ र मूल्य पैसासँग।

पैसाको आफ्नै भौतिकी, रसायन र गणित छ। सारा सिद्धान्त र आदर्शलाई पगालेर व्यवहारको कोपरा बनाउन सक्छ पैसा! नपत्याए तलको काल्पनिक घटना के असम्भाव्य होला त?

एउटा अति सुन्दरी स्त्रीसँग एउटा अपरिचित पुरुषले प्रस्ताव राखेछ- 'म तिमीसँग एक रात संगै बिताउन चाहन्छु, त्यसको मूल्य एक लाख चुकाउन म तयार छु! एक लाख रुपैया!' त्यसले त बहुत कुछ व्यवस्था हुन्छ! यो सोचेर ति स्त्रीले तत्काल सहमति जनाइछिन्। तत्पश्चात् त्यो युवकले भनेछ- 'एक हजारमा हुन्छ?' युवतीले मुर्मुरिदै भनिछन्- 'तैँले मलाई को भन्ने ठानेको छस्?' युवकले भनेछ – 'को हो भन्ने त अघि नै स्थापित भैसक्यो नि, खालि मूल्यदरमा पो हाम्रो समझदारी भैरहेको छैन।'

भौतिक र सांसारिक बिषयको मूल्य तोकिनु स्वाभाविक हो, तर पराभौतिक र आध्यात्मिक जगतमा यो लागु हुँदैन -तपाईहरु मध्ये कोहि तर्क गर्नु होला। तर म भन्छु – आध्यात्मिक संसार त अमूल्य र अचिंत्यको धारणाले ओतप्रोत छ, त्यसो हुँदा त्यसमाथि मूल्यले संक्रमण गर्ने अवसर पनि झन् अनगिन्ति छ –अध्याँरो, ओसिलो ठाउँमा नदेखिने गरेर ढुसी पलाए जस्तो।

सती देवीका पिता दक्षप्रजापतिले महादेवलाई गरीब, मगन्ते भनेर उपहास गरेको स्वस्थानीमा हामी सबैले पढेकै हौँ। तर अनुभव जस्तो गुरु कोहि हुदैन भन्छन् भुक्तभोगीहरु, त्यसैले आफैंले भोगेको कुरा चाहिं लेखिहालौं।

पोहोर साल तिरुपति बालाजीको अमूल्य दर्शन गर्न भनेर सपरिवार दक्षिण भारत गइयो। घण्टौ लाइनमा कुर्नु पर्ने हुँदो रहेछ लाखौंको भीडले गर्दा। तर पैसा तिरे पछि छोटो लाइनमा जान सक्ने व्यवस्था पनि हुँदो रहेछ, जति बढि पैसा त्यति छोटो लाइन!

जनही रु. ५०० तिरेर १० घण्टा कुरेर ३ सेकेन्डमा आँखा झिम्क्याए जसरी बालाजीको दर्शन गरियो – थाहा छैन त्यो अमूल्य हो कि समूल्य! बाँकी तीर्थस्थलमा पनि झण्डै त्यस्तै, त्यस्तै अनुभव भयो!

आध्यात्मिक भावना जागरण गराउन छोरा-छोरीलाई लिएर गएको, पैसाको लेनदेन देखेर उनीहरुको बालसुलभ मनमा धर्मप्रति सपाट बितृष्णा उम्रिएको प्रष्ट देखें मैले। आधा घण्टा आपूर्ति र मागको व्याख्यान छाँटेर केही पण्डित्याइँ देखाए पनि मैले उनीहरुलाई सन्तुष्ट बनाउन नसकेको मलाई थाहा थियो।

विषयवस्तुलाई हल्का बनाउने उद्देश्यले भने –यस्तो त पश्चिमी देशमा पनि हुन्छ नि, मास्टरकार्डको बिज्ञापन हेरौं न – 'लाउने कपडा ५ डलर, टूथपेस्टको दाम १ डलर, बालकको हाँसो अमूल्य, बाँकी सबैको लागि मास्टरकार्ड छदैंछ है!' यहाँ पनि त अमूल्यको धारणालाई क्रेडिटकार्डको व्यापारमा प्रयोग गरेर मूल्य र मुनाफामा परिणत गरिएको छ नि!

