राजनीतिक अचानोमा परेका कुलमानहरु

  • Get News Alerts

नेपालमा राम्रो काम गर्छु भनेर केही ताराहरू जन्मिन्छन्। तर, पूर्व क्षितिजमा उदाउँन नपाउँदै नेपाली राजनीतिक ब्ल्याकहोलले तिनीहरुलाई सर्लक्कै निलिदिन्छ। परिणामत: देशले यस्तो अवस्था भोग्नुपरिरहेको छ।

यहाँ सबै ठाउँमा राजनीति छ, कर्मचारी, न्यायपालिका, शिक्षा, स्वास्थ्यमा जहाँतही राजनीति हाबी छ। पछिल्लो समय विद्युत प्राधिकरणको राजनीति सतहमा आएको छ। जसमा कुलमान अचानोमा परे। जसको चोट खप्न नसकेर पत्रकार सम्मेलनमै धुरूधुरू रोए।

न्यायालय पनि अछुतो रहेन राजनीतिबाट। चाहे शुसीला कार्कीलाई प्रतिपक्षले प्रयोग गरेको होस्, अथवा उसलाई महाभियोग लगाउने सरकारमा भएका दलहरु नै किन नहुन्, कार्की पनि राजनितिक अचानोमै परिन्। यो देशमा कुलमानहरूको अवस्था यस्तै निरीह छ।

पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले भने, ‘पैसा कमाउने नै हो भने दुई चार घण्टा लोडसेडिङ बनाएकै भरमा करोडौं कमाउन सक्थेँ।’

कुलमानले पैसा होइन  इमान कमाउन चाहे। लोडसेडिङ युगलाई अन्त्य गर्दै देशलाई उज्यालो बनाउने अभियानमा लागेका कुलमान इतिहासका यस्ता पात्र हुन् जसलाई जनताले कहिलै बिर्सन सक्दैनन्। दु:खको कुरा यीनै कर्मठ कर्मचारी आज राजनीतिको अचानोमा परेका छन्।

यदि देश बनाउने हो भने जातपात, नातागोतालाई हेर्नु हुँदैन। तर, यहाँ एक कर्मठ कर्मचारी देश र जनताका लागि भनेर दिलो ज्यान लगाएर काम गरिरहेको हुन्छ उसैलाई अचानोमा पारेर गलत आक्षेप लगायो भने कुलमानजस्ता देशभक्त सिपाहीको अवस्था आगामी दिन के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ।

कुलमान माओवादी होइनन्, एमाले होइनन, न कांग्रेस नै हो या कुनै दल। हो त ऊ केवल मेरो देश नेपालको अन्धकारलाई हटाउन खोज्ने एउटा इमान्दार देशभक्त। तर कोहीले उनलाई माओवादी बनाए। केहीले एमाले। खासमा ऊ न माओवादी हो, न एमाले। आफ्नो नेतृत्वमा बनेको सरकारको पालामा नियुक्ति भएका कुलमानले लोडसेडिङ हटाउन सफल भए भन्दै माओवादीले यसको क्रेडिट लिन खोज्यो। अचेल माओवादीले चुनावी अभियानमा यही नारा घन्काईरहेको छ।

यसरी माओवादीले कुलमानलाई माओवादी बनाउन खोज्यो। माओवादी नेतृत्व सरकारको पालामा लोडसेडिङ हटेकोले राष्ट्रवादीको छवि बनाएको एमालेलाई निद्रै परेन। त्यसैले उसको तारो पनि कुलमानै भए। कुलमानको अभियानलाई बिथोल्न कतिपय अँध्यारो बेचेर नाफा कमाउन पल्केका माफियाहरू लागिपरेकै थिए।  अनि मौका ढुकेर बसेकाहरू राम्रा मान्छेमाथि आक्रमण गर्न पछि परेनन्।

