एनआरएनको स्थानीय निकाय निर्वाचनमा भूमिका हुन्न?

  • Get News Alerts

देशले एक चरणको निर्वाचन भर्खरैमात्र सम्पन्न गरेको छ र परिणाम आउनेक्रम अझै जारी छ ।  करिब २० वर्षपछि जनताले आफ्नो इलाकामा आफ्ना प्रतिनिधिहरुसँग गठजोड गर्ने मौका पाएका छन् एकहदसम्म स्थानीय निकायको निर्वाचन गरेर सरकारले आफ्नो दायित्व पूरा गरीसकेको अवस्था हो ।

निर्वाचन आयोगद्वारा करिब ७० प्रतिशतभन्दा धेरै मतदाताहरुले आफ्नो अभिमत जारी गरीसकेको जानकारीमा आएको छ । सायद यो स्तर अझ बढ्न सक्ने थियो होला यदि सरकारीसंयन्त्रमा विदेशमा रहेका नेपालीहरुलाई पनि निर्वाचनमा समाहित गराउने केही आधारहरु खडा गर्नसकेको भए।  प्रजातन्त्रको पुनःस्थापना २०४६ पछि अधिकांश युवाहरु विदेशीने क्रम दिनहुँ बढीरहेकै छ। त्यतिबेलाको माओवादी द्वन्द्व साथै सरकारीपक्ष र माओवादीपक्षद्वारा विस्थापित गरिएका, उनीहरुको जायजेथा कब्जा गरिएर विदेशीने बाध्य भएका नेपालीहरुको पहिचान गरिनुपर्दछ। साथै विस्थापितलाई पुर्नस्थापित गराइनु पर्दछ र ऊ बेलाको एमालेको ‘आफ्नो गाउँ आफैं बनाऊ’ भन्ने नारालाई वा जुनसुकै पार्टीका ‘गाउँ फर्क’ भन्ने अभियानलाई सार्थक तुल्याउन आवश्यक छ ।

यसका लागि अबका जनप्रतिनिधिहरुले निष्पक्षरुपले नागरिकप्रति उत्तरदायी भएर कार्यगरिदिएमा पनि विदेशी मरुभूमीमा आफ्ना श्रम र पसिना बगाइरहनुभन्दा आफ्नै गाउँमा आएर मेहनत गर्ने चाहाना हुँदोहोला । गैर आवासीय नेपाली संघको स्थापना र सक्रिय एकदशकभन्दा बढी भैसकेको छ । यस संस्थासँग जोडिएर विभिन्न देश घुम्ने क्रममा विदेशमा बस्ने नेपालीहरुको चाहना, मन र भावनालाई अवलोकन गर्दा यस्तो लाग्दछ मानौं हाम्रो कर्ममा विदेशीने लेखेको छ र भाग्य भन्ने कुरा नै ‘भिसा’ हो भन्ने चेतना आजका हरेक नागरिकका मानसिकतामा अडेको छ।

 यो भ्रम र दुषित भावनालाई चिर्न पनि अबका जनपतिनिधिले स्थानीय तहमा उदाहरणीय कार्य गरी विकासका बजेटलाई सहि ठाउँमा सहि सदुपयोग गरिदिएमा पनि  युवाहरुमा एउटा आशा पलाउने निश्चित छ । देश बनाउने नै स्थानीयतहको जगबाट हो जहाँ यूवाहरुको अत्यन्तै सक्रिय भूमिका हुन्छ ।

विकास निर्माणका काममा जनप्रतिनिधिहरुले यो वा त्यो पार्टीको नाममा नभै समाज र देशका नाममा नागरिकको सेवा गर्नु हो । कसरी र कुन किसिमबाट नागरिकलाई सुलभ हुन्छ भन्नेकुरा जनप्रतिनिधिहरुले नागरिकसँग प्रत्यक्ष सम्बाद गर्दछन् हामी विदेशमा बस्दा ती देशका राजनीतिक व्यक्तित्वसँगको अन्तरसंवादमा यी कुराहरु पाउँछौ ।

 विदेशमा वसेर एकखालको सीप सिकिसकेका बिदेशका बसाईँबाट दिक्क भैसकका र बिदेशमा खासै जम्न नसकेका प्रवासका नेपालीहरुको अबको अभियान शारिरीकरुपले उपस्थिति भएर नै श्रमदान गर्ने हो । जो विदेशी भूमिमा छन् र उनीहरु उतै रमिरहेका छन् उनीहरुले पनि आफ्नोस्तरअनुसार आफ्ना इलाकाहरुमा जुनसुकैरुपले उपयुक्त हुने खालका काम जो विकास निर्माणका अभियानमा होस्टेँमा हैंसे गर्ने हो यसका लागि बातावरण तय गर्न अबका जनप्रतिनिधिहरुको काँधमा हुनेछ ।

