दोहा जहाँ मैले एक अनमोल हिरा भेंटें !

  • Get News Alerts

आफ्नो मातृभाषा र पहिरन कति बलवान हुन्छ भन्ने कुरा ढाका टोपीले चटक्क परेर सिंगारिएका एक नेपाली युवकले दोहाको ट्रान्जिटमा मलाई बुझाए। मेरो फोनमा भएको नेपाली संवाद सुनेर नजिकै बसेका उनले यति धेरै आत्मियता देखाए कि संसारको जुनसुकै मुलुकमा बसे पनि जस्तो काम गरे पनि आफ्नो भाषा र पहिरन सदा मनमोहक र आकर्षक हुन्छ भन्ने तथ्यलाई जीवन्त बनाए। उनका हरेक जिज्ञासालाई परिस्थितिबस मैले सहज रूपमा लिन थालेँ! रसिक र हँसिलो स्वभावका यी भाइ करिब छब्बीस वर्षका रहेछन।

लामो अन्तराल पछि आफू काम गर्ने साहुबाट केही दिनको बिदा पाएर नेपाल जॉदै थिए उनी। म पनि अमेरिकाबाट नेपाल जाने क्रममा दोहाको ट्रान्जिटमा थिएँ! हामीबीचको यो भेटघाट करिब दुईवर्ष अघि मे महिनाको हो।

म अमेरिकाबाट आएको कुरालाई उनले त्यति सजिलै विश्वास भने गरेनन्।  खाडीका अन्य मूलुकबाट आएको सम्झिएर भने, 'मजाक नगर्नुस् न सोम!'

 कहॉबाट, के काम, साहुले पैसा कति दिन्छ, आदि इत्यादि प्रश्नहरू लगातार तेर्स्याए ! मैले उनलाई अमेरिकाबाट आएको विश्वास दिलाउन मेरो ड्राइभर लाइसेन्स नै देखाउनु पर्ने भयो! पर्सबाट झिकेर अमेरिकन लाईसेन्स नै देखाइदिएँ!

उनले आँखा चम्काउदै भने, 'ए सोमले साँच्चिकै पो भन्नु भाको रहेछ।'

यसअघि एकजना दुबईमा काम गर्ने नेपाली मित्रलाई यसै गरि भेट्दा मलेशियामा काम गर्छु भनी ढाँटेकाले मैले पनि उनलाई ढॉटेको सम्झिएछन!

'अमेरिकामा कस्तो काम गर्नुपर्छ?' तुरुन्त अर्को प्रश्न तीर झैँ आयो !

जवाफ फर्काएँ, 'योग्यता र अनुभवका आधारमा सबै प्रकारका काम पाइन्छन् भाइ अमेरिकामा!'

अब चै उनले मेरो कुममा फुर्तिसाथ जोडले धाप मार्दै भने, 'किन म यो मरुभूमिमा साहुको गुलामी गरम, बरु मलाई पनि अमेरिकामा कुनै सानोतिनो काम मिलाई दिनुस न!'

एकछिन त उनको जोशिलो धापले तिरिमिरी झ्याँई नै देखेँ। उनको कुरा ठट्टा हो कि सॉच्चि हो बुझ्न सकिनँ।

मैले सोधेँ, 'तपाई के कारणले यस खाड़ी मूलुकमा काम गर्न आउनु भएको भाइ?'

 उनको त्यो जोसिलो र हँसिलो मुहार अचानक कालो बादलमा परिणत भयो। उनको खाड़ी पलायनको कारण र उनले सुनाएका हरेक घटना तथा तीनले प्रयोग गरेका शब्दले मेरो शरिरमा कॉडाहरू उम्रिए र सिंगो शरिर नै जिरिङजिरिङ भयो। तिनका हरेक शब्दले मलाई रूवायो, मैले आफ्नो आंशु थाम्न सकिनँ। शीरमा चिटिक्क देखिएको ढाकाको नेपाली टोपी झिक्दै रूमालले निधारको पसिना पुछी एकछिन उनी टोलाए। अनि लामो सास फेर्दै आफ्नो अतीतमा हराए।

त्यसताका म ११ बर्षको मात्र भएको थिएँ!  बाबु, आमा र दुई दिदीका साथ सुदूर पश्चिमको एउटा झुप्रोमा सानो जुत्ता सिलाउने पसल खोली जीवन निर्वाह गर्दै आएका थियौं ! औंसीको दिन थियो। दुई दिदीहरू अचानक हराए!

