कतारको राप

  • Get News Alerts

देविकालाई दोस्रोपटकको विदेश यात्रामा पटक्कै रूचि थिएन। नगई पनि भएको थिएन।
 
घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए। उनी त्यस दिन उदासउदास थिइन्। लोग्नेको कमाइको भर छैन। गाउँबाट सदरमुकाम आउँदा सानो आफ्नो घर होस् भन्ने चाहनालाई वास्तविकतामा परिवर्तन गर्न दुवैले केही समय सानो पसल पनि थालेका हुन्। समयले साथ दिएन।
 
पहिलोपटक विदेशबाट फर्केपछि उनले यतै नेपाल बस्ने इच्छा पनि गरेकी हुन्। आखिरमा विदेश नगई भएन।
 
दुई वर्षकी छुनुमुनु गर्ने सानी छोरीलाई यहीँ सासूका भरमा छाड्दा दस मनमा एक मनले पनि मानेको होइन उनको। गर्ने के बाध्यता भएपछि!
 
अघिल्लोपटक भने विदेश जाँदा उनकी छोरी एक वर्षकै थिई। के आमा के हजुरआमा उसलाई मतलबै थिएन। उसले आमा बजार गएको हो कि विदेश गएको हो पत्तै पाएकी थिइन। आज समयको अन्तरमा ऊ दुई वर्षकी भएकी छे। अब केही चेतना अवश्यै पलाएको हुनुपर्छ।
 
त्यसैले छोरी रोई। छोरीको आँशु देखेर देविकालाई ननिको लाग्यो।
 
देविकाले लोग्नेको मुखमा पुलुक्क हेरी। ऊ औपचारिक उदासीको पिङमा थियो क्यार!
 
छोरीको मुखमा हेर्न सकिन। छोरीले नै उसलाई पटकपटक बोलाई– ‘मामु मामु म हजुरसँगै जान्छु।’
 
अन्नतः देविकाले छोरीका संवादमा अपलक आँसु खसाली। आँसुलाई उसले आफ्नो जेब रुमालले पुछी र विदेशमा हेर्न हुन्छ भन्ठानेर आफ्नो मोबाइलबाट फटाफट केही फोटा खिची।
 
देविका फटाफट बस पार्कतिर अगाडि बढी। उसलाई पुर्‍याउन उसको लोग्ने गयो। बाटामा उनीहरूको केही कुराकानी भएन। देविकाले नै लोग्नेलाई सोधी– ‘छोरीले निकै झगडा गरी।’
 
लोग्नेले उत्तर दिन सकेन। टाउको मात्र हल्लायो।
 
उसले फेरि प्रश्न गरी, ‘होइन, तपाईं किन बोल्न सक्नुहुन्न। एक्लै छोरीलाई कसरी मेनेज गर्नुहुन्छ। बोर्डिङ हाल्दिने बेला पनि त भाको छैन।’
 
लोग्नेका मुखमा प्रतिउत्तरका केही शब्द आएनन्। सुनि मात्र रह्यो।
 
उसले भन्नुपथ्र्यो– अब त मेरा भाइबहिनीहरू पनि घरबाट सदरमुकामको स्कुलमा पढ्न आएका छन्। केही मद्दत उनीहरूले पनि गर्नसक्छन्। मेरो बेफुर्सदी अझ बढेको छ। पसलमा लगानी बढाएरै पनि आम्दानी बढाउनुछ। यसो बेला कमाएका बेला एउटा सानो घडेरी जोड्न सकियो भने त बासको व्यवस्था हुन्थ्यो। तिमी विदेशमा आफ्नो जोडबलले कमाऊ। म स्वदेशमा परिश्रम गरेर थुकतेल गर्छु। अनि त ईश्वरले पनि कसो नहेर्लान् र?
 
तर, उसका मुखमा यी शब्द आएनन्।
 
मनमा कुरा खेलाउँदै उनीहरू बस पार्कमा गए। सात बजेको जुनार एक्सप्रेसले हर्न बजाइरहेको रहेछ।
 
‘भाइ, यो ए साइडको ६ नम्बर सिट होइन,’ देविकाको सोधाइलाई खलाँसीले स्वीकृतिको सूचक टाउको हल्लाएर ‘हो’ भन्यो।
 
ऊ माथि उक्लेर बसको सिटमा बसी। लोग्नेले लगेज मिलाइदियो। दुई पोका वाइवाइ र एक बोटल मिनरल वाटर किनेर ल्याइदियो। देविकाले चुइगम र हजमोला पनि मगाई। लोग्ने फेरि निस्कियो। त्यसैबेला बस अगाडि बढ्यो। लोग्ने कुद्दै आयो र बसको झ्यालबाटै चुइगम र हजमोला देविकालाई दियो। उसले अब लोग्नेलाई मन नलाई नलाई बाईबाई गरी।
 
