नयाँ पासपोर्ट लिँदाको सास्ती

  • Get News Alerts

७ वर्षदेखि कतारको दोहामा काम गर्दै आइरहेको मसँग २००७ सालमा जारी भएको पासपोर्ट थियो। २०१५ नोभेम्बर महिनासम्म मेसिने पढ्ने राहदानी (एमआरपी) लिइसक्नु पर्ने भएकाले कम्पनीमा नोकरीबाट बिदा नयाँ पासपोर्ट बनाउन हिँडे।

अप्रिल २२, २०१४ का दिन बिहान ८ बजे कतारको अबुहमर भन्ने ठाँउमा रहेको नेपाली दूतावास पुगेर करिब ४ घन्टा उखरमाउलो गर्मीमा लाइन बसेँ। बल्ल फारम चेकजाँच गर्ने कोठा नम्बर १०३ मा पुगियो। तर, फारमको प्रिन्ट एरिया नमिलेको भन्दै मलाई फेरि फारम भरेर लाइनबाट आउन भनियो। फर्केर लाइन हेरेँ। पछाडी अझै दुई सयभन्दा धेरै मानिस थिए।

विकल्प थिएन। सोध्दै दूताबासदेखि १० मिनेट टाढा साइबर क्याफेमा पुगेर त्यहाँ काम गर्ने नेपालीलाई ३० रियल दिएर नयाँ फारम भरेँ। फर्केर फेरि लाइन लाग्नु नै थियो। भिडमा मिसिएँ । भोकले लखतरान भइसकेको थिएँ। तैपनि आज एक दिन त हो, फारम बुझाएर जाउँला अनि खाना खाउँला भन्दै पानीको सहारामा लाइनमै बसिरहेँ।

साढे २ बजेतिर फेरि कोठा नम्बर १०३ मा भित्र पस्ने अवसर पाइयो। यो पटक फारम मिलेको थियो। नगद शाखामा शुल्क ३०० रियाल बुझाएँ। दूतावासले रसिद दियो। युद्ध जितेझैँ अनुभव गर्दै कम्पनी फर्किएँ। कम्पनीमा ३-४ महिनामा नयाँ पासपोर्ट आउने हाकिमलाई जानकारी गराएँ।

* * *

 

जुलाईसम्म मैले दूतावासको वेबसाइट हेर्नुको कुनै अर्थ थिएन। अगस्टदेखि चासो बढ्न थाल्यो। कतै मेरो पासपोर्ट पनि आयो कि ?  लगातार दूतावासको वेबसाइट हेर्न थालेँ। मेरोभन्दा १० दिन जति पछि फारम बुझाउने साथीले आफ्नो पासपोर्ट आइसकेको सुनाएपछि वेबसाइट हेर्दा आफ्नो नाम र जिल्ला उल्लेख गरेको ७३७० सिरिएल नम्बर देखेँ।

म हुर्तुरिएर १५ मिनेटपछि नै दूतावासतिर लागेँ। नयाँ पासपोर्ट बुझ्ने समय सुरु भएकै थिएन। सुचनामा उल्लेख भएझैँ वेबसाइटमा भएको सिरियल नम्बर, लट नम्बर अनि सक्कली नागरिकता र ३०० नगद बुझाएको रसिदसहित लाइन बसेँ। म भन्दाअगाडि त्यस्तै ५० जनाजति थिए। १२ बजेपछि पासपोर्ट बुझ्ने झ्याल खुल्यो।

लाइन लागेर सक्कली नागरिकता र रसिद बुझाएँ। बुझ्ने कर्मचारीले नाम बोलाउँछौँ भनेपछि लाइनबाट हटेर म प्रतिक्षामा बसेँ। साढे २ बजेतिर बल्ल मेरो नाम पुकारियो। ढोकामा पुगेँ।

‘तपाईको सिरियल नम्बर गलत भयो, पासपोर्ट बनेको छैन,’ झ्यालभित्रबाट दूतावासका कर्मचारीले निराश बनाए।

‘गलत छैन। म आफैँले हेरेर आएको हुँ,’ मैले आफ्नो कुरा राखेँ। मेरो कुराको सुनुवाइ भएन।