तीर्थको कुरा गर्दा मलाई काठमाडौँमा पशुपति जाने गरेको याद आयो। गणतन्त्र अगाडि पशुपतिको नजीकबाट प्रत्यक्ष दर्शन गर्न पाएको त्यति सम्झना छैन- अमूल्य दर्शन गर्न निर्मूल्य सम्भव नहुने रहेछ किनभने व्यापारी घरानाबाट पाइने दक्षिणा छोडेर भट्टजीले मलाई किन ग्राह्यता दिन्थे र? त्यसैले धेरै जसो मन्दिर वरिपरि घुमेर म फर्किने गर्थें –मन शान्त भएको बेला रुद्राष्टकम् र झोंक चलेको बेला ताण्डवस्त्रोत्रम् पाठ गरेर।

साधु सन्तको कुरा गर्दा रामकृष्ण परमहंसलाई सम्झन्छु –उनी सुवर्ण र मुद्रा दुवै छुँदैन थिए अरे, एक किसिमको एलर्जी नै थियो अरे उनको तिनीहरुसंग। एकपल्ट कसैले उनको बिछ्यौनामा तन्ना मुनि सुनका अशर्फी राखिदिएको रे, भोलिपल्ट उनको शरीरमा फोकै फोका। फेरि अर्का साइ बाबालाई सम्झन्छु –जो हात घुमाएर सुनको रोलेक्स घडी निकाल्थे अरे पोकै पोका। बुझिनसक्नु छ संसार, त्यसैले सन्त र जोगीका कुरा यहि छाडेर हामी साधारण मनुवाले बुझ्न सक्ने कुरामै चित्त बुझाऊँ।

मूल्य र अमूल्य बीचको गतिकी (dynamics) पनि रोचक नै हुँदो रहेछ। कहिले हामी मूल्यलाई अमूल्यमा बदल्छौँ भने कहिले अमूल्यलाई मूल्यमा। उदाहरणका निम्ति हेरौं-जुनसुकै सामान उपहार दिंदा पनि हामी त्यसमा लागेको मूल्यांङ्क निकाल्छौ ताकि लिनेलाई थाहा नहोस् कि सामानको मूल्य वास्तवमा कति हो?

यो अनिश्चितता र व्यामिश्रले उपहारलाई अमूर्त र अमूल्य बनाइदिन्छ, फलस्वरूप लिने/दिने दुबैका निम्ति स्थिति सहज बनिदिन्छ। मेरो एउटा अर्थशास्त्री साथी छ जो हरेक क्रियाकलापलाई मूल्यको तराजुमा जोख्दछ, उसको दृष्टिमा अमूल्य भनेको बर्तमानमा मूल्य आँकलन गर्न नचाहेको तर भविष्यमा गैरकानूनी ब्याजदरका साथ अकूत लगानी भित्र्याउने चतुर ब्यापारी मानसिकता हो।

यस्तो कोरा दर्शनबाट एकपल्ट उसको बैबाहिक जीबन झन्डै चौपट भएको। एकपल्ट उसकी सासुले उसलाई क्रिसमसमा खान बोलाइछन्- बिचरा बुढीले ज्वाइँलाई खुशीपार्न निकै तामझाम गरिछन् र सकिनसकी विभिन्न परिकारहरु बनाइछन्। खाइसके पछि अर्थशास्त्री ज्वाइँले भनेछ – 'यो भोजका निम्ति तपाइँले करीब २०० डलरजति खर्च गर्नु भएछ, कृतज्ञता प्रकट गर्नका निम्ति म ३०० डलरको चेक लेखिदिन्छु, अरु कसैसँग यो भोजको बयान नगर्नुहोला।' यो सुनेर बूढी रिसले आगो भइछन् र आफ्नो छोरीलाई पारपाचुके गर्न तत्काल आग्रह गरिछन्। ज्वाइँले पारपाचुके गर्न लाग्ने खर्च र अंशवण्डाबाट उनीहरुलाई हुने नोक्सान देखाइदिएपछि भने बूढी आफैँ मत्थर भइन् रे।

निशाना चुके शस्त्र फेर्नू, तर्क सुके शास्त्र हेर्नू भन्छन्। त्यसैले कतैबाट पनि अमूल्यको मूल्य नसुल्झेपछि एकपल्ट शास्त्र के भन्दो रहेछ भनेर मलाई कौतुहल भयो। 'धर्म, अर्थ, काम, मोक्ष' सफल जीवनका आधारस्तम्भ भनेर त प्रष्ट सँग भनेकै रहेछ नि पुरातनकाल देखि नै। त्यो जमानामा यी चार आयामहरुले शायद मानवीय जीवनका पृथक तर पूरक पक्षहरु समेट्तथे होलान् अर्थात् यि आयामहरूबीच न्यूनतम सहबंधन (correlation) वा सहगोचरता (covariance) थियो होला।

तर अहिले त अर्थ एक नै आवश्यक र पर्याप्त छ। अर्थको मूल्यले धर्म, काम र मोक्ष सबैको अमूल्य पक्षलाई सजिलै किन्न सक्ने अवस्था सिर्जना भएको छ अहिलेको जमानामा! त्यसैले जबसम्म पैसा छ तबसम्म सबैको मूल्य छ।

 

प्रतिकृया दिनुहोस