मेरो कलमको कथा

  • Get News Alerts

म सात आठ कक्षामा पढ्दा कलम बलियो कि तरवार भन्ने विषयमा बाद विबाद र निबन्ध प्रतियोगिता हुने गर्थ्यो। म जहिले नि कलम बलवान् हुन्छ भन्ने पक्षमा बस्थेँ। र, मलाई त्यस बेला नै यस कुरामा विश्वास भैसकेको थियो। तर देशका एक नामी नेतालाई कलममा विश्वास हुन चौध वर्ष लाग्यो र अन्ततस् बन्दुक छाडेर कलम रोजे र ऐतिहासिक शान्ति सम्झौतामा मोब्लाँ ःयलतदबिलअ कलमले हस्ताक्षरको सही धस्काए। यो सम्झौताको मात्र हैन, उनले हस्ताक्षर गरेको जर्मन मोब्लाँ विलासी र अति महँगो कलमको पनि चर्चा खूब चल्यो। चर्चा नचलोस् पनि किनरु कम्तिमा चालिस हजार रुपैयाँ देखि करोडौं सम्म पर्ने कलम सर्वहारा नेताले भिरेपछि। अब तपाईं नै भन्नोस् कलमले नेतालाई चर्चित बनायो कि नेताले कलमलाई। बिचरा नामी नेताका पुत्रलाई यो कलम उपहारमा आएको भनेर स्पष्टीकरण दिँदै हिड्दैमा हैरान भएको थियो। हुन त यस्तो कलम जनयुद्धमा जंगल तिर भेटिने कुरो पनि त भएन नि, कि कसो।

कतै बाटोमा भेट्टाए वा कुनै महान महानुभावले यस्तो महँगो कलम म लाटालाई उपहार दिए, म त सुत्दा पनि त्यही कलम भिरेर सुत्थेँ। सपना पनि त्यही कलम जस्तै दामी देखिन्छ कि के थाहारु तर अफसोच१ आफ्नो त अर्कै कहानी छ कलमको। अलि पहिले जन्मेर हो कि क्या हो, आफ्नो पहिलो कलम थियो खरी। हो हजूर, खरी ढुङ्गा। अहिले जस्तो जन्मना साथ ट्याबलेट पाटी कहाँ हुनु त्यो बेलाँ। शुद्ध काठको पाटी थियो । चारपाटे र मास्तिर थेप्चो समाउने भएको, थेप्चो समाउने भागमा प्वाल र प्वालमा झुन्ड्याउने डोरीको टुक्रा। यस्तै पाटीमा खरीले कपूरी क, खरायो ख लेखेको थोरै थोरै झझल्को अझ पनि छ मलाई।

म अहिले पनि सम्झन्छु मेरो पहिलो पाठशाला अर्थात् स्कुल ( श्रीचण्डी विद्याश्रम, नकबहिल, पाटन ९ ललितपुर)। यो स्कुल हाम्रो घर नजिकै बौद्ध बिहारमा थियो। म आधा कक्षामा पढ्थेँ। उबेला नर्सरी, केजी भन्ने थिएन। पढाई आधा कक्षाबाट शुरु हुन्थ्यो। उक्त बिहारको भजन डबलीमा परालको सुकुलमा बसेर हामी पढ्थ्यौं। त्यही नै हाम्रो कक्षा थियो। बिना झ्याल, बिना ढोका र बिना ब्ल्याक बोर्डको। कक्षासंगै बडेमानको मूल ढोका थियो र उक्त ढोका प्राय आग्लो लगाएर बन्द गरिएको हुन्थ्यो। शायद केटाकेटीरु स्कुलाट भाग्छन् भनेर होला। उक्त ढोका हाफटाइममा मात्र खुल्थ्यो।
स्कूलको हाफटाइमको पर्खाइमा स्कूल बाहिर दुई जना बरफवाला हुन्थे। एकजना ठूलो बरफको बाकस लिएर बस्थे, उनले पानी बरफ बेच्थे। सुन्तला रंगको पानी बरफको तीन पैसा पर्थ्यो। अर्का बरफवाला भने ठूलो थर्मसमा खुवा बरफ बेच्थे। खुवा बरफ भने दस पैसाको आउँथ्यो तर पाँच पैसाले आधा पनि किन्न पाइन्थ्यो। आफूसँग भने बरफ खाने पैसा हुन्थेन। कहिलेकाही आमाले दुई चार पैसा दिनुहुन्थ्यो। कहिले काहिँ भगवानलाई चढाएको पैसा भेटिन्थ्यो। अन्यथा धेबा मदु।

