खाडीमा झुकेको नेपाली शान!

  • Get News Alerts

नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य खाडी मुलुक कतारमा लाखौँ नेपाली विभिन्न पेसामा कार्यरत छन्। संख्याका आधारमा पनि मलेसियापछि सबैभन्दा बढी नेपाली रहेको मुलुक कतारमा नेपालीको संख्या कतारको पूरा जनसंख्याको करिब १७% भन्दा बढी अर्थात् ४ लाखभन्दा बढी छ, जुन यहाँका मुलबासी कतारीहरू भन्दा झन्डै दोब्बर हो।

कतारबाट नेपालमा बर्सेनि अर्बौँ रुपैयाँ रेमिट्यान्सका रूपमा भित्रिने गरेको छ। जसले विगतको दशकदेखि नेपालको अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगटेको छ। विशेषगरी नेपालमा बढ्दो बेरोजगारीका कारण बिदेसिनेको संख्या दिनानुदिन बढ्दो छ। उता विदेशमा भोग्नु परेको पीडा र बाध्यता सहन नसकेर केही पैसा कमाएर घर परिवारलाई हेर्ने र दुई पैसा आर्जन गरेर जीवनस्तर उकास्ने सपना दिनानुदिन शवका रूपमा बाकसमा प्याक भएर फिर्ता हुन्छ।

नेपालमा बसे केही गरी खाने ठाउँ छैन। सरकारले लाखौं युवा शक्तिलाई कुनै नीति कार्यक्रम ल्याएर वा कुनै अवसर प्रदान गरेर देशमै केही न केही योगदान गर्ने व्यवस्था मिलाउन सकिरहेको छैन। फलस्वरूप लाखौँ दक्ष युवा पलायन भइरहेका छन्। अर्कातिर सामान्य योग्यताको स्तर भएका युवाहरू बेरोजगारीको चरम बाध्यताका कारण खाडीलगायतका मुलुकमा अत्यन्त सस्तो मूल्यमा आफूलाई बेच्न बाध्य छन्। त्यो पनि मानव तस्करीको रूपमा दलालहरूको हातबाट कैयौँपटक बेचिन बाध्य छन्। जसलाई नियमन र नियन्त्रण गर्ने न त कुनै बलियो सरकारी निकाय छ, न भएकाहरूले नै काम गर्न सकेका छन्।

नेपालीहरूका लागि जसरी युरोप अमेरिकाको सपना धेरै महँगो र झन्झटिलो छ, कतार या मलेसियाजस्ता मुलुक जान पनि त्यति सजिलो छैन। यो क्रम सुरु हुन्छ, कुनै मेनपावर या मेनपावरमा दलाली गर्ने कोही चिनजानको मान्छेबाट। अनि सुरु हुन्छ बेचिने क्रम पनि। कुन देश जाने, कति पैसा लाग्ने, के कामको लागि जाने भन्ने विषयमा बार्गेनिङ हुन्छ। नेपालीहरूलाई कतार, मलेसिया, साउदी अरेबियालगायत मुलुकमा अधिकांशजसो अदक्ष कामदारका लागि घर, सडक, पुल आदि बनाउनेदेखि सेक्युरिटी गार्ड, होटेल मजदुर आदिका लागि भिसा मिल्छ, त्यो पनि फ्रि भिसा।

पत्रपत्रिकामा विज्ञापन निकालिन्छ- फ्रि भिसा! फ्रि भिसा! फ्रि भिसा! भनेर लागत खर्च बढीमा २० हजार लेखेको हुन्छ। मेनपावर खोज्दै पुगेर सोधेपछि खुलेआम भन्छन्- त्यो त लेखेको मात्र हो, कम्पनीको नियम अनुसार यति पैसा लाग्छ। जाने भए फर्म भर्नुस्, नत्र जानुस्।

