अमर प्रीति

  • Get News Alerts

बिहान उठेर घर धन्दा सक्नासाथ घर नजिकैको मन्दिरमा गएर पूजा गर्नु प्रीतिको दिनाचार्य जस्तै बनेको छ। पूजा गरेर उनले केहि पाउनु वा गुमाउनु भन्दा पनि उनले आफ्नो मन शान्त भएको महशुस गर्छे। त्यसैले खुला मनले दिनहुँ पूजा गर्छे।

 प्रीतिको ४ बर्षे छोरो छ। जब प्रीति पूजा गर्न मन्दिर छिर्छे तब छोरोले अचम्म मान्दै आमालाई लुकिलुकि चिहाईरहन्छ। उसले के बुझेको छ वा छैन त्यो आफ्नो ठाउँमा छ तर एक दिन होईन, दुई दिन होईन, उ दुई खुट्टाले टेकेर हिड्न सक्ने भएदेखि नै चिहाईरहेको छ। प्रीतीले पूजा सकेर घर आउनासाथ छोरोलाई टिका लगाएर आशिर्वाद दिन्छे।

एकदिन प्रीति मन्दिरमा पूजा गर्दैगर्दा छोरो दौडेर आमा भएको ठाउँमै जान्छ र एकाएक प्रश्न गर्छ। 

आमा के गर्नुभएको ? 

पूजा गरेको बाबु ! आमाले जवाफ दिन्छे। आमाले जवाफ सक्न नपाउँदै छोराले फेरी प्रश्न गर्छ। 

आमा ! यो पूजा गर्यौ भने के हुन्छ ? 

भगवानले रक्षा गर्छन् बाबु। 

उसो भए भगवानले हाम्रो बाबाको रक्षा किन गरेनन् त?? बाबाले पूजा गर्नुहुँदैनथ्यो हो ?? 

छोराको यो प्रश्नले प्रीतिलाई मुटुसम्मै चसक्क बिझाउँछ। उसको श्वास नै रोकीएला जस्तो हुन्छ। प्रीतिले आँफुलाई सम्हाल्ने कोशिष गर्छे तर आँखाले सम्हालिन मान्दैन र पोखिदिन्छ दुई थोपा आँसु। छोराले निन्याउँरो मुख बनाएर आमालाई हेरीरहन्छ। प्रीतिले हतपत छोरालाई काखमा लिन्छे। 

छोरो बुझ्ने हुन थालिसक्यो। अलि सानो छँदा बाबा खै भन्दा भोलिपर्सी आउँछन भनेर फकाउँथी तर अचेल पत्याउँदैन।

उसले दिनभर हरेक बहानामा आफ्नो मन भुलाउन खोज्छे तर सबै प्रयासहरु बिफल हुन्छन्। छोराको एक प्रश्नले उसको मनमा सयौँ पीडाहरु बल्झाईदिएको छ। प्रीतिले जे कुरा जिन्दगीभर सम्झन चाहँदिन त्यहि कुराले बारम्बार झस्काईरहेको छ। प्रीतिको मनलाइ बारम्बार बिथोलिरहेकोछ। अतितहरु बल्झाइदिएको छ।  

***

कुनै बेला अमर र प्रीतिको प्रेम पनि अरु कसैको भन्दा कम थिएन। उनिहरुको दुई बर्षको प्रेमसम्बन्ध पश्चात बिबाह बन्धनमा बाँधिएका थिए। उनिहरुसँग प्रशस्त धन सम्पति थिएन तर साँझ बिहान छाक टार्न मुस्किल थिएन। उनिहरु दिनभर खेतबारीमा काम गर्थे र जिबिका चलाउँथे। 

गाउँलेको हरेक दुखमा पनि अमरले खुलेर सहयोग गर्थ्यो। गाउँलेले पनि अमरलाई असल मान्छेको रुपमा हेर्थे।  गाउँमा मर्दा–पर्दा, भोज भतेरमा त झन अमरले रात दिन खटेर काम गरीदिन्थ्यो र त सबैले अमरलाई हाईहाई गर्थे। गाउँकै धन्सारे माईलाको छोरी रिताको बिहेमा हो अमर र प्रीतिको देखादेख भएको। प्रीति ठुलोबुबाको छोराको बिहेमा जन्ति आएकी थिई भने अमर रिताको बिहेमा सघाउन गएको थियो। हँसिलो फुर्तिलो अमरलाई देख्नासाथ प्रीतिले अमरलाई मन पराएकी थिई। पछि दुबैले एक अर्कालाई मन पराए। संगै जीवन जिउने निर्णय गरे। अन्ततः बिहे नै गरे । 

देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो।  उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो। 

एकदिन पानि बेस्सरी परीरहेको थियो, मध्यरातमा अज्ञात समुह अमरको घरमा छिर्यो र अमर र प्रीतिलाई आँफुहरुसँग हिँड्न धम्कि दियो। उनिहरु मानेनन्। उनिहरुले जवरजस्ति लैजान खोजे। त्यतिनै बेला, प्रीति गर्भवति रहेको थाहा पाएपछि प्रीतिलाई छोडेर अमरलाई मात्र लैजान खोजे। प्रीतिले धेरै अनुनय बिनय गरी, रोई कराई, तर उसको चित्कार सुनिदिने कोहि भएन। अन्ततः प्रीतिलाई मध्यरातमा एक्लै छोडेर अमरलाई अज्ञात समुहले लगे। 

उसले हाईगुहार गरोस् पनि कसलाई? नजिक अरु कसैको घर थिएन। टाढा एक्लै जान मध्यरातमा हिम्मत आएन।प्रीति त्यो दिन राति रोएर, छटपटाएरै बिताई।

उज्यालो हुँदा उसका आँखाहरु देख्दै रगत चुहिएला जस्तै रातो देखिन्थ्यो। उसले रातिको सबै घटनाहरु गाउँका काजि बा लाई सुनाई। उतिबेलै गाउँभरी हल्ला चलिहाल्यो। कसैले भने अमरलाई माओवादीले लगे त कसैले भने सेनाले लग्यो तर निचोडमा कोहि पनि पुग्न सकेनन्।  आखिर जसले लगेपनि प्रीतिको काखबाट अमर खोसिएको थियो। प्रीतिको खुशि पनि अमरसँगै अपहरण गरीएको थियो। चखेवाको जोडी खोसिएजस्तै एक्ली भएकी थिई। 

प्रीतिले अमर आउने बाटोतिरै नजर बिछ्याएर दिनभर कुरीरही। उसका मनले अनेक अड्कलबाजी गरे। उसले अचानक सोँचि, यदि अमर फर्कि आएन भने?? उसको ज्यानमा चिरचिर पसिना आयो। हात खुट्टाहरु लगलग काप्न थाले। केहि बेरमै उ अचेत भई। 

ऊ होसमा आउँदा झमक्क साँझ परीसकेको थियो। सधैँ कानै खानेगरी चिच्याउने झ्याउँकिरीहरु पनि बास बसीसकेका थिए। घरको मुलढोकाकै आडमा गुड बनाएका गौँथलिहरु पनि चहारा बोकेर गुँडमा फर्किसकेर बच्चालाई चहारा खुवाउँदै थिए। तर प्रीति त एक्ली भएकी थिई, नितान्त एक्ली। 

उ कहिले जाउलो पकाएर खान्थि नत्र भोकै सुतिदिन्थि। उसलाई भोक र तिर्खाको मतलब हुनसमेत छाडिसकेको थियो। उसका दुई आँखाहरु केवल रुन मात्र जानेका थिए। सोँच्थी, सबैभन्दा राम्रो सम्बन्ध त यिनै आँखाहरुको रहेछ। एउटा आँखामा धुलो पर्दा दुबै आँखा रोईदिन्छन्। सँगै निदाउँछन्, सँगै चिहाउँछन्। तर जिन्दगीभर एकले अर्कोलाई देख्न पाउँदैनन्, भेट्न पाउँदैनन्। तर मान्छेमा यो नियम लागु नहुने रहेछ। मनमनै अड्कल लगाउँथी। 

अमर अपहरणमा परेको पनि हप्ता दिन हुन थालिसकेको तर केही अत्तोपत्तो थिएन। गाउँमा कसैलाई दुख पर्दा अमर मरी मेटेर सहयोग गर्थ्यो तर आज प्रीतिलाई आपत पर्दा कोहि गाँउलेहरु फर्केर आएनन्। बरु उसका माइतीहरुले थाहा पाएछन् र प्रीतिको घर आईपुगे। प्रीतिका मुखबाट कुनैपनी शब्द निस्किएन बरु उसले बगाएका आँसुले सबै बृतान्त बताईदिए।  