अँ, फेरि गरौं पढाइको कुरा। हाम्रो पहिलो मास्टर थिए काइँलाल दाई। उनको नाम हो काजीलाल महर्जन। उनी थिए स्कूलका पाले, पिउन र हाम्रा गुरु। उनले अ आ इ ई भन्थे, हामी दोहराउँथ्यौ। हामी केटाकेटीरू मध्ये कसैले चकचक गर्यो भने 'हे मस्त  दाये माल्ला' हे केटाकेटी हो पिट्नु पर्यो भनेर तर्साउँथे। उनले कसैलाई पिटेको भने मलाई सम्झना छैन। स्कूलको घण्टी पनि काइँलाल दाईले नै बजाउँथे। हामीलाई मनपर्ने पनि काइँलाल दाईको घण्टी हुन्थ्यो र उनले कहिले घण्टी बजाउँछन् भन्ने पर्खाइ रहन्थ्यो। धेरै वर्ष पछि स्कूलको स्वर्ण जयन्तीमा हामी पूर्व विद्यार्थीरूले स्कूलका सस्थापकहरूसंगै हाम्रा काइँलाल दाईलाई पनि सम्मान गरेका थियौं एक भव्य समारोह बीच। उनी र हामी साह्रै खुसी भएका थियौं त्यो दिन।

अँ त, फेरि फर्कौं कलम तिर। त्यो खरीको कलम नीक्कै समयसम्म फेरिएन। काठको पाटी फेरिएर स्लेट पाटी आयो। त्यो पनि फेरियो र कालो टीनको पाटी आयो। तर खरी उही नै थियो। टीनको पाटी आएको केही समयपछि बल्ल खरीबाट चकमा पदोन्नति गरियो। चकको के समस्या थियो भने यसले धूलो झार्थ्यो। र, चकको धूलोको बानी हामीलाई परिसकेको थियो। एकदिन बुवाले गजबको चकको टुक्रा ल्याइदिनु भयो। यसले बिल्कुलै धूलो झार्थेन र स्पष्ट लेख्ने चिल्लो चक थियो। त्यो दिन म साह्रै खुसी भएँ। त्यो मोब्लाँ कलम पाएर नामी नेता के खुसी भए होलानरु किनकि त्यस्तो चिल्लो चक न अरु कसैसँग थियो न त हाम्रो स्थानीय सामुदायिक स्कूलमा यस्तो चक थियो। बुवा अमेरिकी सहायतामा सन्चालित कलेज अफ इजुकेशनमा पढाउनु हुन्थ्यो र त्यतैबाट त्यो चिल्लो चकको टुक्रा ल्याउनु भएको रहेछ । मेरा लागि त्यो दिन नै कुनै पार्कर, शेफर, ल्यामी वा पाइलट पेन पाएको दिन जस्तो भयो।

तीन कक्षा पुगेपछि बल्ल शीसाकलमले लेख्न पाइयो। शिसाकलमले लेख्दा अलि उदेकलाग्दो हुन्थ्यो। लेख्न थाल्यो कलमको टुप्पो प्याट्ट भाँचिने। कहिलेकाही त कलम लेखेर होइन ताक्षेर सकिन्थ्यो। रमाइलो। शिसाकलम ताक्ष्न सजिलो थिएन। ताक्ष्न बुवाले चक्कु प्रयोग गर्नुहुन्थ्यो तर हामीले चक्कु चलाउन नपाइने भएकोले बुवाले दाह्री काटेर काम नलाग्ने भएको पत्ती अर्थात् ब्लेड प्रयोग गर्नुपर्थ्यो। धेरै पछि पेन्सिल कटर भन्ने जिनिस आयो। पेन्सिल कटरमा ताक्षेको शिसाकलम तीखो हुने भएकोले मसिनो राम्रो लेख्थ्यो।