कर्मचारीलाई कुरा टुंग्याउन हतार थियो, ‘आज जानुस्, फेरि हेरेर आउनुस्।’

त्यहाँ उभिइरहनुको कुनै अर्थ देखिनँ। रिसेप्सनमा आएर नम्बर र नाम हेरिदिन अनुनय गरेँ। वेबसाइटमा दिइएको जानकारीमा मेरो नाम र जिल्ला मिलेको थियो। फारम भरेको पनि झन्डै चार महिना भइसकेको थियो।

रिसेप्सनमा बस्ने कर्मचारी सहयोगी देखिए। उनले त्यहीँ काम गर्ने अर्का व्यक्तिलाई अर्थ्याएर पठाए। १० मिनेटमा ती व्यक्ति फर्किए। ‘पासपोर्ट फेला परेन। फेरि कुनैदिन आउनु होला,’ उनको पनि केही लागेन।

त्यो दिन त्यसै फर्कनुको विकल्प भएन।

* * *

सेप्टेम्बर १४ मा एकपटक नेपाल जानुपर्ने भएकाले पासपोर्ट लिन फेरि दूतावास पुगेँ । ७ तारेखमा फेरि म त्यहीँ झ्यालअगाडि उभिएँ। त्यसदिन पनि ‘पासपोर्ट छैन’ भनियो।

एक महिना नेपाल बसेर अक्टोबर १२ तारेखमा कतार फर्किएपछि नोभेम्बरको पहिलो साता फेरि फुर्सद निकालेर दूतावास पुगेँ। यसपटक लाइन नलागी सिधै रिसेप्सनमा गएर भने- लौ न मलाई सहयोग गर्नुस्। मेरो पासपोर्ट बने-नबनेको केही थाहा भएन।

मैले यसअघिका सबै कथा बेलिबिस्तार लगाएँ। रिसेप्सनमा बस्नेले कम्प्युटरमा सर्च गरे । मेरो नाम र सिरियल नम्बर टिपेर पासपोर्ट बाँड्ने कोठातिर लागे। केही समयपछि उनी फर्किए। जवाफ पुरानै आयो- तपाईंको पासपोर्ट भेटिएन।

यो तेस्रोपटक थियो। अब त बानी पनि परिसक्यो। त्यहाँ अल्झिराखिनँ। जरुरी काम थियो, निस्केँ।

* * *

 

फारम बुझाएको ८ महिना भइसक्यो। कैयौँपटक धाउँदा पनि पासपोर्ट हात लागेको छैन, न त पासपोर्ट नआउनुको कारण नै थाहा पाइएको छ- यही कुराले मलाई सताउन थाल्यो।

एकचोटि फेरि दूतावास पुग्ने मन भयो। कम्पनीमा हाकिम कोरियन नागरिक थिए।

डिसेम्बर २५ तारिख। हाकिमसँग पासपोर्ट लिन जान्छु भन्दै अनुमति मागेँ।

‘कतिपटक जान्छन् एउटा पासपोर्ट लिन,’ उसले हाँस्दै सल्लाह दियो, ‘यति लामो बाटो, फोनमा सोधेर जानू नि।’

‘दूतावासको फोन नै उठ्दैन।’

अब भने उसको हाँसो गिज्याउने खालको थियो। तै पनि उसले मलाई जान दियो।

दिउसो म दूतावास पुगेँ। अरु दिनभन्दा भिड कम थियो। तर पनि म पासपोर्ट बुझ्ने लाइनमा लागिनँ। रिसेप्सनमा गएर समस्याको पुरानै पोको फुकाएँ। उनीहरूले पनि पुरानै प्रक्रिया दोहोर्‍याए। कम्प्युटरमा सर्च गरेजस्तो गरे। अर्को कोठामा गएर फर्किए र भने – छैन । एकपटक १०३ मा गएर बुझ्नुहोस्।

१०३ नम्बर कोठामा पुगेर त्यहाँ रहेका सेकेन्ड सेक्रेटरी नितेश सापकोटासँग दुखेसो पोखेँ। उनको जवाफले झन् मर्माहत बनायो।