प्रीतिको अवस्था नाजुक त थियो नै। प्रीतिको पेटमा हुर्किदै गरेको बच्चाको ख्याल गर्नुपर्ने जिम्मेवारी माइतीमा थियो। प्रीतिको दुःख देख्न सकेनन् र माइती लिएर गए। 

 महिना दिन बित्दा नबित्दै अर्को दुखद समाचार प्रीतिको कानमा बजारीन पुग्यो। ”अपहरणकारीले अमरलाई मारीदिए रे !” उति नै बेला सिंगो आकाश खसेर प्रीतिको टाउकोमा बजारीए जस्तो भयो। सारा पृथ्वी तिब्र गतिमा घुम्न थाल्यो। उ पुनः सम्हालिन असफल भई र फालिई चिसो मझेरीमा। 

 उसले अमरलाई अन्तिम पल्टसमेत देख्न पाईन। उसलाई पटक्कै बिश्वास लागेको थिएन। उ चाहन्थी, यी सबै खबर झुठा हुन्, उसको अमर फर्केर आओस् तर सबैले मृत्युको खबर स्विकारे। 

 कहिँ कतैबाट हुण्डरीसँगै आएको अमरको मृत्युको खबरले प्रीतिको मनमा रहेको झिनो आशामा पनि डढेलो लाग्यो। उसको रंगिन जिवन एकाएक उजाडियो। उसका खुशिहरु एकाएक आँसु बनेर बगे। उसले देखेका स्वर्णिम जिन्दगीका सपनाहरुसँगै उसको शिरमा सजिएको सिन्दुर पखालियो। उसका रंगिन सपनाहरु सँगै उसले लगाएका लुगाहरु पनि सबै सेता भए। उसको हातमा भरीएका चुराहरु धेरै दिन टिक्न पाएनन्। 

 प्रीतिले केही समय माइतैमा बिताई। उसको कोखबाट छोरो जन्मियो। उसले छोराको अनुहार नियाली। उसले त्यो अनुहारमा अमरलाई भेटी। उ प्रीतिका लागी जिउने सहारा भएर जन्मिएको थियो। उ प्रीतिको एक मुठी खुशी भएर जन्मिएको थियो।

छोरो पाएपछी प्रीतिको ओंठमा पनि एक पटक खुशी देखियो। माइती पनि खुशी भए। तर प्रीति जन्मिएको ठाउँ, बाल्यकाल बिताएको ठाउँको समाज भने खुशी भएन बरु माइतीमा आएर छोरो जन्माएको आरोप लगायो। कतिले त अमरको बच्चा नै हैन समेत भन्न भ्याए ! जसले जे भनेपनी प्रीतिले ककसको मुख टालेर सक्थी र? गावैँभरी अनावश्यक हल्ला चल्यो।

गाँउमा हल्ला चल्दा सम्म त सहेकै थिई तर त्यो हल्ला माइतीघरमै समेत सल्कियो। सुत्केरीको स्याहार सुसार गर्ने बेलामा भाउजुहरुले गाउँलेको कुरा सुनेर वास्ता समेत गर्न छाडे। प्रीतिलाई बाबा आमाको खुब नियास्रो लागेर आयो। आज सम्म मेरो बाबा आमा जिउँदो भैदिएको भए यस्तो पक्कै हुने थिएन। उसले मनमनै अनुमान लगाई तर गुनासो गर्नलाई कोहि पनि उसँग थिएनन्।

उसले भागेर बिबाह गरेको, आफ्नो कुलको ईज्जत फालेको भनेर पहिले पनि भाउजुहरुले प्रीतिकै अघि नै ब्यंग्य गर्थे। अब त झनै हेप्न थाले। प्रीतिले सोँची, यसरी यहाँ हेपिएर बस्नुभन्दा जान्छु आफ्नै झुप्रोमा गएर दुख सुख जिउँछु।

अन्तत: एक दिन बिहानै भालेको डाँकसँगै अरु कसैले थाहा नपाउने गरेर प्रीतीले आफ्नो छोरो च्याँपेर माइतीघर छोडेर कर्मघरतिर हिँडी।