मेरो विचारमा कक्षा सातदेखि मात्र फाउन्टेन पेनले लेख्न पाइयो। कलमको तल्लो भाग खोलेर मसी भर्नुपर्थ्यो त्यस्तो कलमले धेरै सतायो। हातभरि मसी लाग्ने, कहिले पोखिने, कहिले चुहिने अनेकन समस्या। मसी सोस्ने ब्लोटिन पेपर प्रयोग गरेपछि समस्या अलि हल्का भयो। म हाईस्कूल पुगेपछि बल्ल पिचकारी जस्तो मसी तान्न मिल्ने कलम आयो। यस्ता कलमहरू मध्ये सबभन्दा चलन चल्तीको र राम्रो कलम फ्लेम नामको हुन्थ्यो। मसीमा चेल्पार्क र पेलिकन बेस मानिन्थ्यो। फ्लेम पेनले लेख्नुको मजै अर्को थियो। हुन त त्यो बेला बजारमा हिरो र युथ नामको चाइनिज कलम पनि आउँथ्यो। त्यस्ता चाइनिज कलममा मसी तान्ने रबरको सानो ट्युब हुन्थ्यो। मसिनो र सफा लेख्ने यस्ता कलमहरू महँगा थिए, त्यसैले आफूलाई भने भारतीय कलम फ्लेम मै चित्त बुझाउनु पर्दथ्यो।

हुन त त्यस बेला डटपेन जसलाई हामी आजकल बलपेन भन्छौं पनि थियो। बीच बीचमा रोकिने र बरोबर छाद्ने भएकोले त्यति चल्थेन। अक्षर राम्रो नहुने र भरपर्दो नभएर विशेष गरेर परिक्षामा डटपेन लग्ने आँट कसैको हुन्थेन। तर पछि थाइल्यान्डको मोनअमिु डटपेन आउन थालेपछि यो कलम कम छाद्ने भएकोले धेरैले मन पराउन थाले। मैले ठीक सम्झेको भए त्यसको मूल्य चालिस पैसा थियो। मात्र चालिस पैसा।

म भारतमा पढ्न बस्दा त्यहाँ विदेशी सामान पाइँदैन थियो। त्यसैले विदेशी सामानको ठूलो लालसा भारतीयहरूमा थियो। त्यसैताका, एकपल्ट ट्रेनमा सफर गर्दा ट्रेनका टिकट चेकर टिसीलाई मोनअमी कलम दिंदा त्यसमा लेखेको मेड इन थाइल्यान्ड पढेर मख्ख पर्दै हामीलाई स्लिपर सिट मिलाई दिएको सम्झना अहिले पनि ताजै छ। हाम्रो होस्टेलको मेसका म्यानेजर पनि जहिल्यै हामीले दिएको मोनअमी कलम पाएर दंग पर्दथे।

जागिर खान थालेपछि पार्कर पेन, शेफर पेन, वाटरम्यान पेनको बारे जान्न थालियो। यी महँगा कलमले कस्तो लेख्दो हो भन्ने कौतुहलता जहिल्यै रह्यो। एकदिन अकस्मात् न्यूरोडको एक फ्यान्सी पसलमा रहेको पार्कर पेनमा मेरो आँखा प(यो। कत्तिको महँगो छ हेरौं भनेर साहूजीसंग मोल सोधेँ। मोल मैले सोचे भन्दा अलि कम नै थियो। पुरुषको गहना भनेको कलम हो भन्ने सम्झँदै अन्ततस् जीवनको पहिलो पार्कर पेन किनियो। धनुषको बाण आकारको क्लीप भएको पार्कर पेन शानका साथ भिरियो। तर, त्यो कलमको मसी धेरै टिकेन, साथै कलम अलि छाद्थ्यो पनि। न साहूले नक्कली भिडाए कि जस्तो पनि लाग्यो।

अब बजारमा अरुपनि राम्रा कलमहरू देखिन थाले। ती मध्ये डिस्पोजेबल पाइलट पेन धेरै प्रसिद्ध थियो । अरु सामान्य कलमहरू भन्दा थोरै महँगो तर पार्कर पेन भन्दा सस्तो यो कलम सरर् लेख्ने र धेरै टिक्ने, मजाको कलम। पछि यो कलम अफिस तिर पनि चल्न थाल्यो। त्यसपछि आफू पनि यो कलम तिरै लागियो।