‘तपाईंको नाम मात्र पुरुषोत्तम प्याकुरेल हुन्छ र? त्यो वेबसाइटमा रहेको अरु कुनै पुरुषोत्तम होला,’ मेरो दुखेसोले उनलाई छोएकै थिएन।

मैले पनि आफ्नो अधिकारको कुरा राखेँ, ‘फारम बुझाएको ३ देखि ४ महिनामा दिने भनिए पनि ८ महिना बितिसक्यो। मेरो पासपोर्ट किन बनेन ? फारम बिग्रियो कि, फोटो मिलेन कि, के कारणले बनेन् भन्ने जानकारी त पाउनु पर्‍यो नि।’

उनले फेरि सजिलो बाटो अपनाए। ‘त्यो के हो हामी बुझुँला। तपाई फेरि फारम भरेर बुझाउनुस्,’ उनले निर्देशन दिएझैँ गरे, ‘यही हो सबभन्दा सजिलो उपाय।’

आज्ञाकारी छात्रजस्तै म सिधै फारम भर्न गएँ। फेरि ३० रियल तिरेर फारम भरेँ। फारम बुझाउने ठाउँमा पुरानै कर्मचारी थिए।

‘तपाईको पासपोर्ट आएको हुनुपर्छ,’ फारम बुझ्दै उनले भने, ‘तैपनि फारम भरेर ल्याउनु भएछ, लिइदिन्छु। तर, आएर बुझन नछोड्नु किनकि तपाईको पासपोर्ट यताउता परेको हुनसक्छ।’

उनको सल्लाहले फेरि पुरानै प्रक्रियाको खोजी गर्न ऊर्जा थप्यो। फारम बुझाएर रिसेप्सनमा आएँ र अनुनय गरे - माथि १०४ मा फारम बुझ्ने सरले पनि खोज्न लगाउनु भन्नुभा छ। कतै अन्त छ कि एकपटक हेरिदिनुहोस् न ।

‘कतै सापकोटा सरको कोठामा त छैन,’ ती कर्मचारी नयाँ सम्भावनाको कुरा गर्दै थिए, ‘सापकोटा सरले तपाईलाई त्यहाँ भएको पासपोर्ट हेरेर छैन भनेका हुन् कि त्यत्तिकै छैन भनेर पठाए।’

सापकोटाले पासपोर्ट नै नखोजी, यताउति कतै केही नहेरी फेरि फारम भर्न सल्लाह दिएका थिए। मैले सोही सुनाएँ। त्यसपछि रिसेप्सनका ती कर्मचारी मेरो पुरानो पासपोर्ट बोकेर तिनै सापकोटा सरको कोठा १०३ नम्बरमा गए।

दुई मिनेट जतिमै उनी फर्किए। उनको नयाँ पासपोर्ट थियो।

‘यो होइन तपाईंको पासपोर्ट,’ उनको हातमा मेरै नयाँ पासपोर्ट थियो।

पछि तिनै सापकोटा, जसले मलाई आधा घन्टाअगाडि फेरि फारम भर्न सुझाएका थिए, उनले ‘कहाँबाट आयो यहाँ ?  कुनै त्रुटि त छैन’ भन्दै चेक गरेजस्तो गरेर पासपोर्टमा हस्ताक्षर गरी मलाई तल गएर बुझ्न भने।

म राम्रै कम्पनीमा काम गर्ने भएकाले दूतावाससम्म पुग्ने अनि फर्कने गाडीको सुविधा थियो। फारम पनि कम्प्युटर टाइप गरी आफैँले भर्न सक्ने अनि प्रक्रियाबारे पनि चासो राख्ने र सोध्न खोज्ने नेपालीले आफ्नै दूतावासमा भोग्नु परेको सास्ती सुनाउँदा मलाई रमाइलो लागेको छैन।

तर, कतारलगायत विदेशमा रहेका निमुखा र निरक्षर कामदारले नेपाली नियोगबाट कस्तो सुविधा पाइरहेका होलान्? त्यो बुझ्न सबैलाई सजिलो होला र पासपोर्टजस्ता सेवामा यस प्रकारको हेलचेक्राइ बन्द होला भन्ने आशा गरेको छु। 

प्रतिकृया दिनुहोस