उ घर आएको एक हप्तासम्म पनि आस लागेको थियो। मलाइ माइतीबाट कोहि खोज्न त आउलान् ? तर यो आशा आशामा नै सिमीत रह्यो। कोहि खोज्न आएनन।

घरमा छोरो सुताएर प्रीती आधी घण्टाको बाटो पानी लिन झर्थि। पानी थाप्ने मान्छेहरुले लाम लागेका हुन्थे। उसलाइ पहिले पानी भर्न दिनु त परै जावोस उसको पालामा समेत पानी भर्न पाउँदिनथी। सबैले पानी भरेसम्म पर्खिएर बस्नुपर्थ्यो। अरुले यसरि हेप्दासमेत प्रीति निरीह भएर बस्नु परेको थियो।

प्रीतिलाई त्यो एक दिन अत्याधिक पीडा भयो। जुन दिन प्रीति चाहिँ पानी लिन झर्दै थिई। रिमालनि बुढी आमै खै कता जान निस्किँदै रहेछन्। प्रीतिसँग बाटोमै जम्काभेट भयो। प्रीतिलाई देख्नासाथ धारेहात लाईन्। बिचरी प्रीति केही बुझ्न सकिन। ती आमैले "साइत बिगार्दिई!  असत्तरी! लोग्ने टोकुवा! ठ्याक्क यै बेलामा मुन्टिन पर्नी!" भन्दै सराप्दै आँफ्नो बाटो लागेपछी बल्ल कुरा बुझी। उसलाई मान्छे भएर जन्मेकोमा पहिलो पटक पछुतो लाग्यो। प्रीतिको मनले नानाथरी सोच्न पुगि ! आत्महत्या गर्छु भन्ने पनि सोँचेकी थिई। कताबाट झल्याँस्स छोरोलाई सम्झी। दौडेर गई र रोईरहेको छोरोलाई काखमा लिएर दूध चुसाई।

कसैको सहयोग बिना नै उ हरेर समस्यासंग जुध्न,समाधान गर्न,उ संघर्ष गरेर जिउन तयार भई। उसलाई थाहा भयो आफन्तहरु त सुख र खुशिमा मात्र हुन्छन दुख त आफू एक्लैले भोग्नुपर्छ। उसलाइ थाहा भयो जीवन संघर्ष हो। संघर्ष गरेर जिउन सक्नुपर्छ।

लामो समयपछी उसले एकदिन सुनी! देशमा शान्ती वार्ता भयो रे। माओवादिले जंगल छाडे रे ! अब देशमा शान्ति हुने भयो रे ! फेरि केहि महिना बित्दा नबित्दै सुनी! देशमा ठूलो आन्दोलन भयो रे ! गणतन्त्र आयो रे ! अहँ, प्रीती एक रतिपनी खुशी भैन। आखिर जे तन्त्र आएपनी हुने खानेलाई आउने हो। हामी जस्ता दुखिलाई कसैले केही सहयोग गर्दैन। उसले ओँठ पसार्दै भित्र छिरी।

प्रीतिले पल्लो गाउँको महिला सहकारिबाट ३०,०००/-

रिण लिएर कुखुरा पाल्न सुरु गरेको पनि तीन बर्ष पुग्न थालिसकेछ। अहिले प्रीतिका घरभरी कुखुरा छन ! थोरै धेरै आम्दानी प्रत्येक महिना गर्छे। छोरो पनि चार बर्ष पुग्न थाल्यो। अर्कोतिर  बर्ष देखि त छोरोलाई पनि स्कुल पठाउनुपर्छ ! उसले जति दुख गरेर पनि छोरोलाई धेरै पढाउने दृढ संकल्प गरेकी थिई।

***

उसलाई थाहा छ, घाम सँधै पुर्बबाट उदाउँछन र पश्चिमबाट अस्ताउँछन। जुन पनि त्यसै गर्छन। जुन त झन औंसीमा त देखै पर्दैनन ! सारा संसार नै अन्धकार हुँदा समेत वास्ता गर्दैनन। यी जून पनि उनका आफन्त जस्तै स्वार्थी छन। उ एक्लै भुटभुटाउँदैथिई। त्यो दिन अचम्मै भयो। साँझ पर्नै लागेको थियो। औंसीपक्षमा पनि जून त पश्चिमबाट पो उदाए अर्थात उसको दैलोमा कोहि लोग्नेमान्छे टुप्लुक्क पाइपुग्यो।

उसले नजिकै गएर घोरिएर हेरि। उ अरु कोहि नभएर अमर रहेछ।

उसलाई सपना जस्तो लाग्यो। आँफैलाई चिमोटी!