एउटा भनाई छ -अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ।´ यस्तै ब्यहोर्दै आएको नेपाली जनताले दक्षिणसँग केही सम्झौता हुने बित्तिकै शंकाले टाउको उठाउन खोज्छ। तर खासमा अगुल्टो र विजुली चम्काई बिचको फरकपन छुट्टाउन नसक्नु हाम्रो कमजोरी हो। हरेक घटना र परिस्थितिलाई मूल्यांकन नगरी एउटै चस्माले देख्नु बडो दु:खको कुरा हो।

एउटा भनाई छ, ‘तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी ऊ भन्दा अब्बलसँग काम गर्नसक्छौ। आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरू कैची जस्तो होस्। ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस्।’ अहिले कुलमानलाई आलोचना गर्नेहरु ऊ भन्दा क्षमतावान छन् भन्ने कुरा मलाई लाग्दैन। सवैलाई जानकारी छ, इतिहासमा कुलमान नै यस्तो ब्यक्ति हुन, जसले कसैले गर्न नसकेको काम गरेर देखाए र असम्भव भन्ने चिज केही रहेनछ भनेर प्रमाणित गरिदिए।

कुलमानलाई धुरूक्क रुवाउन कस्ले के भन्यो? बेईमानहरुको लागि केही नहुन सक्दछ तर इमान भएकाहरुको लागि नखाएको विष लाग्ने यो पक्कै सह्य कुरा थिएन । ऊ त्यसै रोएको होइन। कुलमानको मन भित्र लामै वेदनाको बह जमेर बसेको थियो। एउटा अन्तर्वार्तामा दुखेसो पोखेका थिए कि, केही काल उसलाई कामै दिइएन केवल कार्यालय गएर रजिस्टरमा हस्ताक्षर गर्नु बाहेक। त्यसपछि जब ऊ एमडीमा नियुक्त भयो तब उसले लोडसेडिङ हटाउने जुन कदम चाल्न थाल्यो तब विद्युत माफियाहरुको टाउको दुख्न थाल्यो र उसको काममा असहयोग मात्रै होइन, अबरोध समेत गर्न थाले। कतै प्राधिकरणका कर्मचारीहरुको आन्दोलन, कहिले कार्यालय भित्रै छिर्न नदिने, बिजुलीका पोलहरु ढालिदिने, ट्रान्सर्फमर जलाईदिने, पूर्वएमडीले यति समेत भन्न भ्याए कि फाल्गुन र चैत्रसम्म लोडसेडिङ भएन भने म सार्बजनिक पद धारण गर्दैन। खै अचेल ती महाशय आफ्नो जागिर त्यागे वा के गरे?

कुलमानलाई असफल बनाउने विभिन्न प्रपन्चहरु रचिए। पछिल्लोपटक भारतवाट एलइडी बल्ब किन्ने बारेमा घोटाला गर्न लागेको भनेर हल्ला फैलाइयो तब ऊ मर्माहत भएर पत्रकार सम्मेलन समेत गर्नुपर्‍यो। सम्मेलनमा बोल्दाबोल्दै उसको गला अबरुद्ध भयो। राम्रो गर्छु भन्दाभन्दै खुट्टा तान्ने प्रवृत्तिको सिकार बनेका इमान्दार कर्मचारीहरुको लागि यो सह्य कुरा थिएन। तर नेपालमा यस्तै हुन्छ।

सवैले छातिमा हात राखेर भन्न सक्नुपर्छ कि कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएको हो कि होइन? कसैले चिर्न नसकेको विद्युत माफियाहरुको जालो चिरेर जुन महान काम गरे त्यसको समर्थनमा जनताको आवाजको आवश्यकता परेको छ। कुलमानको आँसुको आशय यही हो। उसले जनताको साथ खोजिरहेको छ। हामीले सत्यलाई साथ दिनै पर्छ । नयाँ नेपाल सम्भव छ। उज्यालो नेपाल सम्भब छ। कुलमानको जय होस्।

प्रतिकृया दिनुहोस