बोल न स्मारिका…

  • Get News Alerts

प्यारी छोरी स्मारिका,

आज तिम्रो जीवनको विशेष दिन। अब तिमी २८ वर्ष लाग्यौ। थाहा छ, तिमीले यो पत्र पढ्न सक्दिनौँ; कसैले पढेर सुनाए बुझ्न पनि सक्दिनौ। तैपनि बिहान तिम्रो सिरानीमुनि यो पत्र राखिदिँदा अलिकति शान्तिको अनुभव गरेका छौं। आशा छ, कुनै तरंगले यसलाई तिम्रो हृदयसम्म पुर्‍याइदिनेछ।

प्रसूति गृहमा तिम्रो जन्म हुँदा हाम्रो खुसीको सीमा थिएन। तिमीलाई हेरीहेरी हामी त्यसैत्यसै दंग पर्थ्यौं। तिम्रो त्यो सुन्दर मुहारभित्र आफ्नो संसार खोज्थ्यौं, तिम्रो मनोहर भविष्यको कल्पनामा पुलकित हुन्थ्यौं।

तिमी ढिलो बामे सर्‍यौ; बाबा माँ पनि ढिलै भन्न थाल्यौ। पहिला त केही लागेन, तर बिस्तारै तिमी ठूली हुँदै जाँदा बोलीमा सुधार नआएपछि चिन्ता लाग्न थाल्यो। डाक्टरहरूलाई देखायौं। ‘धेरै पुल्पुल्याउनु भएको छ, बिस्तारै बोली फुट्छ’ भने। होला त भनेर प्रतिक्षा गर्‍यौँ। तर, अहँ! तिमीले एकाध शब्दभन्दा बोल्न सकिनौ।

त्यतिबेला म काठमाडौंमा चार-पाँच ठाउँमा काममा व्यस्त हुन्थेँ। तिम्री आमाले महिनौं भारतका अस्पतालहरूमा लगेर के भएको हो भनी उपचार गराउन प्रयास गरिन्। तर खै! कसैले केही भन्न सकेनन्।

तिमी पाँच वर्षकी थियौ। तिम्रो भाइको पनि जन्म भइसकेको थियो। तिमी हिँड्न सक्थ्यौ तर कसैले उठाई दिनुपर्थ्यो, डोर्‍याइदिनु पर्थ्यो। खान सक्थ्यौ, तर कसैले खुवाइ दिनु पर्थ्यो। दाँत माझ्न, लुगा फेर्न, हरेक नित्यकर्ममा तिमीलाई कसैको सहारा चाहिन्थ्यो। संयोगले त्यही बेला बेलायतको प्रसारण संस्थामा काम गर्न आउन मेरो चयन भयो। तिमी अब ठिक हुन्छेउ भन्ने एउटा आशा कता-कता हाम्रो मनमा पलायो।

दुई वर्षसम्म लन्डनमा अनेक स्वास्थ्य परीक्षणहरू भए। नेपाल र भारतका कुनै पनि अस्पतालमा पहिचान हुन नसकेको तिम्रो बिमारीको अन्त्यत: विश्वप्रसिद्ध ग्रेट अर्मन्ड स्ट्रिट चिल्ड्रेन्स हस्पिटलमा किटान हुने दिन आयो। तिमीलाई लिएर हामी अस्पताल पुग्यौं। एउटा लामो टेबलमा वरिपरि चार पाँच जना डाक्टर बसेका थिए। उनीहरूले बिस्तारै एक अर्काको मुख हेर्दै कुरा खोल्न थाले-

‘स्मारिकालाई रेट् सिन्ड्रम भएको पुष्टि हुन आएको छ। यो छोरीहरूलाई मात्रै विरलै लाग्ने यस्तो रोग हो, जसको उपचार अहिलेसम्म संसारमै छैन। गर्भ बसेदेखि नै क्रोमोजोममा हुने एउटा त्रुटिका कारण यो अवस्था आई पर्छ। सुरुमा केही वर्ष त छोरीलाई कुनै समस्या छ भनेर थाहै हुँदैन। अलि पछि, बामे सर्ने, बोल्ने जस्ता विकासक्रममा ढिलाइ हुँदै जान्छ र बालिकाले एकाध शब्द मात्र बोल्न सक्छिन्। त्यसपछि शारीरिक विकास भए पनि मानसिक विकास रोकिन्छ, हिँड्नमा कठिनाइ हुन्छ, हातका औंला एकनासले चलिरहन्छ, ब्युँझेदेखि ननिँदाएसम्म सबै कुरामा अरुमाथि आश्रित हुनुपर्छ। अब तिमीहरूले जीवनभरि उसको हेरचाह गर्नुपर्छ, माया र स्नेह दिएर राख्‍नु पर्छ।’