आथो !! दुख्यो। यो सपना होइन यो त बिपना नै हो। उ पक्का भई।

अमरले बोलायो। "प्रीती"

प्रीतिको खुशिको सिमा नै रहेन। प्रीतिको साक्षात भगवान नै प्रीतिको अघि आइपुगे। उसले जे सोँचेकै थिईन त्यहि भयो। दुबै जना धेरै बेरसम्म अंगालो मारेर रोए। सायद, नौलो मान्छे देखेर होला। छोरो भने नजिक जानै मानेन। केही समय पछि अमरले फकाएर काखमा लियो।

साँझ खाना खाइसकेपछि अमरले आफू बाचेँर आउन सफल भएको कुराको बेलिबिस्तार लायो।

"घरबाट अपहरण गरेर लगेपछि तीन दिनसम्म जंगलै जंगल लगिएछ। अनाकण्टार जंगलमा पुगेपछी थाहा बल्ल आफूलाई अपहरण गर्नुको कारण थाहा पाएछ। गाउँका कसैले सुराकी गरेको आरोप लगाईदिएछन र अपहरण गरिएछ। उसले  आफूले त्यस्तो नगरेको र आफूलाई छोडिदिन पटक पटक  बिन्ती गर्दा पनि छोडिदिएनछन। एक दिन पिसाब गर्न जाने बहानामा अमर भागेछ। त्यो थाहा पाउनासाथ एक हुलले अमरलाइ घेल्दै लगेछन। अमर ठूलो खोलामा फाल हानेछ। धेरै समय नदेखिएपछी अपहरणकारीहरु उ मर्यो भन्ने सोँचेर फर्किएछन।  र अमरको घर तिर मरेको खबर पठाइदिएछन। अमर भने पछि जंगलकै बाटो हुँदै केही महिनामा पूजारीको भेष बदलेर बोर्डर पार गरि भारतको हैदराबाद स्थित एक मन्दिरको शरणमा पुगेछ। "

यदि अमर उतिबेलै घर फर्किएको थाहा पाएको भए तिनै अज्ञात समुहले मार्ने रहेछन। भारतमा हुँदासम्म पनि कुनै नेपालिसंग देखभेट नभएर बस्नुपर्ने बाध्यता रहेछ। पछि देशमा संकटकाल हटेर वार्ता भैसकेको र देशमा गणतन्त्र आएको थाहा पाएपछी अमर आफ्नो जन्मभूमि फर्किआएको रहेछ।

हो, खाएको बिषले त लाग्छ नै ! यो ध्रुबसत्य हो । तर कहिलेकाही नखाएको बिषले पनि लाग्दोरहेछ। मान्छेलाई जीवन र मृत्युको दोसाँधमा पुर्याउँदो रहेछ। अमरले मृत्युलाई नजिकैबाट नियालेर घर फर्किएको छ। जे जस्ता आरोह अबरोह आईलागे पनि अमर र प्रीतिको प्रेम अमर रह्यो। र मैले लेखेको "अमर र प्रीती"को कथा पनि सकिएको छ।

***

भोलि पल्ट सबेरै छोरो उठ्छ र दिनहुँ आमाले लगेर पूजा गर्ने पूजाको थाली लिएर  घर नजिकैको मन्दिरमा गएर पूजा गर्छ। भन्छ !

 "भगवान ! मेरो बाबालाई रक्षा गर्नुभएछ।मैले मेरो बाबा देख्न पाएँ "

उसले आमाले जस्तै मुर्तिलाई ढोग्छ, फुल चढाउँछ। यो सब घरबाट अमर र प्रीतिले हेरिरहेका हुन्छन्। छोरोले पूजा सकेर पूजा थाली लिएर बाबा आमा भएको ठाउँ आउँछ। अमरले हर्षका आँसु खसाउँदै छोरोलाई काखमा लिन्छ।

 

प्रतिकृया दिनुहोस