बस कुद्यो।
 
लोग्नेले बस नम्बर हेर्यो र मोबाइलमा सेभ गर्यो। देविका यसपटक काठमाडौं एक्लै जाँदै थिई। अघिल्लोपटक दिनेशले उसलाई काठमाडौंसम्म पुर्याएको थियो। यो पटक उनीहरूका साहूका कुखुरामा बर्डफ्लुको संक्रमणको हल्ला चलेको थियो जसले दिनेशले छुट्टी मिलाउन सकेको थिएन।
 
देविकालाई रिसिभ गर्न कोटेश्वरमा उसको सानो देवर आउने कुरा थियो जो राजधानीमा पढ्न बसेको थियो। सानोतिनो बेपार पनि गथ्र्यो। दिनेशले भाइलाई फोन गर्दा नम्बर दिन गाडी नम्बर टिपेको हुनुपर्छ। यसपटक देविकाका लगेज निकै भारी थिए। उसले पहिलोपटक आफूलाई कतारबाट किनेर ल्याएका लुगा सबैजसो उतै लगेकी थिई।
 
देविकाका पनि गहभरि आँसु भए। उता लोग्नेका परेलीका डिलमा आएका आँसुका दाना त्यसरी टप्किए जसरी सिमसिमे पानी पर्दा कर्कलाका पातमा अडिएका पानीका बुँद गोलाकार भएर माटामा टिलपिलटिलपिल गर्दै झर्छन्।
 
लोग्नेले आँसु पुछ्नुका साटो माथि आकासतिर हेर्यो, आँसु लुकाउन। माथि आकासमा परेवाका एकजोडी कतै बत्तिँदै थिए।
 
परेवालाई देखेपछि अब भने देविकाको लोग्नेका परेलाले आँसु रोक्न सकेनन्। ती गुडुल्किएर भैँमा झरे।
 
तप्प तप्प।
...
 
देविका कतार गएपछि दिनेश अब त्यो नयाँ सहरमा एक्लो भयो। अघिल्लो एक वर्ष उसको भाइ थियो। उसको बेपारमा सहयोग गर्ने साथी। तर अब ऊ पनि राजधानी हानियो पढ्ने अनि बेपार गर्ने बहानामा।
बिहानै उठेर जिँउदो ब्रोइलर कुखुरा लिन जानु, बिहानभर पानी तताएर कुखुरा काट्नु, अनि दिउँसभर बेच्नु उसका रुटिनबद्ध काम भए। बेलुकी जब नेटमा देविका र दिनेश कुरा गर्थे, देविका लोग्नेका हालखबरभन्दा छोरीका खबर ज्यादा सोध्ने गर्थी।
 
दिनेश झर्को नमानी स्वास्नीका प्रश्नका जवाफ दिन्थ्यो। बिजुली हुँदा र नेट चल्दा उनीहरू दुईचार घन्टा नै नेटमा बिजी हुन्थे। कहिलेकहिले उनीहरू अनलाइनमा देखिन्थे तर दुवै अफलाइन कुरा गर्थे। यसो गर्दा अलिअलि गरी दुवैले दुवैलाई क्रमशः अविश्वास गरेको हो कि जस्तो लाग्न थालेको थियो।
 
शंकाको बीउ भर्खर फेसबुकमा छरेका थिए उनीहरू दुवैले दुवैतिरबाट। तर एकले अर्कालाई दोषारोपण चाहिँ गरेका थिएनन्। उनीहरूले धेरै नपढे पनि गाउँकै प्लस टुबाट १२ कक्षा पास गरेका थिए। दुवैको हाँच र स्तर मिलेको थियो। चिनापर्ची भएरै चार वर्षअघि लभ म्यारिज गरेका थिए उनीहरूले।
 
देविकाले अनलाइनमा प्रायः कतारको गर्मी, त्यहाँको जीवनशैली, कम्पनीको काम र मालिकका बारेमा लोग्नेलाई बताउँथी। लोग्ने पनि स्काइप भएका बेलामा स्काइपमा, नत्र अनलाइनमै देविकासँग घन्टौं कुरा गथ्र्यो। कहिलेकाहीँ लोग्नेस्वास्नी नेटमै पनि इत्रिन्थे। सायद सेक्सको मेनेज गर्न तिनीहरूलाई प्रविधिले त्यो निःशुल्क सुविधा दिएको थियो।
 
दिनेशलाई मजा आउँथ्यो स्वास्नीसँग अनलाइनमा बोल्न । लेखेर बोल्दा ऊ केही आँट गर्न खोज्थ्यो। हुन त ऊ देविकासँग मात्र होइन अरू केटी अझ त्यसमा पनि राम्राराम्रा र उमेरदारसँथ फ्रेन्ड रिक्वेस्ट पठाएर आफ्नो सर्कल बढाउन चाहन्थ्यो। दिनभरिको काम त्यही गनाउने ब्रोइलर काट्नु र बेच्नु मात्र हुन्थ्यो। कसैसँग दिल खोलेर बोल्न पाइन्नथ्यो। बेलुकी भएपछि पैसासैसा गन्यो अनि देविकाले नै किनेर ल्याइदिएकी ल्यापटपमा नेट ज्वाइन गरेर रातको समयलाई गुल्जार पाथ्र्यो। यो उसको एक्लै बस्दा टाइम मेनेज गर्ने मेलो थियो।
 