यसरी हाम्रासामू आकाश खस्न पुग्यो नानु। आँसु बग्दै गएर भक्कानो छुटेको थाहै भएन। तिमीलाई पुलुक्क हेर्‍यौँ; हातका औंलाहरू जिब्रोमा खेलाउँदै यो संसारको क्रूरताबाट बेखबर एउटी निर्दोष बालिका मुस्कुराइरहेकी थिई। खासगरी नारीहरूप्रति किन यति निष्ठुरी छ सृष्टि? तिम्रो सुन्दर अनुहार हेर्दै, तिमीलाई छातीमा टाँस्दै हामी धेरै दिन, धेरै रात रोयौं, छटपटायौं।

एक अस्ट्रियन चिकित्सक डा. एन्ड्रियास रेट्ले सन् १९६६ मा छोरीहरूमा यो समस्याको पहिचान गरेका रहेछन्। एक्स क्रोमोजोमको एउटा जिनमा हुने त्रुटिले गर्दा स्नायु विकासमा गडबडी उत्पन्न भएकाले तिमीले आफ्ना हातहरूको उचित प्रयोग गर्न सकिनौ, बोल्न सकिनौ। हातहरू एकनासले घुमाई रहन्थ्यौ, गोडाका औंलाहरूले मात्र टेकेर हिंड्न खोज्थ्यौ, समय समयमा दाँत किटकिट गर्थ्यौ, मेरुदण्ड बिस्तारै बाङ्गो हुँदै गएको थियो, खाना चपाउन र निल्न गाह्रो हुन्थ्यो। यी सबै रेट् केटीहरूका लक्षण रहेछन्।

अहँ, छैन रे नानु! जन्मने १०,००० देखि १५,००० छोरीहरूमध्ये एक छोरी प्रभावित हुने अनुमान रहेको यो अनौठो व्यथाको उपचार संसारमै अहिलेसम्म उपलब्ध छैन रे। हामी के गरौं? यस हिसाबले आमाबाबुका रूपमा हामी विफल नै भयौं। क्षमा गर।

तर त्यही बेला हामी एउटा दृढ निष्कर्षमा पुग्यौं- तिमी नै हौ हाम्रो भगवान्। भगवान्, जो अति सुन्दर छ, जो केही बोल्दैन, केही माग्दैन, केवल हाँसी रहन्छ, हामीलाई आशीर्वाद दिइरहन्छ। हाम्रो शरीरले साथ दिएसम्म हामी यो भगवान्‌लाई माया र स्नेहले पूजा गरेर राख्‍नेछौं।

रेट् सिन्ड्रमबारे अहिले पनि नेपालमा त्यति धेरै जानकारी नभएकाले तिमीलाई नसोधिकनै केही शब्द लेख्‍ने निर्णय लिएँ। गल्ती गरेको भए माफ गरी देऊ।

अहिले पनि नेपाली समाजमा सुस्त मनस्थितिका बालबालिकालाई त्यति घुलमिल गराइन्न। २० वर्षअघि त अवस्था झन् खराब थियो। उनीहरूलाई प्राय: घरकै एक कुनामा राख्‍ने गरिन्थ्यो। मेरो सुस्त मनस्थितिको सन्तान छ भनेर भन्न आमाबाबु नै धक मान्थे। यिनीहरूलाई पनि माया र हेरचाह चाहिन्छ, यिनीहरू पनि यो देशका नागरिक हुन्, यिनीहरू पनि समाजमा मिसिनु पर्छ भन्ने सन्देश दिनु आवश्यक थियो। तिम्री आमाको झुकाव गायनतर्फ बढ्दै गएपछि उनको पहिलो एल्बमको नाम ‘स्मारिका’ राख्दै त्यसका लागि आजभन्दा १५ वर्ष अघि एउटा गीत लेखेको थिएँ -

शब्दबिना रचिएकी, संगीतबिना सजिएकी

सधैँ रमाइ बस, यो मनमा तिमी

मेरी स्मारिका

एउटा बाबुको भावना र एउटी आमाको आवाजमा छोरीप्रति समर्पित थियो यो गीत। तिमीलाई पनि राखेर बनाइएको गीतको म्युजिक भिडियो नेपालका सञ्चारमाध्यमहरूमा बज्न थालेपछि त्यसले धेरैको ध्यान तान्यो। सुस्त मनस्थितिका बालबालिकाहरूलाई माया र हेरचाहको आवश्यकता हुन्छ भनी चेतना जगाउन हामी अलिकति भए पनि सफल भयौं भन्ने लागेको छ। त्यसपछिका वर्षहरूमा नेपालमा अपांगता भएका बालबालिकालाई व्यक्तिगत रूपमा सके जति सहयोग गर्न तिमीले हामीलाई सधैँ प्रेरणा दिएकी छौ।   