उता मेनपावरमा चिनाई दिएबापत २०/३० हजारसम्मको सम्झौता हुन्छ दलाल र मेनपावरबीच पनि। यस्ता भिसाहरूका लागि वैदेशिक रोजगार विभाग र नेपाल सरकारले तोकेको पूरा लागत खर्च २० हजार हुन्छ, उता मेनपावरमा कम्पनीको रेट भने एक लाखभन्दा बढी सुरुमै मौखिक सम्झौता गरिन्छ। यस्तो खुलेआम ठगी हुने गरेको जानकारी हुँदा पनि केही गर्न सक्ने अवस्था हुन्न कसैसँग।

उजुरी गरेर बसे जानु छ विदेश, २/४ पैसा भए पनि कमाएर तिर्नु छ ऋण, घर परिवारको दुःख र पीडाले पोलेको बेला यो सबै कुराको सोच पनि आउँदैन। उता वर्षौदेखि चलेको खुलेआम यस्ता ठगी धन्दा रोक्ने प्रयाससमेत कुनै निकायबाट हुँदैन। यसबाट पनि प्रस्ट छ कि यो ठगी गिरोहको संजालको जालो बलियो छ। अनि कैयौँपटक मेनपावर धाउँदा र दलाललाई फोन गर्दागर्दै साहूसँग महिनौँदेखि लिएको ऋण पनि सकिँदै जान्छ। अब झन्‌झन्‌ उसलाई सकेसम्म छिटै मिलाइदिन दबाब नै दिनुको विकल्प रहँदैन। अनि जाने दिनसम्म पैसाको कारोबार हुन्न। जब एयरपोर्टमा जाने बेला हुन्छ, सबै हस्ताक्षरलगायत लेनदेनका काम। अनि के थाहा हुन्छ अफर लेटरमा के-के लेखेको छ, के-के सुविधा कति तलब पाउने भन्ने कुरा।

यही हतारोमा पैसा लेनदेनको काम हुन्छ। २० हजार तिरेको बिलमा हस्ताक्षर गरेर एक लाख तिरेर पासपोर्ट र प्लेन टिकट माग्दा फेरि यो खर्च ऊ खर्चको नाममा पैसा पुग्दैन। अलिकति नथपेसम्म पासपोर्ट दिइँदैन। थप २/४ हजार दिएपछि बल्ल छुटकारा मिल्छ।

भारतलगायत तेस्रो मुलुकबाट दलालमार्फत बिदेसिनेको पीडा त कता हो कता दर्दनाक छ। हजारौं सपना बोकेर सबै थोक बिर्सेर उड्दा मन पनि हावासँगै उडेको हुन्छ। मनभरि कौतूहल बोकेर जीवनका कैयौँ सपनाहरू सँगालेर हावामा उडेको गन्तव्य खाडीको तातो भूमिमा अवतरित हुन्छ। नेपालको विमानस्थलदेखि नै पासपोर्ट र टिकट हातमा बोकेका नेपाली दाजुभाइको भिड देख्दा कुनै विदेश गइराखेको जस्तो लाग्दैन। दुबई र कतारको एयरपोर्टमा हातमा पासपोर्ट र  झोला भिरेर लाइनमा थकित र कौतुहल मुद्रामा खडा नेपाली युवाको भिड देख्दा पीडाबोध हुन्छ ।

