सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी

  • Get News Alerts

रञ्जु तिमीले हाम्रा सपनाहरूको नेतृत्व लिनेछौ

प्यारी साथी रन्जु।

उमेरमा तिमीभन्दा केही जेठो भए पनि तिमीलाई साथी भन्दैछु। किनभने मानिसहरू कि भौतिक र भावानात्मक रूपले कुमकुम र मनमन भएपछि साथी हुन्छ्न्। कि आफ्ना सपना र उद्धेश्यले कुमकुम भएर नारिएपछी साथी हुन्छन्। म भौतिक रुपले एटलान्टा पारी छु । तर मेरा सपना स्वदेशमै विचरण गरिरहेका छन्।

आफूले २१ वर्षको हुँदा देख्ने गरेका र अहिले मृतप्राय भैसकेका तिनै सपनाहरू सम्झदै तिमीलाई साथी सम्बोधन गर्दैछु। सपनाहरू उमेरले जेठा/ कान्छा र दुर/ करिब हुँदैनन्। त्यसैले उस्तै उस्तै सपनाहरुको संगत गरेकाले तिमी र म साथी । आशा गर्छु तिमीलाई यो सम्बोधनले आपत्ती हुनेछैन।

सबैभन्दा पहिला चुनावी नतिजाको कुरा गरौं। चुनावी नतिजाले तिमीलाई दुःखी अवस्य नै बनाएको छैन होला भन्ने मेरो बुझाई छ । अझ एक कदम अगाडि सरेर भन्नुपर्दा तिमीलाई झन उत्साहित र झन आत्मविश्वासी बनाएको हुनुपर्छ। चुनावी परिणामले तिम्रा सपनाहरुलाई सामान्य चोटपटक लाग्यो होला भन्ने कुराको म कल्पनासम्म गर्न सक्दिनँ। चहादिन। प्रिय साथी तिमीले पनि त्यसरी नसोच्नू । त्यसैले सबैभन्दा पहिले, छोटो चुनावी भागदौड र पट्यारलाग्दो मतगणना पछि तिमी केही दिनलाई विश्राम गर भन्न चाहान्छु।

छुट्टी मनाउन जाउ । घुम्न जाउ । ध्यान अथवा आफ्ना दौँतरीहरुसँग पाटी गर। तिमी जे गर्दा "फ्रेस"र "रिन्यू" हुन अभ्यस्त छौ त्यही गर। किनकि तिमीले पुनः एकपटक तिमी हुनुपर्ने हुन्छ र एउटा लामो यात्रा बिल्कुलै गैर परम्परागत तरिकाले तय गर्नुपर्ने हुन्छ।

अब गरौं सपनाका कुरा। सपना ती हुन जो निदाएर देखिन्न। सपना त ती हुन जसले निदाउन दिँदैन। पूर्व भारतीय राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका यो सपनाको निम्ति तिमिले जाग्नु छ । तिमीसँगै म र हाम्रो सिंगो पुस्ता जाग्नु छ। सपनाहरू प्रती मोहभंग भएको समाजलाई सपनाको अस्तित्व हुन्छ भनेर प्रमाणित त गर्नु छँदैछ साथी, सपना मतहरुसँग बिनिमय गर्ने ललिपप मात्रै होइन भनेर पनि बुझाउनु छ। सपनाहरू केवल गफ होइनन् र यी विपनामा रुपान्तरण हुन सक्छ्न् भनेर सपनाका कुरा गर्दा बितृष्णाले मुख अमिलो बनाउने समाजलाई पनि विश्वासमा लिनुछ।

प्रिय साथी!

तिमीले काठमाडौलाई लण्डन र न्युयोर्क बनाउँछु भनिनौं, मलाई एकदम खुसी लाग्यो । इतिहास साच्ची छ, लन्डन र न्युयोर्क कुनै एउटाको कार्यकालमा र समयको एउटा कालखण्डमा बनेका होइनन्। न टोकियो त्यसरी बनेको हो। न काठमाडौ नै त्यसरी बन्नेछ। न मेट्रो न मोनो रेल त्यसरी आउँछ । जसले त्यस्ता सपना बाँडे ती वर्तमानबाट ओरालो लागेर इतिहास तर्फका यात्री हुन्। तिमीले वर्तमानबाट उकालो लागेर भबिस्य पुग्नु छ साथी। त्यसैले आधारभूत र प्राथमिक कुराकै खडेरी लागेको खाल्डोमा तिमीले, खाल्डाखुल्डी पुर्ने कुरा गर्‍यौं। ढल ब्यवस्थापनका कुरा गर्‍यौ, सडक बत्तीको कुरा गर्‍यौ, काकाकुलको बस्तीमा पानी नै त सपना हुन्छ! तिमीले पानीको कुरा गर्‍यौ, हरियाली र सरसफाइको कुरा गर्‍यौ। तिमीले यसरी जमीन टेकेर सपना देख्यौ र देखायौ कि धेरैले तिम्रा सपनाहरू फुल्न सक्छन् भनेर पत्याए। तिम्रो बाकस भरिदिने तिनै हुन्। भोलीका तिम्रा सहयात्री तिनै हुन्।

वास्तवमा, संसारमा कोही पनि नाङ्गो शरीर साईकल चड्ने सपना देख्दैन। काठमाडौ वस्तवमै एउटा नाङ्गो शहर हो । यसका लाजहरू ढाक्ने तिम्रा सपनामा मेरो समर्थन थियो। र थियो म जस्तै झन्डै पच्चीस हजार मतदाताको । जसले तिम्रा सपनामा आफ्ना सपनाहरुको अंश देखे। यो बिश्वासको पुँजी तिम्रो ठूलो सम्पत्ति हो साथी, यसलाई जोगाउदैँ तिमीले अरु सम्पत्ति जोड्नु छ। लाज ढाक्ने आवरणको ब्यवस्था भएपछि हामीले काठमाडौंलाई शृंगार गर्न गहनाको अर्को सपना देख्नुछ।

प्यारी साथी रन्जु!

कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।

प्यारी साथी ! अन्त्यमा तिम्रो यात्रा देशभर फैलियोस् भन्ने मेरो कामना छ। तिमीलाई मेचीदेखी कालीसम्म र हिमालदेखि तराईसम्म झांगिएको हेर्ने चाहाना छ। तिमी अर्थात ब्यक्ती तिमी होइन, तिम्रा सपनाहरूलाई आफ्ना सपना ठान्ने हजारौं, लाखौं रन्जुहरूले खण्डहर हुँदै गएका पूरा संरचना माथि नयाँ संरचना खडा गरेको हेर्ने रहर छ। तिम्रा र मेरा यीनै साझा सपनाहरुप्रति ऐक्यवद्धता प्रकट गर्न आज यो आलेख लेखेको छु। आशा छ तिमीले हाम्रा सपनाहरूको नेतृत्व दिनेछौ।

उहीँ तिम्रो साथी

नवीन दित्य कोइराला

प्रतिकृया दिनुहोस