जेठी १५ र कान्छी १३ बर्षका थिए। दुबै पढाइमा बडो तेज थिए। घरमा रुवाबासी चल्यो। चारैतिर खोजी भयो तर कतै अत्तोपत्तो भएन। करिब ६ महिना पछि दिदीहरुलाई माओबादीले बन्दुक बोकाई रोल्पा पुर्‍याएको अपुष्ट खबर आयो। बुवालाई सघाउन मैले ५ कक्षापछि पढाई छोडेँ!।

एकदिन दिदीहरू खोज्न भन्दै बुवा पनि रोल्पातिर लाग्नुभयो।  म र आमा पसलमा पुराना जुत्ता टाल्ने काममा लाग्यौ। यसैबीच बुवालाई खोज्दै घरमा आर्मीहरू आए। बुवा दिदीहरू खोज्न रोल्पा जानुभएको बताएपछि उनीहरू फर्किए।

बुवा रोल्पा जानु भएको ६ महिना बित्यो, न दिदीहरू फर्किए न बुवा नै। करिब ५ बर्ष पछि बुवालाई दाङको सैनिक ब्यारेकमा माओवादीलाई सघाएको आरोपमा थुनेको थाहा पायौं। बुवालाई निर्दोष देखी छोड्न आदेश आएपछि बुवालाई लिन म त्यसै दिन दाङ तर्फ लागेँ। म यति ख़ुसी थिएँ कि चप्पल लाउन पनि बिर्सिएर दौडेको थिएँ।

नाड्गो पैतालाले उकालीओराली, जङ्गल अनि खोलानाला पार गर्दै दाङको सिमाना छेउ पुगेको मात्र के पुगेको थिएँ, म माओवादीको कब्जामा परेँ।

'तेरो बाउले हाम्रो सुराकी गरी आर्मीलाई ख़बर गरेको छ। त्यसैले तलाईँ कब्जामा लिएको हो', उनीहरुले बताए।

म छाँगाबाट खसे झैं भएँ। मैले उनीहरूलाई सुरू देखिको कुरा सुनाएँ। मलाई छोड्न अनेक बिन्ती गरे, मेरो रोदन कसैले सुनेनन्, बरू भात पकाउने र भाँडा माज्ने ड्युटी दिए। मेरो आंशुको कुनै मूल्याङ्कन भएन।

करीब १५ दिनपछि एक ठूला कमाण्डर आएको मौक़ा पारी उनलाई एकान्तमा मेरो दुखेसो र अन्यायका कुरा बिन्ती गरेँ। उनी दयालु स्वभावका र नरम बोली भएका कमाण्डर रहेछन्। मलाई छोड़ने आदेश गरेछन् क्यारे, एक जनाले आएर 'तँ घर जान सक्छस् तर मासिक हाजिर गरेस्' भन्ने आदेश दिए।

मेरो खुसीको सिमा रहेन। दौडेर ३-४ घण्टामा नै आर्मी ब्यारेकमा पुगेँ।

बुवाको गलेको शरिर देख्दा मुटु चिरिएर आयो। उहाँ सुकेर सानों बच्चा झैँ देखिन्थे। एक सैनिकले केही काग़ज़मा ल्याप्चे लगाएर बुवालाई मेरो ज़िम्मा दिए।

दुई बाउछोरा चिया पसलमा बसेर चिया पिउँदै कर्मलाई सराप्न थाल्यौं। बुवा थकित र निराश हुनुन्थ्यो। मैले १५०० रूपैंया लिएर आएको थिएँ। मिठो गरी दालभात खाने बिचारले बुवालाई खाना खान होटल जाउँ भनेँ।

बुवा केही सोचमा हुनुन्थ्यो। मलाई भन्नु भो', 'कान्छा!  तेरा दिदीहरू मैले ल्याउन सकिनँ। उनीहरू दुवै भीडन्तमा मारिएछन।'