आजआज भोलिभोलि गर्दागर्दै दुवै लोग्नेस्वास्नी नेटका अम्मली भए।
 
दिनेश कहिलेकाहीँ देविकालाई लेख्थ्यो– सानु टेक केयर, योर सेल्फ।
 
उत्तरमा देविका झटपट टाइप गर्दिन्थी– यु टु बाबा। यु टु टेक केयर एन्ड मेनेज योर सेल्फ।
 
दुवैले एक दिन दुई दिन गर्दै हप्ता, महिना र वर्ष गर्दै दुई वर्ष बिताए।
 
देविका दोस्रोपटक विदेश गएको पनि अब दुई पुगेर तीन वर्ष लाग्यो। अनलाइन भेटको अवसरलाई उनीहरूले भरपुर उपयोग गरे।
 
तर, केही समयपछि देविकाले पैसा पठाउन छाडी । दिनेश करकर गथ्र्यो, ऊ सुने–नसुन्यै गरिदिन्थी। हुँदाहुँदा देविका नेटमा पनि कम आउन थाली।
...
 
अन्ततः जे नहुनु थियो, त्यही भैदियो।
 
देविकाका सबै साथी घर आए। कसैले तीन वर्षको अन्तरालमा बीस लाख, कसैले तीस लाख र कसैकसैले त पैँतीस लाखसम्म ल्याए। सदरमुकाममा उम्दा घडेरी किने। घर बनाए। देविका भने आज आउली छैन, भोलि आउली छैन।
 
दिनेशले काठमाडौं गएर विदेश लैजाने कम्पनीको मालिकलाई भेटेर परराष्ट्र मन्त्रालयमा निवेदन पनि हाल्यो। नेपाल सरकारले उता कतारको कम्पनीलाई चिठी लेखिदियो। खोजखबर सुरु भयो। तर अहँ देविकाको पत्तो लागेन।
 
मान्छे नभेटे पनि देविकाकी एक जना साथी सारिकाले दिनेशलाई यस्तो खबर सुनायो :
 
देविका जब पहिलोपटक कतार गएकी थिई, उनीहरू एउटै कम्पनीमा काम गरेका थिए। काम गर्नेहरूमा ११ जना केटी थिए। उनीहरूको काम कपडा कारखानामा लुगा प्याकिङ गर्नु थियो। मालिक निकै रौसे थियो। ऊ नेपाली केटीहरू निकै मन पराउँथ्यो। उसको आँखा देविकामा गढ्यो। उसले देविकालाई अरूलाई सरह काम दिएर पनि पारिश्रमिक भने निकै बढाएको थियो।
 
सानैदेखि देविकाको लगाउने कुरामा निकै सोख थियो। ऊ थरीथरीका लुगा जम्मा गर्थी। पार्टी र पिकनिकमा पनि उसलाई अरूका दाँजोमा आफू राम्रो भएर जानुपथ्र्यो । त्यो उसको कमजोरी नै थियो। मालिकले उसको यही कमजोरीको फाइदा उठायो। उसलाई बर्थडेमा लुगा उपहार दिन थाल्यो। उसका साथीहरू काममा जाँदा सार्वजनिक बसकै यात्रा गर्थे तर देविकाका लागि मालिकले छुट्टै कारको व्यवस्था गरेको थियो।
 
सुरुसुरुमा ऊ दिनेशसँग अनलाइन कुरा गर्दा मालिककै ल्यापटप प्रयोग गर्थी। पछि मालिकले उसलाई नयाँ ल्यापटप पनि किनिदियो।
 
अब ऊ कसैगरी नेपाल आउन सक्दिन। उसको मालिकले उसलाई घरबाहिर कतै निस्कन दिँदैन । उसले देविकाको शरीर बन्धक बनाएको छ। देविकालाई सुरूसुरूमा मजा लागे पनि अब त्यहाँबाट उम्किने अवस्थामा छैन। ऊ नचाहँदा नचाहँदा बन्धक बनेकी छे।
 
सरिताको मुखबाट देविकाको यस्तो हालत सुन्दा दिनेशका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेका थिए।
...
 
दिनेश आज पनि पसलमा कुखुरा काटिरहेको छ। उसलाई नजिकैको एफएममा कुनै प्रख्यात गायकले गाएको ‘उडायो सपना सबै हुरीले’ भन्ने बोलको गीतले चिमोटिरहन्छ।

प्रतिकृया दिनुहोस