अनि सुरु हुन्छ कर्मथलोमा कठिन परिक्षा। कतारलगायत खाडी मुलुकमा सबैभन्दा कठिन त यहाँको हावापानी नै हो। मरुभूमिको तातो हावा र औसत ४०-४५ डिग्रीको घाममा काम गरेर रातमा चिसो एयर कन्डिसनको हावामा सुतेकै अवस्थामा प्राण पखेरू उडाउँछ। कतिको मरुभूमिमा खेती गर्दा र भेडा र उँट चराउँदा रगत र पसिनाले जीवन बगिरहेको पत्तो हुँदैन। खाडी मुलुकमा नेपालीहरू विशेष अत्यन्तै कम पारिश्रमिक र बढि परिश्रम पर्ने सडक, घर र यहाँ बन्दै गरेका ठुल्ठूला निर्माण मजदुरका रूपमा ल्याइन्छन्। यस लगायत सुरक्षा गार्ड, क्लिनिङ, होटल तथा घरेलु मजदुर र ड्राइभिङ पेसामा नेपालीहरूको संख्या उल्लेख्य मात्रामा छ। हुन त केही नेपालीहरू दक्ष कामदारका रूपमा कतिपय राम्रो पारिश्रमिक र सुविधा भएको ठाउँमा पनि भेटिन्छन्। केहीले आफ्नै पेसा र व्यवसाय पनि गरेर बसेका छन्। तर आमरूपमा नेपालीहरूको अवस्था पीडायुक्त र दयनीय छ। फेरि सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने जो कोहीलाई पनि एउटा कम्पनीमा भनेर ल्याइन्छ र कन्ट्याक्ट्मा अरु नै ठाउँमा काम गर्न पठाइन्छ। यसरी पनि खुलेआम बेचिन बाध्य हुन्छन् नेपाली।

अर्कोतिर नेपालीलाई कसरी हेरिन्छ? जसरी हामी वीर गोर्खालीको देश, सगरमाथा र गौतम बुद्धको देश भनेर गर्व गर्छौँ, त्योभन्दा अत्यन्तै फरक हुन्छ काम गर्ने ठाउँमा। नेपालीलाई सोझा र इमन्दारितामा त केही राम्रो रूपमा हेरिन्छ तर सँगसँगै नेपालीले जसरी तल्लो स्तर र कम दक्षता हुने ठाउँमा काम गर्छन्। त्यसकै आधारमा निमुखा प्राणी र दुनियाँकै गरिब देशका मान्छे भनेर हेपिन्छन्। फेरि छिमेकी भारतीयहरूको बर्चस्व र बाहुल्य रहने यस्ता मुलुकमा नेपालीलाई त्यति सम्मानजनक दृष्टिले हेरिन्न, व्यवहार गरिन्न।

व्यावहारिक रूपमा भन्ने हो भने विशेषगरी कतारमा ‘नेपाली’ र ‘बंगाली’ भन्ने शब्दहरू सबैभन्दा अपहेलित शब्द हुन् भन्दा फरक पर्दैन। यसको मुख्य कारण भनेको नेपालबाट कुनै खास र बलियो वैदेशिक रोजगार नीतिअन्तर्गत निश्चित मापदण्डअनुसार दक्ष, आवश्यक न्यूनतम सीप र तालिम प्राप्त जनशक्ति पठाउन नसक्नु साथै सम्बन्धित रोजगारदाता देशहरूसँग रहेको फितलो र अव्यवहारिक श्रमसम्बन्धी सम्झौता मूल्यांकन गरी संशोधन र नवीकरण गर्न चासो नदेखाउनु छन्।

उता सम्बन्धित मुलुकहरूमा नेपाली कामदारको हकहितका लागि काम गर्नुपर्ने नेपाल सरकारका निकायहरूको कमजोर उपस्थिति र गैरजिम्मेवारपूर्ण प्रवृत्तिका कारण पनि मुलुकको बदनामसमेत भइरहेको छ। अर्कातिर नेपालीहरूको अवस्था केकस्तो छ र के कति संख्यामा छन् भन्नेबारे न कुनै चासो छ, न त कुनै सरोकार राखिन्छ। नेपाल सरकारको प्रत्यक्ष प्रतिनिधित्व गर्ने नेपाली दूताबासले पनि नेपालीको समस्या र पीडालाई सम्बोधन गर्ने विषयमा खासै चासो दिँदैन। एउटा पासपोर्ट नवीकरण गर्न ४-५ महिना समय लगाइन्छ, त्यसमा पनि केही त्रुटि भएको बारेमा पनि ४/५ महिनामा मात्रै जानकारी गराइन्छ। तलब समयमा नदिएको, जबर्जस्ती श्रम र यौन शोषण, यातना दिइएकालगायत धेरै प्रकारका समस्या लिएर दूताबासमा जानेको भिडको खासै सुनुवाइ गरेको पाइँदैन।