मेरो सास रोकिए झैं भयो। बुवाले भीडन्तमा मर्नेको नाम लिस्ट ब्यारेकका एक जवानबाट थाहा पाउनुभएछ।

त्यसपछि बुवाले गाउँ जान मान्नु भएन। बरू मैले ल्याएको १५०० रूपैयाँले जुत्ता सिउने सामान र औज़ार किन्नु भयो। बचेको पैसाले बाबुछोराले चप्पल किन्यौं। हामी लमही झर्यौं। बाटा छेउमा बोरा ओछ्यार आफ्नो पेसा सुरू गर्यौं।

पहिलो दिनको कमाई राम्रो भयो। कमाएको २०० मध्ये ५० रुपैंया राखी १५० आमालाई गाउँ पठाउन सञ्चित गर्‍यौं। यसैगरी सात महिना खुला आकास मुनि बितायौं।

 फेरि, एकदिन हाम्रो फुटेको कर्ममा अर्को बज्रपात थपियो।

माओवादी आएर हामी बाबुछोरालाई एकान्तमा लगे। आँखामा पट्टी थियो।  लडदैपड्दै कुनै घरमा पुर्‍याई थुने। हाम्रो गल्ती थियो की उनीहरूको आदेश बमोजिम मासिक हाजिर हुन नजानु। पिटाई त यति खाइयो कि शरिरमा चोट नभएको कुनै ठाउँ नै बाँकी थिएन। म त जवान थिएँ तर बुवालाई भने धेरै नै गाह्रो भयो।

रूघा र ज्वरोले बुवा सिकिस्त हुनुभयो। डेरा खोजी न्यानो ठाउमा राखे बिसेक हुन्छ की भनी लमहीको प्रत्येक घर धाँए तर कसैले पनि भाडामा दिन मानेनन- कारण हामी तल्लो पानी नचल्ने जात रे !

आमालाई बोलाउन बुवाले अराएपछि बमोजीम चिट्ठी लेखी गाऊँ पठाएँ।

मेडिकलको डाक्टरले दिएको औषधीले बुवाको ज्वरो केही कम भयो। आमाको बाटो हेर्दै बुवाको रेखदेख गर्नाले काम छोडेको १५ दिन बित्यो। आमा पनि टुपलुक्क आइपुग्नु भयो। बुवालाई सास फेर्न गाह्रो भएकोले फेरि डाक्टर सापले जाँचे।  

बुवाको फोक्सो खराब भएछ। यहीकारण बुवाले यो निस्ठूरी धर्तीबाट बिदा लिनुभयो।

आमालाई सम्हाल्ने मेरो हिम्मत थिएन।  उनी मुर्छीत अवस्थामा थिइन्। एकातिर बावुको लास अर्कों तिर आमाको मुर्छीत शरिर हेर्दै मैले आफ्नो कर्मलाई धिक्कारेँ।

मलामी जाने हामी आमाछोरा बाहेक बाँकी सबै दर्शक मात्र थिए। यौटा गरिब तथा तिरस्कृत नागरिक तर हृदयका अपार धनी अभिभावकलाई आमा र मैले अन्तिम बिदाई गर्यौं।

'आमा! अब हामी कहाँ जाने?'

त्यसपछि आमा र म काठमाडौं आयौं। उहाँले भन्नुभएको थियो, 'मेरो माईतीको छिमेकी भाई रिक्सा चलाउँछ रे। हामीलाई काम लगाइदिन्छ की?'

हामीले सरहका कुनाकुनामा खोज्यौं रिक्सा वाला मामालाई तर कतै फेला पार्न सकिएन। पेटमा अन्न नपरेको ३-४ दिन नै भैसकेको थियो,  अब काम पनि खोज्न थाल्यौं।

आमा र मैले एक खाना खुवाउने पसलमा भाँडा मोल्ने काम शुरू गर्‍यौं। क़रीब ३ महिना पछि गाउँको एक परिचित सरलाई खाना खाँदै गरेको अवस्थामा भेट्यौं। उनले सबै कुरा थाहा पाएका रहेछन्। हामीप्रति सहानुभूति जनाए र मामालाई खोजी गर्न सहयोग गर्ने बताए।