रहँदा बस्दा जीवनमा समयले अलि फुर्सदिलो बनाई दियो। अब बिस्तारै अलिबढी लेखपढ गर्न लागियो। कम्प्युटरमा किताब पढ्न खासै समस्या भएन। कम्प्युटरमा नेपाली लेख्न भने थोरै समस्या प(यो। विचारको वेग सिधै कम्प्युटरमा उतार्न सकिएन। कम्प्युटरमा नेपाली टाइपको रफ्तार कम भए पछि पहिले पेन्सिलले लेख्ने अनि बल्ल बिस्तारै टाइप गर्ने काम गर्न थालियो। तर मित्र प्रकाश सायमीको ुकाठमाण्डू सेल्फीु पुस्तकमा एउटा कलमको सम्मानमाु निबन्ध पढेदेखि पेन्सिल हैन अलि राम्रो कलमले लेखे अझ राम्रो लेख्न सकिन्छ कि भन्ने विचार मनमा जन्मायो। राम्रो कलमको चाह पनि ब्युँतायो।

होइन यस्ता नामी कलम कुन कुन नामी मानिसले भिर्दा रहेछन् भन्ने बुझ्न मन लाग्यो। प्रकाश सायमीले उनको पुस्तक काठमाण्डू सेल्फीमा भने जस्तै संसारकै विलासी कलम मोब्लाँ नेपालमा माथि वर्णन गरिएका नेता प्रचण्ड बाहेक उनी आफैसंग पनि छ। त्यो पनि दुईवटा। एउटा उपहार पाएका र अर्को बाजी मारेका। आफूलाई कसैले त्यति महँगो कलम उपहार देलान् जस्तो सपनामा पनि लागको छैन। रह्यो बाजीको कुरा, प्रकाश सायमी पो साहित्य, संगीत र सिनेमाका चल्ता फिरता ईन्साइक्लोपेडिया हुन् स फोटोग्राफीक मेमोरी भएका व्यक्तित्व। आफू परियो अहिलेको भरे भुल्ने भुलक्कड।

विश्वका महान वैज्ञानिक अल्बर्ट आइनस्टाइनले जर्मन पेलीकन १०० एन कलम चलाउँथे रे। उनले आफ्नो संसार प्रसिद्ध सापेक्षवादको सिद्धान्त पनि यही कलमले लेखेका त हैनन्, जान्न मन छ। विश्व प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन भने कन्कलिन क्रेसेन्ट फिलर कलमले लेख्थे। अझ उनी कन्कलिन पेन कम्पनीका आधिकारिक प्रवक्ता समेत थिए। उनले भन्ने गर्दथे कि उनलाई यो कलम टेबलमा गुड्केर नजाने भएर मन पर्छ।

हाम्रा साहित्यकारको कुरा गर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कान्छी औला जत्रो शिसाकलम भएपनि लेख्न पुग्थ्यो रे। प्रसिद्ध निबन्धकार शंकर लामिछानेले आफ्नो निबन्धमा यसबारे जिकिर गरेका छन्। उनलाई मुना मदन, लक्ष्मी निबन्ध सँग्रह र अन्य कालजयी महान कृति सिर्जना गर्न न मोब्लाँ, न वाटरम्यान न त कुनै अन्य विलासी कलम चाहियो। न उनले ठीक्कैको पार्कर वा शेफर पेन नै चलाए होलान।

साँच्चै विचार गर्ने हो भने सिर्जनात्मक विचारको वेगलाई कागजमा उतार्दा कलमका कारणले त्यो रोकिनु हुन्न। अन्य कुरा गौण हुन्, तपसिलमा राख्दा फरक नपर्ला। राम्रो सृजना जुनसुकै कलमले सिर्जिए पनि राम्रै हुन्छ। सिद्धीचरण श्रेष्ठलाई ुमेरो प्यारो ओखलढुंगाु कविता कोर्न पक्कै विलासी कलम चाहिएन होला। त्यसैले आजकल घरमा लेख्न खरर् लेख्ने पाइलटको जेलपेन जुगाड गरेको छुँ। तर नढाँटी भन्नू पर्दा कुनै दयालु व्यक्तिले आदर गरेर कुनै दिन कुनै महँगो विलासी कलम उपहार दिन्छन् भने सधन्यवाद स्विकार्ने लालसा मनमा भने सदा छ। महँगो कलम हैन दयालु व्यक्ति पो भेटिन गाह्रो भो। नत्र यो निबन्ध कुनै स्तरीय पत्रिकामा छापियो भने आफूले आफैंलाई पुरस्कृत गर्दै ठीकैको जर्मन ल्यामी कलम भिर्ने सूरसारमा म पनि छुँ, यसो समाजमा देखाउनु पनि त पर्यो नि। जमाना नै देखावाको जो छ। कि कसो पासा?

प्रतिकृया दिनुहोस