हाम्रो अबको मूल प्रश्न के होला भन्नेकुरालाई आत्मसाथ गर्दा देशले प्रजातन्त्र र लोकतन्त्रमाथीको प्रहार भोगिसकेका छ । १७ हजार नागरिकले आफ्नो देशकालागि आफ्नो ज्यान बलिदान दिईसकेका छन् । विभिन्न पार्टीका बरिष्ठ नेताहरु हुकुमी शासनअन्र्तगत बन्दी बन्न बाध्य भैसकेका पनि हुन् त्यसैले लोकतन्त्र सुदृढीकरणका लागि देशका राजनैतिक नेताहरुसँग अनुभवको कमी छैन । यी सबै भारहरुले खेप्दै दुइदशकपछि सम्पन्न हुनपाएको यस निर्वाचनमा प्रवासमा बसेर भागलिन नपाएपनि देशको राजनीतिमा गहिरो चाँसो राख्ने युवाहरुलाई यस निर्वाचनले एउटा उत्साह भने थपेकै छ । भलै फेसबुक र ट्वीटरमा पार्टी विशेषका नेताहरुलाई यो वा त्यो बहानामा आपूm र आफ्नो पार्टी अनुकूल पार्र्दै अपाच्य शब्द ओकल्दैमा  हुने केही होइन । जिम्मेवार नागरिकको कर्तव्य र दायित्व अब प्रवासमा रहेका हामी नेपालीबिचमा पनि आएको छ ।

यस स्थानीय निर्वाचनमा प्रवासमा रहेका अधिकांस नेपालीहरु किन भाग लिन सकेनन् भन्ने मूल प्रश्न सायद जो कोहीलाई पनि लाग्दो हो किनकी आफ्नो देशको निर्वाचनमा आफूले मनपराएका आफूद्वारा चुन्न पाउने अधिकार गुमेकै हो तर यसो भन्दैगर्दा ‘हुन्छ’ र ‘हुन्न’ का बीच अन्तिममा आएर मधेसबादी दलहरुसँग सहमती भैसकेपछि यसले देशमा निर्वाचनको आशा जगाएको हो । अधिकांस प्रवासमा बस्ने नेपालीहरुले यिनै अन्योलकाबीच आफ्नो यात्रालाई पहिल्यै नै ‘कन्फर्म’ गर्न सकेनन् । निर्वाचन आयोगद्वारा जारी निर्वाचन परिचयपत्रमा अधिकांसको नाम छुटेकाले ‘भोट दिन पाउने होइन गएर पनि’ भन्ने भावना जागृत हुनआयो । करिब ५० लाख विदेशीइएका नेपालीहरु अहिले एकचरणको निर्वाचन सम्पन्न भैसकेपछि एउटा उत्साह भने थपेकै छ । त्यो के भने द्वन्दको जर्जरबाट भर्खरै उठेको र संविधान कार्यान्वयनको मुख्य मुद्दामा रहेको यस अवस्थामा अब देशले गर्ने भनेको काम केवल नागरिकको आर्थिक स्थितिलाई मजबुत बनाउनु र विकास निर्माणका कार्यहरु गर्नु हो । यसका लागि विकास निर्माणमा अब देश जान्छ भन्नेकुरा आम प्रवासीइएका नेपालीहरुको भावना पाइन्छ ।

देशले निर्वाचनको एउटा ‘कोर्श’ पुरागरिसकेको यस अवस्थामा जनप्रतिनिधिसहितको स्थानीयतहको विकास निर्माण कार्यमा गैर आवासीय नेपाली संघ (एनआरएनए)मा पनि छुट्टै उत्साह थपेको छ । देशको संविधान र कानुनद्वारा स्थापना भएको यस संस्था आफैंमा भैपरी आउँदा देश र नागरिकका लागि ‘पिलर’ का रुपमा खडा हुन्छ भन्नेकुरा हाम्रा विगतका अग्रजहरुका काम गराई र वर्तमान हाम्रा समकालिन साथीहरुको सक्रियताबाट पुष्टि हुन्छ । साथै अबका दिनमा हामीहरु स्थानीय जनप्रतिनिधिहरुसँग मिलेर कार्य गर्न सहज हुनेछ भन्नेकुरामा हामी आशावादी हुनेछौं ।

दैवीप्रकोप र राहतका कामहरुमा संलग्नता हुँदा साथै भूकम्प पीडितका लागि गैर आवासीय नेपालीसंघद्वारा केही जिल्लामा बनाउन लागेका पुर्नवासका योजनाहरुमा जनप्रतिनिधिविहिन स्थानीयस्तरमा अलिकति असहज परिस्थिति र सुचारुमा ढिलापन हुन्थ्यो ।  सरकारी संयन्त्रबाट सुस्त मन्दगतिको सामना संघले कताकता अनुभव गरेको पाइन्छ । अव त्यो स्थिति नरहनेकुरा निश्चित देखिन्छ ।  अबका दिनमा हाम्रा योजनाहरु, लगानी र राहत सिधैं जनप्रतिनिधिमार्फत जनस्तरमा पुग्नेछ भन्ने कुरामा ढुक्क छौं । एनआरएनएहरुको भूमिका जनतासँग प्रत्यक्ष रहनेछ र विदेशमा वस्ने नेपालीहरुले नेपालभित्र देशका जुनजुन आवश्यक ठाउँमा राहत पु¥याउन पनि सजिलो हुनेछ भन्ने हो र एनआएनको महत्व र भूमिका अब जनताले महशुस गर्न पाउनेछन् भने हो ।

 लेखक गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव हुन् ।

प्रतिकृया दिनुहोस