होटलमा भाँडा माजेर पनि ६ महिना बितेछ। अचानक एक दिन मामालाई लिएर ती सर होटलमा आईपुगे। भोलिपल्ट बिहानै मामाले हामीलाई आफ्नो डेरामा लगेर राखे। हामीसँग साट्ने दु:ख बाहेक खुसीका कुनै कुरा नै थिएनन्। हामीलाई बाँच्ने आधार चाहिएको थियो।

धेरै दिनको प्रयास पछी मामाले आमालाई भने, 'दिदी! कान्छोलाई यसो विदेश खाडि तिर पठाउनु उचित होला, कमसेकम जिवित त रहन्छ। मैले चिनेको एक सर छन्, उनले केही सहयोग गर्छन् कि?'

 आमाले भन्नुभयो, 'के भरोसा यी राक्षसहरूको। थाहा पाए यहीँ मार्ने पो हुन् कि? लौ हिंड बावु ती सऱसँग कुरा गरौं!'

म अढाइलाखमा विदेश आउने टुङ्गो भयो। हामीसँग कमाएको दस हज़ार दाम थियो। आमाले पटुकीबाट पैसा निकालेर बैना दिइन्। बाँकी पैसा १५ दिन भित्र बुझाउने कुरा पक्का गर्‍यौं।

पैसा बुझाउने दिन आमाले आफूले लाएको तिलहरी साहुकोमा राखिन्। मामाले सापटी २० हज़ार दिए। बाँकी रहेको रकम मामाले जमानी बसेर कुनै साहुबाट जुटाइदिए।

यसरी पैसा कमाउन नभएर ज्यान जोगाउन म विदेश आएको थिएँ।

गहभरी आंशु तथा आमाको आशीर्वाद लिई म कतार आइपुगेँ। भोलिपल्ट देखि मेरा कर्मका दिन सुरू भए। एक दुर्गम गाऊँको भेडी गोठको गोठालो भएँ। दु:ख मै हुर्किएकोले सुखको कुनै लालच नै थिएन। विगत थाहा पाछि साहुले पनि माया गरे। पत्तो नै नपाई १० बर्ष बित्यो। म साहुको परिवारको सदस्य झैँ भैसकेको थिएँ। भेड़ीं फ़र्म पनि ३ वटा भै सकेका थिए। साहुले मलाई ३ ओटा फ़र्मको नै सुपरभाईजरको काम दिएका थिए। म आफ्नो काम र कर्ममा सन्तुस्ट थिएँ। यहाँ मलाई काम गरी खान बाट बञ्चित गर्ने, तल्लो जात भनी हेप्ने कोही थिएनन्। आफ्नै दाजुभाइले मार्लान् भनी डराउनु पर्ने अवस्था पनि थिएन।

एकाएक आमा बिरामी छिन् भन्ने खबरले मलाई बेचैन बनायो। पटक पटक म आउँछु र तिम्रो उपचार गराउँछु भन्दा आमाले कहिल्यै पनि मेरो कुरा मानिनन्। तर, यस बर्ष भने मेरो धीरताले सिमा नाघ्यो। साहुले पनि मेरो साथ दिए र भने, 'तिमी जाऊ।  आमाको औषधी गराऊ र निको भएपछि उनलाई पनि लिएर आउ। म ख़र्च लगायत सबै काग़ज़ात पठाई दिन्छु।'

यो भन्दा बढी खुशी मेरालागि अरू के पो हुनसक्ला, म वर्णन गर्न सक्दिनँ।

सोमको कथा र ब्यथा सकियो !

यीनको विदेसिनुको बाध्यता सुनेपछि मैले यी युवकलाई नतमस्तक भएर आदर गरेँ। चिया पिउन अनुरोध गरेँ। चियाको कपमा चियर्स गरी उनको आमाको स्वास्थ लाभको कामना गरेँ। आज मैले एक अनमोल हिरालाई संयोगवश विदेशीभूमीमा भेट्ने सौभाग्य पाएको थिएँ। यीनीबाट मैले धेरै शिक्षा पाएको महसूस गरेँ।

प्रतिकृया दिनुहोस