तिमी सानो छँदा जाने गरेको काठमाडौं बालुवाटारस्थित नवज्योति केन्द्र अनि चितवन र ललितपुरमा रहेका सुस्त मनस्थिति केन्द्रका बालबालिकाहरूको जीवनमा तिम्रो सहयोगले केही खुसी बाँडेको छ। आज तिम्रो जन्मदिनमा पूर्खाहरूको थलो काभ्रे खरेलथोकस्थित सुस्त मनस्थिति केन्द्रमा रहेकाहरूका लागि एक लाख सत्तरी हजार रुपैयाँ उपलब्ध गराइदिने सौभाग्य मिलेको छ। सधैँ यसैगरी तिम्रो नाममा देशमा सानोतिनो भए पनि सहयोग पुर्‍याइरहन हौसला देऊ।

उमेर ढल्कँदै जाँदा तिमीलाई पनि मातृभूमिमै लगेर हेरचाह गर्ने चाहना छ। तर थाहा छ, यो अहिलेका लागि हाम्रो मिठो सपना मात्र हो। तिमीहरूका लागि देशमा एउटा पनि विशेष विद्यालय छैन। मेडिकल कलेजहरू खोल्न देशमा भागदौड छ। तिमीहरूका लागि स्तरीय विद्यालय र डे सेन्टर खोलेर कहाँ नाफा हुन्छ र? देश हाँक्नेहरूलाई तिमीहरूको कठिनाइबारे के चासो? तिमीहरूलाई हेर्नु पनि उनीहरूको दायित्व हो भनी सोच्ने फुर्सद कहाँ?

नहोस् पनि… उनीहरूमध्ये कमैका छोराछारी सुस्त मनस्थितिका होलान्। विदेशी दूतावासका कोटामा र अनेक छात्रवृत्तिको चाँजोपाँजो मिलाएर आफ्ना छोराछोरीलाई पढाएकै होलान्। अनि आफ्ना चार दृष्टीविहीन सन्तानलाई दाङ तुल्सीपुरमा एक्लै हुर्काइरहेकी रुपा गन्धर्व वा मोरङ इटहरामा अपांगता भएका आफ्ना पाँच सन्तानलाई छाना चुहिइरहेको घरमा दिनरात रुँदै सकी-नसकी एक पेट खाएर हेरी राखेका तुल्सीराम र सृजना ढुंगानाको व्यथाले देश हाँक्नेहरूलाई किन पोल्थ्यो?

देश फर्काउन सकेनौं भने पनि पिर नमान छोरी। तिमी एउटा यस्तो लोक कल्याणकारी राष्ट्रमा आइपुगेकी छौ, जहाँ सपांगहरूलाई भन्दा तिमीहरूलाई बढी मान, सेवा र सुविधा प्राप्त छ। कसैले तिमीहरूलाई बिचरा बिचरी भनी चुकचुक गरेर टुलुटुलु हेरेर मात्र बस्दैन यहाँ। तिमीहरूको सेवा, सुविधा र भविष्यका लागि एउटा दरिलो व्यवस्था ठाउँमा छ। हामीलाई केही भइहाल्यो भने पनि तिमीलाई कसले हेर्ला भन्ने चिन्तामा बाँच्नु परेको छैन।

तिम्रो दीर्घ मुस्कान र दीर्घ जीवनका लागि आशीर्वाद नानु। तिम्रो कन्यादान गर्न सकेनौं। त्यो सुख हाम्रो भाग्यमा दैवले लेखेको रहेनछ। तर तिमीजस्ती मायालु सुकुमारी सधैँ हाम्रो वरिपरि छौ। त्यही नै हाम्रो भाग्य हो, जीवनको सार हो। तिमी हाम्रा लाग‌ि कहिल्यै बोझ भइनौ र हुने पनि छैनौ। हाम्रो दाम्पत्य जीवनलाई तिमीले झन् रंगीन तुल्याइदिएकी छौ। तिमी यसैगरी हाँसी रहू, आशीर्वाद दिइरहू। बस्!

अन्त्यमा एउटा कुरा छोरी! तिमीलाई पनि आमाबाबुसित कचकच गर्न मन होला! भाइसित खेल्न, झगडा गर्न मन होला! कति धेरै कुरा लुकेको होला त्यो मनमा? थाहा छ, हाम्रो इच्छा कहिल्यै पूरा हुँदैन। तर सास छउन्जेल आश भन्छन्। त्यसैले अझै पनि भन्छौं- कुनै दिन त… बोल न स्मारिका…।

[email protected]

प्रतिकृया दिनुहोस