यस्ता कैयौं तनावलगायत प्रतिकूलताले ग्रस्त नेपाली कामदारमा अर्को डरलाग्दो रोग फैलँदैछ- त्यो हो मानसिक तनाव! मानसिक तनाव, हृदयाघातलगायत क्षणिक रोगहरूका साथसाथै आत्महत्या आदिका कारण ज्यान गुमाउनेको संख्या बढ्दैछ। उता सम्बन्धित मुलुकका ट्राफिक नियम र कार्यस्थलमा अपनाउनु पर्ने सतर्कता आदिको अनभिज्ञताका कारण हुने दुर्घटनामा परी धेरै नेपाली कामदारको मृत्यु भएको खबर पनि आइरहन्छन्। एक तथ्यांकलाई आधार मान्ने हो भने कतारमा मात्रै ठुल्ठूला संरचना जस्तो रंगशाला, सडक र भवन निर्माणस्थलमा हुने दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको संख्या अन्य मुलुकका मजदुरको तुलनामा धेरै र बढ्दो छ। यस सम्बन्धमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था र सम्बन्धित सरोकारवालाहरूले समेत चासो देखाउँदै कतार सरकारलाई कामदारको हकहित, सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न र कफलालगायत प्रतिकूल कानुनहरूमा परिवर्तन गर्नका लागि दबाब दिइरहेका छन्।

त्यतिमात्र होइन वैदेशिक रोजगारीका कारण घर व्यवहारबाट टाढिएका हजारौं नेपालीको घर गृहस्थी पनि नराम्ररी ध्वस्त भइरहेको छ। खासगरी  रोजगारीका सिलसिलामा टाढिएका परिवारहरू टुक्रिँदै छन्। यसरी एक्लिनुको बाध्यता र पीडाले सल्केको आगोले विकराल रूप लिइसकेको छ। जसका कारण समाजमा बलात्कारलगायत यौनजन्य अपराध, सम्बन्धविच्छेद र हत्याका घटना बढ्दैछन्। यसरी छिन्नभिन्न भएका मन र घरहरू केले जोड्ने होला!

पराईको  भूमिमा पीडामाथि पीडाको भारी बोकेर कुण्ठित जीवन बिताउन बाध्य छन् नेपाली। यस्तै बाध्यताले कति त १० औँ वर्षदेखि मरुभूमिमा रगत र पसिना बगाउन विवश छन्। विदेशी भूमिमा नेपालीहरू पीडित निमुखा र सामान्य मानव अधिकारबाट समेत वञ्चित छन्।  

यस्तो अवस्थामा सर्व प्रथमतः देशमै उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै आर्थिक विकासका अवसरहरू सिर्जना गरी विदेश पलायन हुने लाखौं युवा जनशक्तिलाई परिचालन गरेर बढ्दो बेरोजगारी समस्या समाधान गरी खाडीलगायत मुलुकमा तल्लो स्तरमा काम गर्न जाने संख्यालाई कम गराउँदै लैजान सकिन्छ। साथै, नेपाल सरकारले तत्काल आवश्यक अध्ययन गरी मजबुत वैदेशिक रोजगार नीति बनाएर यसको प्रभावकारी कार्यान्वयन गर्ने र सम्बन्धित मुलुकसँग आवश्यक समन्वय र परामर्श गरी विद्यमान अव्यवहारिक श्रम नीतिहरूलाई नवीकरण गर्दै दक्ष र सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाई देशको आर्थिक उन्मुक्ति र समग्रमा गिरेको नेपाली शानलाई थप उचाइ दिलाउन सकिन्छ।

प्रतिकृया दिनुहोस